विदेशमा अलपत्र नेपालीलाई फर्कने वातावरण तयार गर्न एनआरएनको माग

विदेशमा अलपत्र नेपालीलाई फर्कने वातावरण तयार गर्न एनआरएनको माग


गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल नेपाल फर्कनका लागि आवश्यक वातावरण तयार गर्न नेपाल सरकारसमक्ष माग गरेको छ ।

एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको नेतृत्वमा आइतबार एक प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई ६ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै खानाबस्नकै समस्या भोग्नेका लागि खाद्यान्नलगायत अत्यावश्यक वस्तु वितरण गर्न र विदेशबाट फर्कनेहरूलाई नेपालमा पुनःस्थापना गर्न माग गरेको छ ।

एनआरएनले अप्ठेरामा परेका र नेपाल फर्कन अति आवश्यक भएकाहरूका हकमा कुनै उपाय गरी स्वदेश फर्काउने वातावरण बनाउन तथा फर्केपछि अनिवार्य निश्चित समय क्वारेन्टाइन र सेल्फ आइसोलेशनमा बस्ने व्यवस्था गर्न आग्रह गरेको एनआरएन, कोभिड– १९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

हाल खानाबस्नकै समस्या भोग्नेका लागि आफू र सम्बन्धित नेपाली नियोगसमेतको समन्वयमा खाद्यान्नलगायत अत्यावश्यक वस्तु वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गर्दै एनआरएनले सरकारले राख्ने रकमको अनुपातमा एक हिस्सा राख्न आफू पनि तयार रहेको जनाएको छ ।

विदेशबाट फर्कनेमध्ये आइसोलेशनमा रहने अवस्थामा मनोचिकित्सकको समेत सल्लाह पाउन सक्ने व्यवस्था मिलाउन र उनीहरूलाई नयांँ उद्योग व्यवसाय शुरु गर्न आवश्यक सूचना प्रवाह हुने र जानकारी दिने व्यवस्था मिलाउन एनआरएनले ध्यानाकर्षण गराएको छ ।

फर्कनेहरूलाई नेपालमा पुनःस्थापना गर्न र रोजगार वा स्वरोजगारमा लाग्न उत्प्रेरित गर्ने किसिमका कार्यक्रम ल्याउन, तिनको सीपको विवरण संकलन गरी नेपालमा प्रयोग गर्ने गरी सीप बैंकको स्थापना गर्न र यसको विवरण नेपाली उद्यमी व्यवसायीलाई उपलब्ध गराउन माग गरिएको छ । नेपालमा फर्कनेका लागि सस्तो ब्याजमा ऋण पाउने व्यवस्थाका साथ मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्न पनि आग्रह गरिएको छ ।

विदेशमा जानेले सिकेको सीपका आधारमा आफ्नै व्यवसाय शुरु गर्न चाहनेहरूलाई मद्दत गर्ने कार्यक्रम एवं तिनलाई सहज र सस्तो ब्याजमा ऋण पाउने व्यवस्था मिलाउन तथा मुख्यतः कृषिको आधुनिकीकरणका क्षेत्रमा प्रयोग गर्ने नीति लिन सुझाव दिइएको छ ।