जापानमा हालसम्म तीन नेपाली कोरोना संक्रमित

जापानमा हालसम्म तीन नेपाली कोरोना संक्रमित


विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानको टोकियोमा अर्का एक नेपालीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनी यसअघि एक जना संक्रमित प्रमाणितले काम गर्ने रेस्टुरेन्टमा सँगै कार्यरत रहेको बुझिन आएको छ ।

पछिल्लो पटक संक्रमण पुष्टि भएका ३५ वर्ष उमेर समुहका पुरुष हुन् । यसअघि सोही रेस्टुरेन्टका अर्का पुरुषमा संक्रमण पुष्टि भएको थियो । नेपाली राजदूतावाले दिएको जानकारीअनुसार उनलाई हस्पिटल भर्ना गरि उपाचारको प्रकृया अघि बढाइएको छ ।

यो सँगै टोकियोमा २ तथा इबाराकी केनमा उक गरि, जापानमा कोरोना संक्रमित नेपालीको संख्या ३ पुगेको छ । यसमध्ये इबाराकी केनमा संक्रमित भई उपचाररत नेपाली युवती भने निको भई घर फर्किसकेकी छिन् ।

जापानभर कोरोना संक्रमण बढ्दै जाँदा नेपाली समुदायमा पनि संक्रमितहरु बढ्न थालेका छन्टो । कियो, साइतामा, चिबा, आइची तथा नागासाकीमा परिक्षण रिपोर्ट आउन बाँकी अन्य नेपालीहरु पनि रहेको बुझिएको छ ।

यसै क्रममा जापानी प्रधानमन्त्री शिन्जो आबेले कोरोना भाइरसको संक्रमण फैलिन नदिन जापानवासी सबैको थप सहयोथ आवश्यक परेको बताएका छन् । मानिस–मानिसबीचको दूरी कम गर्न घरमै बसेर सहयोग गर्नेहरुलाई आबेले धन्यवाद दिएका छन् ।

अप्रिलको अन्त्यदेखि मेको शुरुमा एकपछि अर्को गर्दै विविध सार्वजनिक बिदा पर्दछ । यस्तो बेलामा मानिसहरुको आवतजावत बढेमा कोरोना भाइरसको संक्रमण थप बढ्ने चिन्ता उनले व्यक्त गरेका छन् । सप्ताहन्तमा ठूलो संख्यामा मानिसहरु टोकियो छाडेर ग्रामीण गन्तव्यमा गएकोतर्फ इंगित गर्दै उनले टाढाको यात्रा नगर्न आग्रह गरेका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देशको राष्ट्रिय स्वास्थ्य प्रणाली तनावमय भएको र यसमाथिको भार कम गर्न र मानिसहरुको ज्यान जोगाउन सामाजिक दूरी ८० प्रतिशत कम गर्ने लक्ष्य हासिलमा मद्दत गर्न उनले सहकार्य चाहेका हुन् ।

जापानमा बुधबार (२२ अप्रिल) बिहानसम्ममा घरेलु रुपमा संक्रमित र चीनबाट चार्टर गरि ल्याइएकाहरु सहितको संख्या ११ हजार ५ सय ४३ जना पुगेको छ भने योकोहामा पोर्टमा क्वारेन्टायन गरेको डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहितको संक्रमितहरुको संख्या १२ हजार २ सय ५५ जना पुगेको छ ।

जापानमा अहिलेसम्म कोरोना भाइरसको कारणले २ सय ८३ जनाको मृत्यु पुष्टि भएको छ भने क्रुज पानीजहाजका यात्रुहरुसहित २ सय ९६ जना पुगेको छ ।