कोभिड–१९ विरुद्ध लड्न मित्रराष्ट्र भारत र नेपालबीच सहकार्य जारी छ । भारत आफै पनि कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण आन्तरिक व्यवस्थापनमा लागिरहेको छ । यसका बाबजुद बाह्य समुदायलाई सहयोगको हात बढाउन उत्तिकै सक्रिय रहेको छ ।
कोरोनाविरुद्धको सहकार्यकै क्रममा भारत सरकारका तर्फबाट नेपाललाई २३ टन अत्यावश्यक अत्यावश्यक औषधिहरू प्रदान गरिएको छ ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बुधबार (२२ अप्रिल) स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई उल्लिखित परिमाणका अत्यावश्यक औषधीहरू हस्तान्तरण गर्नुभयो ।
‘भारतका जनताका तर्फबाट नेपालका जनताका लागि उपहारस्वरुप’ हस्तान्तरण गरिएको औषधीहरूमा पारासिटामोलको ३.२ लाख डोज र हाइड्रोक्सीक्लोरोक्वीनको २.५ लाख डोेज गरीे कुल ८.२५ लाख डोज अत्यावश्यक औषधिहरू छन् । भारतद्वारा गरिएको यस सहयोगले हरेक अवस्था वा परिस्थितिमा नेपाल र भारतबीच सहकार्य जारी रहने द्विदेशीय प्रतिबद्धतालाई दर्शाएको छ ।
ज्ञातव्य छ, कोभिड–१९ को विश्वव्यापी महामारीविरुद्ध लड्न र जनतालाई सुरक्षित राख्न भारतीय नेताहरूले प्रतिबद्धता जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत चैत्र २ गते सार्क राष्ट्रका नेताहरूसँग भिडियो कन्फरेन्स गर्नुभएको थियो । सो कन्फरेन्सकै क्रममा उहाँले ‘सार्क कोभिड–१९ आपतकालीन कोष’मा १० मिलियन अमेरिकी डलर प्रदान गर्ने वाचा गर्दै सबै छिमेकी मित्रराष्ट्रलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
भारतीय तथा नेपाली स्वास्थ्यकर्मीहरू कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि आपसी सहकार्यमा प्रयत्न गरिरहेका छन् । सङ्कटको यस घडीमा नेपाल तथा अन्य दक्षिण एसियाली साझेदार मुलुकहरूसँग एक साथ तयारी गर्नुका साथै सहकदम चालेर सफलता प्राप्त गर्न भारत प्रतिबद्ध रहेको बताइएको छ ।

प्रतिक्रिया