■ आचार्य प्रभा (अमेरिका)
यतिबेला विश्व नै कोरोना महामारीका कारण त्रस्त छ । यो भयावह पीडाले कसलाई सताएको छैन ? धनी–गरिब, ठुलो–सानो र संसारका सबै देशलाई नै गिजोलेको छ । यसबारे धेरैले धेरै कोणबाट आ–आफ्ना विचार, धारणा या अनुभूति सार्वजनिक गरिसकेका छन् । समसामयिक सन्दर्भका लेख्न अभिरुचि राख्ने यो पङ्क्तिकार पनि कोरोना–त्रासपछि उत्पन्न यस्तै एक विषयमा केही कोर्ने जमर्को गर्दैछु ।
त्यसो त समय–समयमा अनेकौँ प्रकारका रुढी–रोग ल्याउने भाइरसहरूले संसारका सबै देशलाई नबिथोलेको होइन, तर यतिबेला यो कोरोना त यस्तो संक्रामक र भयावह बनेर छरियो कि यसबाट आफूलाई सुरक्षित गर्न जस्तोसुकै शक्तिसालीलाई पनि हम्मे–हम्मे परेको छ । आशा गरौँ, यसको निराकरण छिट्टै हुनेछ ।
हजुर, आज मैले यहि विषयमा लेख्नुको कारण के हो भने एक प्रवासी हुनुको नाताले पैदा हुने पीडा बेग्लै हुँदोरहेछ यस्तो बेला । ठूलो र सम्पन्न देशमा पुगेर आफूलाई सुरक्षित र सफल महसुस गरिन्थ्यो, एक सीमासम्म त्यो स्वाभाविक पनि थियो । तर अहिलेको घडीमा यही शान, मान, रहर र शौभाग्य क्षणभरमै बिलिन हुन पुगेझैँ लाग्दैछ । किनकि, हाम्रो नेपाल सानो र आर्थिक रूपले विपन्न झैँ भए पनि प्राकृतिक छटाले सम्पन्न सौन्दर्यशाली देश हो, जहाँ अनेकौँ रोग–ब्याधको आक्रमण पनि त्यति हुँदैन । नेपालका पाखापखेरा, नदीनाला, जङ्गल–बुट्यान आदि जताततै पाइने अनेक प्रकारका अलभ्य जडिबुटी, यहाँको हावापानी, मौेसम–माहोल नै यस्तो छ जसले ठुल्ठूला रोगलाई पनि प्रतिरोध गर्न सक्छ । आखिर यतिबेला पनि आफ्नो देशको यही शास्वत गुणको सम्झना गरेर पङ्क्तिकार भावुक हुन पुगेको छु ।
वास्तवमै जताततै हरियाली, फाँट, पखेरा, नदीनाला, हरिया वन–जंगलले घेरिएको नेपाल सानो र प्रकृतिमय छ । तर हामी नेपालीले देशको सम्पतिको खास पहिचान र यहाँका सम्पदाहरूको जगेर्ना गर्न नसकेर आज देश पहिला जे थियो त्यस्तो त छैन । र पनि, नेपालका जनता र नेतृत्वकर्ताहरू सब निःस्वार्थ र दिब्य चेतनाले युक्त भएका हुँदा हुन् त यो समय हाम्रो देश सानो तर हिराकै टुक्रामा परिभाषित हुन्थ्यो । भन्नुको अर्थ अन्य ठुला–ठुला मुलुकहरूभन्दा सुन्दर–सुरक्षित हुनेथ्यो । राजनैतिक विसङ्गतिबाहेक त हाम्रो देश यावत रोगको घर बन्नबाट बँचेकै थियो, तर… ।
