राजमार्गमा ‘टेक-वे’को ब्यवस्था गर्न एनआरएनए उपाध्यक्षको सुझाव

राजमार्गमा ‘टेक-वे’को ब्यवस्था गर्न एनआरएनए उपाध्यक्षको सुझाव


■ राजन घिमिरे

जन्मभूमि नेपाल होस् या कर्मभूमि अष्ट्रेलिया ! गाह्रो साह्रो र अनेक विपद् अवस्था वा परिस्थितिको साक्षी बनेका छन् मन केसी । शैक्षिक क्षेत्रमा लामो अनुभव संगालेका उनी अष्ट्रेलियाको सिड्नी रहन थालेको पनि दुई दशक पुगिसकेको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष मन केसी अष्ट्रेलियामा रहेका प्रवासी नेपालीहरूको अभिभावकको रूपमा पनि चिनिन्छन् ।

जन्मभूमि दुख्दा वा कर्मभूमि पीडित हुँदाको अवस्थासँग हातेमालो गर्दै आफ्नो उपस्थिति दर्शाइरहेका केसी आजको विषम परिस्थितिप्रति पनि उत्तिकै चिन्तित देखिन्छन् । उनको भनाइमा आजको अवस्थामा विभिन्न देशहरूमा रहेका निम्न तथा मध्यमवर्गीय परिवारका अन्तर्राष्ट्रिय विद्यार्थीहरू सबैभन्दा बढी मारमा परेका छन् । अस्थायी भिसा र भिसा नै नभएका मानिसहरू, खाडी तथा मलेसियामा न्युनदक्षता र न्युनआयमा काम गर्नेहरूका साथै ऋण गरेर महँगो भाडा तिर्दै धेरै कर्मचारी राखेर ब्यवसाय गर्ने साना तथा मझौला उद्यमी ब्यवसायीहरू पनि अहिले चपेटामा परेको तर्फ केसीले जोड दिएका छन् ।

‘नेपालभित्र र भारतमा न्युनआयमा दैनिक ज्यालादारी कामबाट जीविका चलाउनेहरूको पीडा कसले बुझ्ने ? धेरैको राहत, सान्त्वना तथा हौसला यिनीहरूमा पनि पुग्नुपऱ्यो । बिहान काम गरेर साँझ खाने एउटा वर्ग कहाँ जाने के गर्ने ?’, केसीको प्रश्न छ ।

केसीले यस्तो विपत र कारुणिक अवस्थालाई सबै मिलेर निर्मूल गर्नुपर्ने बताएका छन् । उनले खाद्यान्न तथा अन्य आवश्यक बस्तुहरूको बिक्री वितरणलाई सरकारले नै ब्यवस्थित गर्दै तीन तहकै सरकारबीच आपसी समझदारी र समन्वय हुनुपर्ने बताए । केसीले अन्तर्राष्ट्रिय अभ्यासबाट पनि नेपाल सरकारले केही सिक्नु पर्ने सुझाव दिँदै अगाडि भने- ‘राजमार्गमा रहेका होटल तथा रेष्टुरेण्टहरूमा भीड नहोस् भन्ने हेतुले त्यहाँ किनेर खानेहरूका लागि टेक वे को ब्यवस्था गर्न सकियो भने नागरिकहरूले केही राहत मिलेको अनुभूति पनि गर्न सक्दथे ।’