कोरोना भाइरसको महामारीविरुद्ध विश्व नै संयुक्त रुपमा लडिरहेको परिवेशमा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीका सन्दर्भमा दिनुभएको अभिव्यक्तिपछि अष्ट्रेलियामा क्रियाशील रहेकालगायत कतिपयले विभिन्न माध्यमबाट गरेका टिप्पणीप्रति अष्ट्रेलियामा क्रियाशील नेपाली पत्रकारहरुको संगठन (एन्जा)ले चासो दर्शाएको छ ।
आफूलाई ठूलो सामाजिक संस्था दाबी गर्ने संस्थाका जिम्मेवार पदाधिकारी, मूल नेतृत्व, पत्रकारहरुसँग निकट रही काम गर्नुपर्ने प्रवक्ता, केही शैक्षिक व्यवसायीलगायतका व्यक्तिहरुले विभिन्न माध्यमबाट गरेका टिप्पणीप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको भन्दै एन्जाले अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थी जसले कागजी सम्झौता नै गरेर अस्ट्रेलियामा पढाई र अन्य खर्चको चाँजोपाँजो आफैंले गर्ने ग्यारेन्टी गरेका कारण अहिले प्रत्यक्ष सहुलियत दिने योजना नभएको अभिब्यक्तिदिएका प्रष्टयाउँदै सो अभिव्यक्तिले नेपाल र अष्ट्रेलियामै पनि एक किसिमको अन्यौलको अवस्था सिर्जना भएको सत्य भएको स्विकार गरेको छ ।
तथापि, सो विषयलाई लिएर आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्ने नियतले, स्पष्ट पार्ने नाममा अष्ट्रेलियामा कार्यरत पत्रकारहरुको अवमूल्यन गर्ने, उनीहरुको मानमर्द्धन गर्ने र सामाजिक सञ्जालहरुमा अपमान गर्ने जस्तो कार्य भएको भन्दै एन्जाले घोर भत्सर्ना गरेको छ ।
यस किसिमका क्रियाकलाप सामाजिक संघ, संस्थामा रहेका व्यक्तिहरु, विभिन्न पेशा व्यवसाय गर्नेहरुबाट हुन हुँदैन भन्ने अपेक्षा प्रकट गर्दै एन्जाका अध्यक्ष हेमन्त काफ्ले र महासचिव चिरञ्जीवी देवकोटाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ‘यतिबेला हामी कोरोना रोगको महामारीविरुद्ध संयुक्त रुपमा लडिरहेको अवस्थामा छौँ । विश्वका २ सय भन्दा बढी देशमा फैलिएको यो महामारीको सन्त्रासका बीचमा एक आपसमा सहयोग गर्दै, सहकार्यका माध्यमबाट कष्टकर र त्रासदीपूर्ण अवस्था अन्त्यका लागि हामी सबै क्रियाशील रहेको सर्वविदितै छ । यस्तो विषम परिस्थितिमा सरकारी निकाय, गैरसरकारी संस्थाहरु, सामाजिक संघ संस्था र सञ्चार जगतको भूमिका महत्वपूर्ण रहँदै आएको छ । समाजका सबै तहको सहयोग र सहकार्यबाट मात्रै अहिलेको यो संकटबाट पार पाउनेछौँ भन्ने कुरामा हामी सबै स्पष्ट छौँ।’
‘हामी अष्ट्रेलियाको संविधान, कानून र नीतिनियमको परिधिमा रहेर, पत्रकारिताको विश्वव्यापी मान्यतालाई आत्मसाथ गर्दै व्यवसायिक रुपमा मर्यादित भएर यहाँको नेपाली समाजलाई सुसूचित गर्ने कार्यमा लागिपरेको स्मरण गराउन चाहन्छौँ । यो संकटको घडीबाट मुक्ति पाउन, आफू सुरक्षित रहन र अरुलाई सुरक्षित गर्ने कार्यमा साथ दिन सबैमा हार्दिक अपिल गर्दछौँ ।’
प्रतिक्रिया