■ डिल्लीराम अम्माई
सबै मान्छेहरुको रुचि र स्वाभाब एउटै हुँदैन । गन्तब्य र भविष्यको गति पनि सबैको एउटै हुँदैन । तर पीडामा समवेदना भने सबैको हृदयमा जागृत हुन्छ। कसैलाई संसारका हरेक मानिसको पीडामा समान रुपले समवेदना जागृत गराउँछ भने कसैलाई कमबेसी। संसारमा यस्ता मानिस पनि छन् जसको समवेदना मानवहरुको दुःखमा मात्र सीमित छैन । उनीहरु प्राणी मात्रको जीवन–कष्टमा समान रुपले शोक प्रकट गर्दछन् । प्रकृति परिचक्रको महत्व बुझेका मानिसहरु यो कोटिमा पर्दछन् । त्यसैले प्रेमजस्तै पीडाप्रतिको सहानुभूति वा समवेदना सार्वभौम हुँदाहुँदै पनि मानिसको सोचअनुसार यसको अनुभूति फरक फरक हुन्छ।
हाम्रो शरीरको बनावट फरक भए पनि शरीरको रसायनिक शुत्र एउटै हो । वैज्ञानिकहरुका अनुसार यो शरीर ब्रमाण्डमा भएका हजारौँ रसायनबाट बनेको हो । गाउँमा बुढापाकाले भन्ने गरेको लोक कथनअनुसार मानव शरीर पंच महाभुतले बनेको मानिन्छ । कहिले त हाम्रो शरीर कुखुराको सुलिले बनेको विश्वास गर्छन् । हामी सानो छँदा गाउँका दाजुहरुले ‘थुक लगाइ हात माडेर सुंघ्दै सुली गन्हाउँछ’ भन्दथे । अनि हामी बच्चाहरु पनि नाडीमा थुक लगाएर बेस्सरी माडथ्यौँ र सुङ्ग्थ्यौँ । साँचै नै सुली गन्हाएको भान हुन्थ्यो । तर, मानिस केवल सुलिले बनेको हुँदैन प्राणी जगतको रक्षा गर्ने संकल्पले विवेकशील मानवको जन्म भएको हो ।

तर पनि प्रकृतिमा साकाहारी र मांसाहारी प्राणीहरु भए जस्तै मानव जगतमा पनि दुई किसिमका मानिसहरु छन् । एक किसिमका मानिसले मानव जीवनलाई भन्दा धनलाई महत्व दिन्छन् । फासिष्ट सोच भएका कट्टरपन्थी नेता (चाहे ती धार्मिक हुन् वा राजनैतिक) आफ्नो विचारसंग असहमत हुनेलाई भौतिक रुपमै मेट्न चाहन्छन् । अहिले विश्वभर फैलिएको महामारीको बेला शासकहरुका पनि यस्तै दुई फरक विचारहरु बाहिर आएका छन् । चाहे संक्रमण अझै फैलियोस् आर्थिक गतिविधि सुचारु राख्नुपर्छ भन्ने एउटा सोचको अमेरिकी राष्ट्रपतिले नेतृत्व गरेका छन् । उनले विश्व स्वास्थ्य संगठनलाई दिंदै आएको सहयोग समेत रोक्ने निर्णय गरे । विश्वमा अर्को मानवीय मुल्यलाई सर्वोत्तम मान्ने समूह पनि छ । उनीहरुले संक्रमण रोक्न हर सम्भव प्रयत्न गर्नुपर्छ भनेर लबिङ गरिरहेका छन् । मानवीय क्षेत्रको लगानीलाई महत्व दिएका छन् ।
त्यस्तै हो सामाजिक क्षेत्रको मानवीय जीवनचक्र पनि । केहीले सहयोगमा निरपेक्ष बस्न रुचाउँछन्, केहीले मानवीय सहयोगलाई आदर्शवाद वा फोस्रो आडम्बर भन्दै विरोध गर्दछन् भने केहीले परोपकारलाई मानवीय कर्म सम्झेर लागिरहन्छन् । नेपालमा विसं २०७२ सालको भूकम्पमा पनि नेपालीको त्यो भावनात्मक विविधता देखियो । केहीले पीडितहरुलाई मनैदेखि भौतिक उद्धारमा खटेर सहयोग गरे। केहीले आर्थिक सहयोग गरेर आफ्नो समवेदित मनलाई तृप्त गरे । तर अफसोच केही अमानवीय प्रवृतिका दैत्यहरुले भूकम्पको नाममा सहयोग उठाएर पनि आफ्नो घर घडेरी र ब्यवसायको प्रबन्धमा त्यो सहयोग खर्च गरे । त्यसैले मनको पवित्रताले नै मानिसको परोपकारी भावनाको मापन हुन्छ।