यो प्रसङ्ग मैले किन कोट्ट्याएँ भने अहिले जुन भाइरसको संक्रमणले देशलाई पनि गाँज्दै लगिरहेको छ त्यसको मुख्य कारण विदेशमा बसेका नेपाली वा अन्य पर्यटकहरूको नेपाल प्रस्थान हुनुले हो, देशभित्र रहेका नेपाली जनताबाट यो रोग देखिएको थिएन वा होइन । यो त सबैले बुझेकै कुरा हो । उहिले–उहिले देशका जनताहरू अशिक्षित, अन्जान हुँदा फोहोर–मैलोको कारणले बेलाबेला झाडा–पखालाको महामारीचाहिँ फैलिन्थ्यो नै, अन्यथा सरुवा रोगहरूको आक्रमण नेपालमा त्यति होला जस्तो लाग्दैन ।
हामी जो जहाँ छौँ, सतर्कता र सरसफाईमा केन्द्रित होऔँ । ब्यर्थको भ्रामक खबरहरू पढेर पनि बिचलित नहोऔँ । विदेशी भूमिबाट आएका आफन्तहरूसँग त्रसित होइन सद्भाव बाडौँ ।
अझ छिचोलेर भन्नुपर्दा यो लेखनी शुरु गर्नुको मुख्य आशय के हो भने, हामी प्रायःजसो नेपालीहरू आ–आफ्नो चाहना, बाध्यता, गच्छे र प्रयत्नअनुसार विदेश पस्यौँ । कोही पढ्न, कोही कमाउन, कोही आफन्तजन भेटघाट गर्न, कोही लाहुरको जागिरे भएर । त्यो समय थियो पहिला कि कुनै पनि घरको एकजना छोरा या श्रीमान् ब्रिटिस लाहुरे भएर हङकङ–बेलायत–ब्रुनाई जहाँ भए पनि रहेका छन् भने त्यो परिवारमा कस्तो शान हुन्थ्यो ! त्यो घरको रौनक नै अर्कै हुन्थ्यो । उनीहरूको जीवनशैली नै अलिक फरक हुन्थ्यो । त्यो समयमा हत्तपत्त कोही विदेश नपुग्ने अर्थात अहिलेको जस्तो विदेश ‘पानी–पँधेरो’ थिएन । त्यसैले पनि होला विदेशमा मानिस भएको परिवारको सानमान उँचो हुन्थ्यो ।
मलाई अलि–अलि सम्झना छ, हामी सानो हुँदा पहाडमा राई, लिम्बु, गुरुङ, मगर नै हङकङ–मलाया भर्ती भएर जान्थे । उनीहरूले ३ वर्षमा मात्र २–३ महिनाको छुट्टी पाउँथे । गाउँमा कोही लाहुरे घर आयो भनेको सुन्दा गाउँ नै कति उल्लसित हुन पुग्थ्यो । सारा गाउँलेहरू रमाउँथे । त्यति मात्र कहाँ हो र ? कुनै लाहुरेको घरमा विदेशबाट पत्र मात्र आयो भने पनि गाउँभर हल्ला हुन्थ्यो । गाउँभरीका सबैलाई साइनोअनुसार नमस्कार, आशिर्वाद र सेवाढोगको सम्बोधन गरेर पठाइएको हुन्थ्यो । गाउँमा कुनै पर्व छाएझैँ हुन्थ्यो ।
त्यसपछि नेपालबाट बिस्तारै–बिस्तारै रोजगारीको लागि दुबई, कतार, मलेशिया, हङकङ, कोरिया, जापान र लण्डनसम्म जान थाले । भनौँ नेपालीहरू नपुगेको ठाउँ नै थिएन होला सायद । स्टुडेन्ट भिसाबाट अमेरिका, अष्ट्रेलिया र अन्य विकशित देशमा पनि जान थाले । पछि–पछिबाट यो एउटा लहड नै बन्यो । भनौँ, विगत १०–१५ वर्षयता त हरेक घरका युवायुवतीहरू कुनै न कुनै माध्यमबाट विदेश पलायन हुन थाले ।
