आदरणीय सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरु,
आज कोरोना महामारीले विश्व आक्रान्त छ । हरेक व्यक्तिको ज्यान जोखिममा रहेको छ । यो संकटको घडीमा कोरोनासँग लडिरहनु भएका सबै जनालाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै दिवंगत आत्माहरुको चीर शान्तिको कामना गर्दछु ।
म आफै पनि केही लक्षणहरु देखापरेर आइसोलेसनमा रहेर स्वास्थ्य लाभको क्रममा छु । ‘बाँचौँ र बचाउँ, महामारीबाट जोगिउँ’ भन्ने मूल मर्मअनुरूप यो महामारीमा पनि फ्रन्टलाइनमा रहेर नेपाल लगायत विश्वभर सेवागरिरहनु भएका नेपाली लगायत तमाम स्वास्थ्यकर्मी, अत्यावश्यक सेवामा कार्यरत सेवाकर्मीहरुको उच्च सम्मान गर्न चाहन्छु ।
हिजो विविध कारणले मातृभूमिको अर्थतन्त्र धरासायी भएको बेला आफ्नो पसिना र रगत बगाएर प्रवासबाट रेमिटान्सले धानेका खाडी, मलेसिया लगायत बिश्वभर छरिएर बसेका मजदुरहरुको योगदान अवश्य पनि उल्लेखनीय छ ।
प्रवासबाट कैयौं दिदी बहिनी, दाजुभाइहरु खाडीमा एकै कोठामा कोचिएर जेल जस्तो जीवन बिताइरहेको, औषधि, खानाको संकट परेको खबर छन् । स्थानीय प्रतिनिधिहरुले सहयोग गरिरहनु भएका खबर पनि आएका छन् । वहाँहरुको पहललाइ हार्दिक धन्यवाद दिन चाहन्छु । ती अधिकांश नागरिकहरु घर फर्किन चाहेका छन् । साइप्रस, मलेसिया लगायत अन्य देशहरूबाट धेरै नेपालीहरू घर फर्किन चाहेका छन् । राज्यका नागरिकको अभिभावक सरकारलाई मजदुरको देश हुन्छ र मातृभूमि र परिवार हुन्छ भन्ने गतिलो सन्देश दिने अवसर रहेको छ ।
आज घर फर्किन चाहने नागरिकलाई जसरी विश्वले स्वदेश फर्काइ क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिरहेको छ त्यसरी नै नेपाल फर्काइ नेपालमा क्वारेन्टाइनको व्यवस्था गरेर १४ दिन पछि घर फर्काउने पहल गर्न सरकारसंग अनुरोध गर्दछु । म नेपाल सरकार र सम्बन्धित संघसंस्थाको ध्यान आकर्षण गराउन चाहन्छु ।
गैरआवासीय नेपाली संघका साथीहरु अहोरात्र खटिरहनु भएको छ । वहाँहरुको उच्च सम्मान गर्दै तमाम घर फर्किन चाहने प्रवासीहरुलाई सुरक्षित रुपमा आफ्ना परिवारसम्म पुर्याउन केके गर्न सकिन्छ त्यहाँ ध्यान केन्द्रित गर्न जरुरी देखेको छु ।
हाल नेपाल बाहिर प्रवासमा धेरै नेपालीहरुले ज्यान गुमाएको संकटको घडीमा, जन्म घरबाट टाढा प्रवासमा रहेकाहरूलाई सबै भन्दा धेरै मातृभूमीको माया र स्नेहको खाँचो देखेको छु ।
बेलायतमा धेरै भूपू गोर्खा बुवाआमा, आफन्तहरु गुमाउनु परेको पीडा हामीलाई छ । हामीले भूपू गोर्खाहरुको विशेष सुरक्षा अपनाउनु पर्ने अवस्था देखिएको छ । अनि बेलायत सरकारलाई तिनको विशेष हेरचाहको लागि पनि अनुरोध गर्नुपर्ने अवस्था छ ।
अमेरिका, पोर्चुगल, माल्टा, स्पेन, इटली लगायतका प्रवासीहरूको समस्या अनि कतिपय काग़ज़को समस्याले अप्ठेरोमा परेकाहरूलाई सहयोग ज़रूरी देखिएको छ ।
त्यसैगरेर बेलायत, साइप्रस लगायत विभिन्न देशमा नेपाली विद्यार्थीहरुले दुख भोगीराख्नुभएका खबरहरु आएका छन् । वहाँहरुलाई खाना, बस्न लगायत सहयोग गर्ने प्रवासी मनहरुलाई हार्दिक नमन गर्दछु । वहाँहरुलाई उचित रेखदेख गर्नुपर्ने अवस्था देखिएको छ ।
यस्तो बेला व्यक्तिगत र सामूहिक रुपमा सक्दो सहयोग गर्न हामी सबै एकजुट हौं । यो बेला फुटेर हैन जुटेर अघि बढ्ने बेला हो । कुनै पदमा रहे पनि वा नरहे पनि मातृभूमीको ऋण तिर्न र सबै गैर आवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरुको सक्दो सेवा गर्न म संधै तत्पर रहेको कुरा फेरी पनि जाहेर गर्न चाहन्छु ।
दुखमा परेका प्रवासका नेपालीहरुलाई आवश्यकता हेरी गैर आवासीय नेपाली संघको सहकार्यमा आफ्नो तर्फबाट पनि सानो सहयोगस्वरूप रू ५ लाख उपलब्ध गराउने प्रतिबद्धता जनाउन चाहन्छु।
सबै सँगै मिलेर सहमति, सहकार्य र एकताको भावका साथ अघि बढ्न तमाम गैरआवासीय नेपाली साथीहरु तथा नेपाली मनहरूमा हार्दिक अपिल पनि गर्दछु ।
कुल आचार्य
लण्डन
१८ अप्रिल २०२०
प्रतिक्रिया