त्यस्ता मानवीय समबेदना बेचेर सम्पति आर्जन गर्ने मान्छेलाई शिर ढलेको मान्छे भनिन्छ। शिर ढल्नु भनेको मानिसको आत्मसम्मान गुम्नु हो वा आफ्नै आसुरी कर्मद्वारा आत्मसम्मान गुमाउनु हो । लिम्बू समुदायमा शिर ढल्यो भने मान्छे मर्छ भन्छन् । मर्नु भनेको देह त्याग गर्नु मात्र होइन, उसको मान, प्रतिष्ठा र इज्जत गुम्नु पनि हो । यसले मान्छेलाई मानसिक रुपमा मरेतुल्य बनाउँछ । आत्मसम्मानका साथ बच्नु मान्छेको लागि अत्यन्तै महत्वपूर्ण हुन्छ । यहि आत्मसम्मानले नै मानिसलाई परोपकारी, मनकारी र दास मनोवृत्तिबाट स्वतन्त्र बनाएको हो।
अहिले संसारभरी कोभिड–१९ नामक महामारीले गाँजेको छ। जसको भयले मानिस त्राहिमाम भएको छ। संसारबाट धेरै मानिसहरु यसको शिकार भै सकेका छन् । त्यसैले यसको संक्रमणलाई रोक्न संसारभरिका राज्यहरु खुकुलो र कडा दुई प्रकारले बन्दाबंदीमा छन् । काम रोकिएकोले संसारभरिका श्रमजीबी महामारीसंगै भोकको कोपले समेत प्रताडित छन् । यी मजदुरहरुको आवाज आन्दोलन बाहेक अन्य अवस्थामा सत्तासिन वर्गले सुन्दैन । त्यसैले त्यो वर्गलाई अहिले उनीहरुका सम्बद्ध संघ–संस्थाहरुले सामुहिक प्रयत्नबाट राहत पुऱ्याइरहेका छन् ।
डायस्पोराका गैरआवासीय नेपालीहरुलाई सहयोग गर्न अहिले सबैतिर एनआरएनए बेल्जियमले पनि भैपरि आउनसक्ने स्थितिलाई मध्यनजर गरेर नै ‘आकस्मिक राहत कोष’ खडा गर्ने निर्णय गरेको र एनआरएनएका अभियन्ताहरुको सहयोग र समन्वयमा उक्त कोषमार्फत विशेषगरी वैधानिकता कुरीरहनुभएका करिव ५० गैरआवासीय नेपालीहरुलाई तत्कालका लागि खाद्यान्नस्वरुप राहत उपलब्ध गराइसकिएको छ । गैरआवासीय नेपाली संघ बेल्जियम हरेक बेल्जियमवासी नेपालीहरुको सुखदुःखमा साथ छ भन्ने अनुभूति गराउने गरी काम गरिरहेको पनि संघले जानकारी गराएको छ । यो विपदको घडीमा जुनसुकै समस्या परे पनि सहयोग र सल्लाह आवश्यक भएमा एनआरएनएका पदाधिकारीहरुलाई सम्पर्क गर्न पनि अध्यक्ष चित्र सुवेदीले बेल्जियमवासी नेपाली समुदायलाई अनुरोध गरेका छन् । आकस्मिक सहयोग र समन्वयको लागी हरेक शहरहरुमा ‘एनआरएनए बेल्जियम स्वयंसेवक दल’ निर्माण गरिएको छ। यस दलले कोरोना संक्रमित परिवारको लागि सरसामान खरिदको ब्यवस्थादेखि अन्य सहयोग गर्नेगरी सामाजिक सेवालाई अझै सहज बनाउने बताएको छ । यो महामारीमा रोग र भोकले प्रताडित नेपालीहरुलाई हर प्रकारले सहयोग गर्नेहरु चाहे ती एनआरएनए हरु हुन् वा अन्य संघ संस्थाका कार्यकर्ताहरु हुन्, सबै परोपकारीहरु देवतातुल्य स्तुत्य छन् ।