यसो हुनाले नेपालीहरूको जीवनस्तरमा अलिक उचाईं बढ्न थाल्यो । गाउँघरतिर त मानौं, आफ्नो घरको छोरा–नाति विदेश गएको छैन भने आजकल त उक्त घरका सदस्यको मन अलिक खल्लो पनि होला जस्तो देखेँ मैले । गाउँका हरेक घरका दुबई, कतार, मलेशिया, कोरिया कहीँ न कहीँ गएकै छन् । उनीहरूले गाउँको जनजीवनलाई पनि केही सहज बनाएका छन्, विदेश बसेर अर्थोपार्जन गर्न पाएकाले । गाउँघरका छोरा–नातिहरू बेरोजगारी बन्नबाट बँचेका छन् ।
अर्थात्, विदेशबाट विभिन्न शिपमूलक कार्यहरू सिकेर आफ्नो देशमा त्यही शिप प्रयोगमा ल्याउनेहरू पनि छन् देशका कुना–कुनामा । विदेशको रोजगारीले घर–गाउँ, शहर र देश नै लाभावान्वित नै थिए आजसम्म ।
विदेशबाट परिश्रम गरेर फर्कंदा जो–कोहीलाई पनि आफ्नो घर–आँगन वा समाजमा खुशी लाग्दथ्यो । विदेश बसेर आएको केही समयसम्म त गाउँघरमा उक्त परदेशीको फुर्सदै पनि हुन्नथ्यो । वल्लो घर पल्लो घर, आफन्त–इष्टमित्रको निमन्त्रणामा पाहुना खाँदा–खाँदा अति ब्यस्त हुन्थे । सबैमा एउटा रौनकता नै छाँउथ्यो । तर अफसोच… ! त्यो स्वर्णकाल रहेन ।
यसरी विदेशबाट परिश्रम गरेर फर्कंदा जो–कोहीलाई पनि आफ्नो घर–आँगन वा समाजमा खुशी लाग्दथ्यो । विदेश बसेर आएको केही समयसम्म त गाउँघरमा उक्त परदेशीको फुर्सदै पनि हुन्नथ्यो । वल्लो घर पल्लो घर, आफन्त–इष्टमित्रको निमन्त्रणामा पाहुना खाँदा–खाँदा अति ब्यस्त हुन्थे । सबैमा एउटा रौनकता नै छाँउथ्यो । तर अफसोच… ! त्यो स्वर्णकाल रहेन । त्यस्तो रौनकता र आत्मीय स्वागत शायदै होला कसैलाई पनि । किनकि अहिलेको यो संक्रामक सरुवा रोगको मुख्य माध्यम नै विदेशी पर्यटक वा आफन्तजन नै भए, जो विदेश बसेर फर्किएका छन् । यो रोगले अब प्रवासीमाथि नमिठो छाप बसायो ।
हुन त यो भाइरस सबैतिर नै त्यस्तो भयावह रूपले अहिलेसम्म फैलिएको छैन, युरोपको इटली, चीनको वुहान र अमेरिकाको न्युयोर्क शहरमा जस्तो । अनि सबै नै विदेशमा बस्नेहरूमा यो भाइरसले आक्रमण गरिहालेको पनि छैन अहिलेसम्म । अलिक अघिसम्म जो अन्जान बने, जसले भिडभाडमा जाने, मिसिने गरे र जहाँ मान्छेहरूको जमघट धेर हुन्थ्यो त्यस्तामा यसले आक्रमण गरिसक्यो । जान–अन्जानमै यो भाइरसले कति मान्छेलाई आफ्नो पन्जामा पार्यो । यसलाई परिबन्द या अन्जानपन नै भन्नुपर्ला ।
