■ अन्जन रिजाल
चीनको वुहान प्रान्तबाट महामारीको रूपमा फैलिएको जिवाणुका कारण संसारको सबै राष्ट्रलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर परिरहेको छ । विश्वका सबैजसो राष्ट्रमा लकडाउनको स्थितिमा जनजीवन दिन–प्रतिदिन कष्टकर बन्दै गएको छ । धेरैजसो कल कारखाना, उद्योग आदि ठप्प हुनुले गर्दा आर्थिक कारोबार पनि घट्दो छ ।
निकै समयसम्म लम्बिएको यो सङ्कटले गर्दा सबै राष्ट्रमा दीर्घकालीन असर पर्न सक्ने सहज नै अनुमान गर्न सकिन्छ । सबै देशमा पर्न गएको आर्थिक भार या मारका कारण विश्वभरि नै सरकारी योजनाका र निजी निर्माण क्षेत्र जुन गतिमा बढिरहेको थियो त्यसमा कमी आउने अनुमान गर्न सकिन्छ । हाम्रो देशको बजेटको कूल हिस्साको बढी प्रतिशत विदेशी रेमिटेन्समा निर्भर छ, जुन विदेशमा काम गरेर पठाएको रकमबाट उठाएको कर हो ।
अन्तर्राष्ट्रिय बजारमा घट्ने आर्थिक गतिविधिले रोजगारमा पनि असर पार्ने गर्छ, जसका कारण विदेशिएका नागरिक फर्किनेको संख्या तुलनात्मक रुपमा बढ्ने छ । विदेशबाट फर्किएका जनशक्तिको सदुपयोग र देशलाइ परेको आर्थिक चापबाट तङ्ग्रिनु निकै ठुलो चुनौती हो । फर्किएको युवा जनशक्तिकै सदुपयोग गरी रोजगारी सिर्जना गरेर आर्थिक विकास गर्नु नै दुवै समस्याको समाधान हो ।
विदेशबाट फर्किएका जनशक्तिको सदुपयोग र देशलाइ परेको आर्थिक चापबाट तङ्ग्रिनु निकै ठुलो चुनौती हो । फर्किएको युवा जनशक्तिकै सदुपयोग गरी रोजगारी सिर्जना गरेर आर्थिक विकास गर्नु नै दुवै समस्याको समाधान हो ।
नेपाल कृषिप्रधान देश हो, जसमा लगभग ६५ प्रतिशत जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कृषि कर्ममा निर्भर भए पनि उत्पादनका हिसाबले अतिरिक्त क्षमता भन्दा निकै कम उत्पादन भैराखेको छ । कृषिप्रधान देश भए पनि देशको कुल आयातको ठुलो हिस्सा खाद्यान्नले ओगटेको छ । कृषिमा आत्मनिर्भर हुने ठुलो सम्भावना बोके तापनि उत्पादकत्वमा खासै वृद्धि आएको देखिँदैन जसको कारण जनशक्तिको अभाव, परम्परागत कृषि प्रणाली, सिंचाइँको अभाव आदि हुन सक्छन् । नेपालको अधिकांश भूभाग कृषियोग्य भएका कारणले कृषि नै आर्थिक समृद्धिको लागि उत्तम उपाय हो ।
विदेशबाट फर्किएको युवा जनशक्तिलाई कृषितिर प्रेरित गर्नुको विकल्प छैन । नयाँ नीति कार्यक्रमका साथ कृषिलाई वैज्ञानिक ढंगबाट अघि बढाउन र यसको आधुनिकीकरण गर्नुपर्ने देखिन्छ जसमा नयाँ युवा जनशक्तिको ठूलो भूमिका हुन सक्छ । ब्यवसायिक कृषिले मात्र देशको ठुला दुई समस्या बेरोजगारी र आर्थिक भार कम गर्ने एक उत्कृष्ट उपाय हो ।
कृषि गर्न इच्छुक युवाको समूह बनाई उनीहरूलाई तालिम दिएर कृषि प्राविधिकको रोहबरमा अत्याधुनिक कृषि उपकर उपलब्ध गराए उत्पादकत्वमा वृद्धि ल्याउन सकिने छ । यसैका साथ कृषिको दायरा बढाएर लार्ज स्केलमा लैजान ‘सहकारी’ मोडेलमा जान सकिन्छ । यसो गरेमा मात्र हामीले व्यापार घाटा घटाएर निर्याततिर अघि बढ्न सक्छौँ । कृषि–क्रान्ति नै अबको नेपालको मुख्य लक्ष्य हुनु पर्दछ, अनि मात्र देशको आर्थिक तथा सामाजिक उन्नतिको कामना गर्न सकिन्छ ।
– अन्जन रिजाल, हिकास्ट, 9th sem (Bvsc&A.H)
प्रतिक्रिया