नेपालले गैरनेपालीलाई दोहोरो नागरिकता दिन नमिल्ने

नेपालले गैरनेपालीलाई दोहोरो नागरिकता दिन नमिल्ने


mirendraलण्डन । लण्डनमा आयोजना हुने सूचना प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय दुई दिने सम्मेलनमा भाग लिन शनिवार लण्डन आइपुगेका सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले गैरआवासीय नेपालीले माग गरेजस्तो दोहोरो नागरिकता दिन नमिल्ने बताएका छन् । नेपाली जनसम्पर्क समिति बेलायतले शनिवार लण्डनमा आयोजना गरेको कार्यक्रममा मन्त्री रिजालले दोहोरो नागरिकताका नकारात्मक र सकारात्मक दुबै पक्ष भए तापनि तर मुलुक अहिले जुन अवस्थामा छ, त्यसको आधारमा दोहोरो नागरिकता दिन पटक्कै सकिन्न’ भनेका छन् । सोही अवसरमा उनले अगाडि गैरआवासीय नेपालीलाई नेपाली मूलको परिचय हुने राजनीतिबाहेक अन्य अधिकारसहितको ब्यवस्था गर्ने सहमति भइसकेको बताएका थिए । विदेशमा बस्ने नेपालीलाई बिदेशबाटै मतदान गर्ने ब्यवस्था गर्न प्राविधिक कठिनाइ भएको उल्लेख गर्दै मन्त्री रिजालले विदेशमा रहेर पनि मतदाता नामावलीमा नाम लेखाउन सकिने ब्यवस्था गर्न लागिएको जानकारी पनि त्यही क्रममा दिएका थिए । ।
सरकारका प्रबक्ता समेत रहेका मन्त्री रिजालले ‘स्थानीय निकायको निर्वाचन गर्ने हाम्रो चाहाना हो, तर एमाओवादी चुनाव हार्ने डरले स्थानीय निकायको निर्वाचन होस् भन्ने चाहँदैन । एमाओवादी स्थानीय निकायको निर्वाचनमा जाँदिन भनिरहेको अवस्थामा जर्वजस्ती चुनावमा जाँदा अन्य राजनीतिक वातावरण बिग्रने खतरा भएका कारण स्थानीय निकायको निर्वाचनको मिति तोक्न अहिलेसम्म सकिएको छैन, सरकारको अर्को घटक एमालेसमेत महाधिवेशनमा ब्यस्त रहेकाले स्थानीय निकायको निर्वाचनतिर सरकारको ध्याय पुगेको छैन’ भन्दै प्रसंगलाई अर्कोतिर तानेका थिए । पूर्व सरकारले गर्न नसकेको शान्ति प्रकृया टुंगोमा पु-याउन र संविधानसभालाई कार्यतालिककाअनुरुप अगाडि बढाउन सरकार सफल भएको मन्त्री रिजालको दाबी रहेको थियो । उनले सरकार कुनै जादूको छडी नभएको तर्क गर्दै अहिलेको सरकारको कामदेखि अन्तर्राष्ट्रिय समुदायसमेत सन्तुष्ट रहेको जिकिर गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष योगेन क्षेत्रीले नयाँ संविधानमा सम्पूर्ण नेपालीको हकहित सुरक्षित हुनुपर्ने विचार ब्यक्त गरे । उनले विदेशमा बस्ने नेपालीको नागरिकताको अधिकार मानवअधिकारभित्र पर्ने बताउँदै लोकन्त्रिक संविधानभित्र सम्पूर्णको अधिकार सुरक्षित हुँदा गैरआवासीय नेपालीको नागरिकता सुरक्षा हुनुपर्ने तर्क राखेका थिए । पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९१ औं जन्मजयन्तीका अवसरमा आयोजित सो कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता विश्वआर्दश पण्डित, लोक गुरुङ तस्विर लामा र शिवजी श्रेष्ठलगायतले बोलेका थिए । मन्त्री रिजाल सञ्चार र इन्टरनेटसम्बन्धी आई क्यानको सोमवारदेखि हुने सो सम्मेलनमा सञ्चार मन्त्री डा. रिजालले नेपालको प्रतिनिधित्व गर्ने छन्। -डी. आर. आचार्य