अमेरिकामा पनि यो लेख लेखिन्जेलसम्म सबै स्टेटमध्ये न्युयोर्कलाई धेरै गाँजेको छ । किनकि न्युयोर्क सिटी यस्तो भिडभाडयुक्त छ जसले ट्रेनको यात्रामा दैनिक काम गर्न जान्छ, उनीहरूलाई थाहा छ । अन्य स्टेटमध्ये पेन्सिलभेनिया आजसम्म अरु स्टेटभन्दा अलिक सुरक्षित नै भएको आँकलन छ । तथापि त्यहाँ पनि केहीलाई संक्रमण भएको खबर आउन थालेको छ ।
कोलोराडो जहाँ अहिले पङ्क्तिकार रहेको छ, यो विचार सम्प्रेषण गरुन्जेलसम्म त्यति भयावह स्थिति आइसकेको छैन । भित्री रूपमा के–कस्तो छ, अनभिज्ञ नै छु । मान्छेहरू पार्कमा जाने घुम्ने अलि–अलि चहलरपहल यथावत नै छ ।
फाट्टफुट्ट संक्रमणको घटना सुनिदै छ, तर जति अन्य स्टेटमा हताहत भएका छन् अहिलेसम्म कोलोराडो राज्य त्यति हताहतीमा परेको छैन । स्टे होम अर्डर त जारी छ तर लकडाउन नै चाहिँ भएको छैन । मान्छेहरू फाट्टफुट्ट पार्कमा हिँड्ने र केही दिनअघिसम्म त अघ खेलाडीहरू पनि पार्कमा प्राक्टिस् गरिरहेका देखिन्थे । विभिन्न ग्यास स्टेसनहरू पनि खुल्लै छन्, तर ६ फिट टाढा रहेर नै आफ्नो कार्य गर्ने नियम लागु भएको छ । ठुल्ठुला सपिङ मलहरूमा पनि कस्टमर जान छाडेको थाहा भएको छ । होटेल, रेष्टुरेण्टहरूमा डाइन इन बन्द गरेर टेक अवे मात्र खुल्ला छ ।
भनौँ हामी बसेको एरियामा मैले एक–दुई जना बाहेक मास्क लाएर हिँड्ने देखेकी छुइन आजसम्म । हामी पनि आजको दिनसम्म दिनहुँ वाकमा पार्क गइरहेकै छौँ । यसो भन्दैमा ढुक्क पर्नुचाहिँ मुर्खता हो । भोलिको दिन के होला कसलाई के थाहा ? मेरो आशय के हो भने जुन ठाउँमा अगाडि नै आक्रमण भयो, जहाँ होशियारी अपनाउने मौका नै मिलेन त्यहाँ स्थिति असामान्य देखिए पनि ईश्वरको कृपा भनौँ अहिलेसम्म कोलोराडो राज्य त्यति संक्रमित भएको छैन र यहाँ न्युयोर्क जस्तो भींड पनि नभएर होला अनि मानिसहरू त्यति हुल बाँधेर हिँडेको कहिल्यै देखिन्न पनि । यो राज्य सफा र हराभरा पनि छ ।
जतिबेला प्रवासी ज्यानको मिठो स्वागत र पर्खाइ हुन्थ्यो स्वदेश, गाउँघर र आफन्तमा, तर अब ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सियो’ झैँ भए हुन् कि घरदेशमा आफन्तजनहरू भन्ने पीडा छ, आफूलाई पनि । वास्तवमा बुझ्नैपर्ने के भने कुनै पनि ठाउँमा सबै संक्रमित छैनन् । सबैले सतर्कता अपनाउन जरुरी छ तर सबैजना नै सबै प्रवासीसँग त्रसित हुन आवश्यक छैन ।
