नेपाल टेलिकमका प्रिपेड मोबाइल प्रयोगकर्तालाई ‘जिरो ब्यालेन्स प्याकेज’

नेपाल टेलिकमका प्रिपेड मोबाइल प्रयोगकर्तालाई ‘जिरो ब्यालेन्स प्याकेज’


लकडाउनको अवस्थामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि जिरो ब्यालेन्स प्याकेजको योजना ल्याएको छ ।

लकडाउन शुरु भएको मितिबाट ७ दिन सम्म अर्थात् सन् २०२० मार्च २४ देखि ३१ (विसं २०७६ चैत्र ११ देखि १८) सम्म कम्तिमा १ कल गरेका र मिति २०७७ वैशाख ८ गते मध्यरातमा ३३ पैसाभन्दा कम व्यालेन्स भएका मोबाइल नम्बरहरूमा उक्त प्याकेजसम्बन्धी सूचना एसएमएसबाट पठाइएको टेलिकमले जनाएको छ ।

सो एसएमएस प्राप्त भएको दुई दिनभित्र सम्बन्धित मोबाइल प्रयोगकर्ताले उक्त एसएमएसमा उल्लेख गरिएअनुसार एसएमएसबाटै जवाफ फर्काउनु पर्ने बताइएको छ । सम्बन्धित प्रयोगकर्ताले जवाफ फर्काएपछि कम्पनीले सो प्याकेज लागू गरी सोको जानकारी ग्राहकलाई पुनः एसएमएसबाट पठाउनेछ ।

मापदण्डअनुसार प्याकेज प्राप्त गर्न सक्ने प्रयोगकर्तालाई ७ दिन म्याद रहेको प्याकेज उपलब्ध गराइने कम्पनीको योजना छ । सो प्याकेजअन्तर्गत सेवाग्राहीले १०० एमबी डाटा चलाउने, ५० मिनेट भ्वाइस कल गर्ने (नेपाल टेलिकमको नेटवर्कभित्र) र २५ वटा एसएमएस पठाउने सुविधा (नेपाल टेलिकमको नेटवर्कभित्र) निःशुल्क प्राप्त गर्नेछन् ।

कम्पनीले निर्धारण गरेको मापदण्ड बाहेकका नम्बरहरूमा सो प्याकेज उपलब्ध नगराइने जनाइएको छ । साथै, परिस्थिति र आवश्यकताअनुसार आगामी दिनहरूमा पनि कम्पनीले यस्ता योजनाहरु लागू गर्न सक्ने र सोको लागि मापदण्ड तयार गरी छनौट हुने नम्बरका ग्राहकलाई एसएमएसमार्फत नै जानकारी गराइने बताइएको छ ।

यसैगरी, कम्पनीले लकडाउन शुरु भएको मितिदेखि शुन्य व्यालेन्स भएका तर आगमन कल निषेध नभएका (अर्थात २४ मार्च २०२० पछि शुन्य व्यालेन्स भई रिचार्ज नभएका) प्रिपेड ग्राहकहरूले समेत प्याकेज प्रयोग गर्न तथा आगमन कल उठाउन सक्ने बनाउनको लागि आवश्यक न्यूनतम व्यालेन्स थप्नुका साथै उक्त नम्बरहरूको म्याद समेत ३० अप्रिल २०२० सम्म बढाउने निर्णय गरेको छ ।