त्यस्तै साइप्रसका नेपालीहरुको परमार्थी कर्मले पनि यो बेला सबै नेपालीहरुको ध्यान खिचेको छ। साइप्रसको जनसम्पर्क समितिले शुरुमा पीडितहरुको लागि राहतको वितरण गऱ्यो। समितिले आर्थिक अभियानको कहिकतै बिज्ञापन गरेन।ति फुलजस्ता निर्मल हातहरुले पिडितलाई झोलाभरि राहत दिएपछि बल्ल यो कर्मबारे जगतले थाह पायो। त्यस्तै अर्को खबर अनुसार साईप्रसमा ५ देखि ७ हजार विद्यार्थीहरु समस्यामा परेपछि एनआरएनए साइप्रसले घर–घरमै राहत पुऱ्याउने ब्यवस्था गरेको छ । एनआरएनए साइप्रसका प्रवक्ता दिनेश गौतमका अनुसार ४ सय ५६ जना विद्यार्थीहरुले राहत पाइसकेका छन् । यस मानेमा अहिलेको पीडादायी समयमा निःस्वार्थ मनले सहयोग गर्ने साइप्रसको जनसम्पर्क समिति तथा एनआरएनएका अभियन्ताहरु स्तुत्य छन्।
अर्को खबर अनुसार, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) आयरल्याण्डले आयरल्याण्डमा रहेका कोभिड १९ प्रभावित नेपालीहरुको राहत तथा सहयोगका लागि ‘कोविड–१९ समन्वय तथा सहयोग समिति’ गठन गरेको छ । नेपाली समुदायको आकस्मिक समस्याहरुप्रति लक्षित गर्दै एनआरएनए आयरल्याण्डका अध्यक्ष मिलन छन्त्यालको संयोजकत्वमा यूरोप उपसंयोजक शुक्रराज न्यौपाने संरक्षक रहने गरी समिति निर्माण भएको छ । उनीहरुले पनि राहत वितरणको लागि पीडितहरुको लागत संकलन गरिरहेका छन्। उनीहरु अब छिट्टै राहत अभियानमा निस्कने छन् । मानवताको प्रेरणाबाट उत्साहित हुँदै स्वयमसेवा भावले उत्साहित आयरल्याण्डका साथीहरुको परोपकारी भावनालाई पनि नमन।
त्यस्तै, एनआरएनए अष्ट्रेलियाले ५०० सय जना विद्यार्थीहरुलाई राहत वितरण गरेर परोपकारी महायज्ञको उद्घाटन गरिसकेको छ । लक्ष अझ धेरै छ। एनआरएनएका महासचिव ज्ञानेन्द्र रेग्मीका अनुसार दाल, चामल, चिनीलगायत दैनिक खाद्यान्न सामग्रीहरु खरिदमा संघले २० हजार डलर खर्च गरिसकेको छ । १ हजार ४ सय भन्दा बढी नेपालीहरुले फाराम भरेर राहतको माग गरेको जानकारी आएको छ । त्यसैले उनीहरुले लगभग ५० हजार डलरको राहत कोष बनाएर राहत वितरणलाई तिब्र दिएका छन् । राहतरुपी युद्धमोर्चामा तम्तयार एनआरएनए अष्ट्रेलियाका परोपकारी मनहरुलाई हृदयदेखि नै सलाम छ।
त्यसरी नै, एनआरएनए अमेरिकाले करिब ४ सय जना पीडित विद्यार्थीहरुलाई राहत वितरण गरिसकेको खबर छ । एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहका अनुसार उनीहरुलाई दाल, चामल, पिठो, चिनी लगायत दैनिक खाद्यान्न खरिद सामग्रीहरु वितरण गरिएको हो । पीडितको लागि भौतिक सामग्रीलगायत पारिवारिक सम्पर्कको लागि टेलिफोन सेवाको प्रबन्ध पनि एनआरएनएले गरेको बताइएको छ । यसरी परोपकारको दियोलाई तेजिलो बनाउदै अगाडी बढिरहेको एनआरएनए अमेरिकाका अभियन्ताहरु पुज्य छन् ।