मैले किन यहाँको वर्णन गरेँ भने म परदेश बसेर अनुभव भोग्दैछु । नेपालमा कतिले त अमेरिका भन्नासाथ सबै एकै ठाउँ मात्र ठान्छन् । कति राज्यबाट त अर्को राज्य पुग्न नै प्लेनबाट ७–८ घण्टा नै लाग्छ अमेरिकामा । यसैले पनि मैले यो भ्रम हटाउने प्रयास गरेकी हुँ । न्युयोर्कमै पनि सबै संक्रमित भएका होइनन्, कति त बेलैमा आफूले सतर्कता अपनाएर बसेकाहरू पनि छन् । तर जो–जो संक्रमित भए उनीहरूलाई थाहा नै भएन कि कतिबेला उनीहरू यो दुष्ट भाइरसको पञ्जामा परे र कहाँ–कहाँ भिडमा उनीहरूले त्यस्ता ब्यक्तिहरूसँग उठबस गरे । जे भए अन्जानमा भए तर अहिले सब सुनसान छ न्युयोर्क शहर, जहाँ मान्छेहरू ठेलम्ठेल गरेर हिँड्दथे । आशा गरौँ यसको निराकरण पनि छिट्टै हुनेछ ।
मेरो यो लेखोटको आशय के हो भने जतिबेला प्रवासी ज्यानको मिठो स्वागत र पर्खाइ हुन्थ्यो स्वदेश, गाउँघर र आफन्तमा, तर अब ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सियो’ झैँ भए हुन् कि घरदेशमा आफन्तजनहरू भन्ने पीडा छ, आफूलाई पनि । वास्तवमा बुझ्नैपर्ने के भने कुनै पनि ठाउँमा सबै संक्रमित छैनन् । सबैले सतर्कता अपनाउन जरुरी छ तर सबैजना नै सबै प्रवासीसँग त्रसित हुन आवश्यक छैन । हुन त हुने हुनामी टारेर टर्दैन तर पनि यसो भनेर ढुक्क पर्नु पनि हुन्न कसलाई कतिबेला के हुन्छ भन्न सकिन्न । त्यसैले अब एउटै पीडा मनमा के छ भने अबको घरदेश यात्रामा आफन्तहरूले पहिला जस्तै आत्मीयताले स्वागत गर्ने हुन् कि दुत्कार्ने हुन् ? शंकाकै घेरामा छु । भगवानसँग प्रार्थना छ– त्यस्तो परिस्थिति झेल्न नपरोस् र घरदेशका आफन्तजनहरूले पनि आफू भ्रममा नपर्न म आग्रह गर्दछु । विदेशमा बस्नेहरूलाई मात्र यो दुष्ट भाइरसले समाउँछ भन्ने भ्रमित धारणा कसैमा नरहोस् । यो त यस्तो खतरनाक अदृश्य शक्ति रहेछ जसले न धनी, न गरिब, न ठुलो, न सानो, न महान्, न कोही सबैलाई एकै गाँस बनाएको छ ।
अन्त्यमा, हामी जो जहाँ छौँ, सतर्कता र सरसफाईमा केन्द्रित होऔँ । ब्यर्थको भ्रामक खबरहरू पढेर पनि बिचलित नहोऔँ । विदेशी भूमिबाट आएका आफन्तहरूसँग त्रसित होइन सद्भाव बाडौँ । सबै विदेशबाट आएकाहरू यो रोगका शिकार भएका नहोलान् यदि त्यस्तै अवस्था भएमा उनीहरूलाई सुरक्षित गर्नेतर्फ ध्यान दिउँ । विदेशबाट स्वदेश फर्किनेहरू पनि हेल्चेक्ऱ्याइँ नगरी पहिला डाक्टरी परिक्षणपश्चात् आफ्नो घरमा सुरक्षित बनेर बसौँ ।
अब त्यो समय रहेन आफन्त, साथीभाइ भन्दै गाउँ–टोल भेटघाट गर्ने घुम्ने । बस्, म यत्ति चाहन्छु प्रवासबाट स्वदेश जाने प्रवासीहरू आफ्नै रगत–नातागोताबाट पन्छिन नपरोस् । यो संकटको घडी र हरेक मान्छेभित्र मडारिएका पीडाको आँधी छिट्टै शान्त होस् ।
प्रतिक्रिया