यस्तै, अफ्रिका क्षेत्रमा रहेका परोपकारी नेपालीहरुले समेत राहत संकलन शुरु गरेका छन् । संघका पूर्वकोषाध्यक्ष हिक्मत थापाका अनुसार अफ्रिकामा रहेका नेपालीहरुले एनआरएनए अफ्रिकामा क्षेत्रीय कोषको स्थापना गरेर काम अघि बढाएको खबर आएको छ । अहिलेसम्म क्षेत्रीय कोषमा १० हजार डलर भन्दा बढी जम्मा भएको छ । त्यहाँ जम्मा भएको सम्पूर्ण रकम पारदर्शी रुपले अलपत्र परेका पीडित नेपालीहरुको उद्वारमा खर्च गर्ने संघले जनाएको छ। यसरि परोपकारी मिसनमा अगाडी बढिरहेका अफ्रिकाका परोपकारी ऋषिमनहरुलाई संसारभरका नेपालीहरुले आभार ब्यक्त गरेर अझै हौसला बढाउन जरुरी छ।

त्यस्तै यूएईबाट आएको खबरअनुसार गैरआवासीय नेपाली संघ यूएईले अलपत्रमा परेका १ हजार भन्दा बढी पीडित नेपालीहरुको लागि आपतकालीन राहत वितरण भैसकेको थाहा भएको छ । यस्तै गैरआवासीय नेपाली संघ कतारले तीन सय भन्दा बढी कोरोनाका कारण प्रभावितहरुका लागि राहत वितरण गरेको जनाएको छ । कोरोना महासंकटको बेला मध्यपूर्वमा आपतमा परेका सयौँ नेपालीहरुलाई परोपकारी हातहरुले भर दिएका छन् । ती सबै नेपालीका महान् कर्महरु सदैव स्तुत्य र पुज्य छन् ।
केही दिन अगाडी एनआरएनए स्पेनले १ सय ६७ जना, पोर्चुगलले १ सय ३३ जना, इटालीले २० जना नेपालीहरुलाई राहत वितरण गरेको खबरले नेपालीहरुको सान अझै बढाएको छ । उनीहरुका ती परोपकारी तन मन सदैव पुजनीय रहुन् ।

सुन्नमा आएअनुसार फ्रान्स, अष्ट्रिया, बहराइन, साउदी अरब, क्यानाडा, अमेरिका, हङकङ लगायतका देशहरुमा राहत वितरण कार्य सुरु भइरहेका खबर आइरहेका छन् । दक्षिण कोरिया, हङकङ, अष्ट्रेलिया लगायतका देशहरुमा रहेका एनआरएन तथा सामाजिक संघ–संगठनहरुले नेपाल सरकारलाई स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरेका छन् । एनआरएनएले दक्षिण कोरियाले गत हप्तमा १ करोड ६० लाख बराबरको स्वास्थ्यसम्बन्धी सामग्री नेपाल पठाएको समाचारले डायस्पोराका नेपालीहरुको परोपकारी इच्छाशक्तिलाई गतिलोगरी प्रमाणित गरिदिएको छ । त्यसैले राज्यसत्ताको अयोग्यताको जाँतोमा पिल्सिएर विभिन्न देशमा पसिना बेचिरहेका नेपालीहरु खराब र मौकाखोर मात्र छैनन् तुलसी र पिपल जस्तै पवित्र, परोपकारी र स्तुत्य पनि छन्। डायस्पोराका सम्पूर्ण परोपकारी मनहरुलाई सलाम १ संसारभरिका नेपालीहरु परोपकारी महान अभियानमा एक बनौं !
(लेखक पत्रकार महासंघ युरोपका वरिष्ठ उपाध्यक्ष, घटना र विचार साप्ताहिकका युरोप सम्वाददाताका साथै अन्तर्राष्ट्रिय मिडिया तथा प्रकाशन कार्य समिति (एनआरएनए)का सदस्य समेत हुनुहुन्छ ।)
प्रतिक्रिया