गुणस्तरीय ‘एरोसोल बक्स’ काठमाडौंमै

गुणस्तरीय ‘एरोसोल बक्स’ काठमाडौंमै


कोरोना भाइरस (कोभिड–१९) को महामारीसँगै त्यसको उपचारमा संलग्न डाक्टर एवम् नर्सहरूका लागि आवश्यक सुरक्षा सामग्रीको यतिबेला सबैतिर अभाव भइरहेको छ । चिकित्सकीय सुरक्षा सामग्रीहरूको अभावका कारण सङ्क्रमित बनेर इटालीलगायतका कैयन मुलुकमा दर्जनौँ चिकित्साकर्मीहरूले ज्यानसमेत गुमाउनुपरेको समाचार सार्वजनिक भइरहेका छन् ।

स्वास्थ्यकर्मीको सुरक्षाका लागि अत्यावश्यक सामग्रीमा पीपिई, मास्क र पञ्जाको मात्रै चर्चा हुने गरेको छ । तर, कारोनाको उपचारका लागि अति उपयोगी सामग्रीचाहिँ ‘एरोसोल बक्स’ पनि एक हो, जसले चिकित्सकलाई संक्रमित व्यक्तिको सम्पर्कबाट जोगाउँछ । यस्तो महत्वपूर्ण सामग्री अब नेपालमा समेत उत्पादन गर्न थालिएको छ ।

ताइवानी डाक्टर हिङसिङ युङले कोरोना उपचारमा एरोसोल बक्सको अवधारणा ल्याएका थिए । सोही अवधारणाअनुरुप ताइवान, फिलिपिन्सलगायत विश्वका धेरै देशमा कोरोनाको उपचारमा एरोसोल बक्सको प्रयोग भइरहेको छ । युरोपमा पनि कोरोना भाइरस संक्रमितको उपचार गर्दा एरोसोल बक्सको प्रयोग गर्ने गरिएको छ । नेपालमा समेत स्थानीय स्तरमा एरोसोल बक्स लगायतका सामग्री बनाउन थालिएको छ । महावीर पुनको समूहले त्यस्ता सामग्रीको उत्पादन गरेको भए पनि त्यसले थेग्ने अवस्था छैन । यस यथार्थलाई महसुस गरी काठमाडौंमै अन्य समूहहरुले पनि कोरोना उपचारमा आवश्यक सामग्री निर्माण शुरु गरेका छन् ।

डिभाइन प्याकेजिड टेकु र प्रिमियर प्रिन्ट कम्पनीले संयुक्त रुपमा केही समययता एरोसोल बक्सको उत्पादन गरिरहेका छन् । यो समूहले काठमाडौंका १० वटा अस्पताल र उपत्यकाबाहिर पोखराको गण्डकी मेडिकल कलेजमा एरोसोल बक्स उपलब्ध गराइसकेको छ । कोरोना मात्रै नभई जुनसुकै भाइरल इन्फेक्टेड बिरामीको उपचारमा उपयोगी हुने एरोसोल बक्स काठमाडौंका गंगालाल, उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल, शिक्षण अस्पताल, ग्राण्डी अस्पताल, ब्लुक्रस, मध्यपुर ठिमी हस्पिटल, वयोधा अस्पताल, भक्तपुर क्यान्सर अस्पताललाई उपलब्ध गराएको डिभाइन डाइका प्रोपराइटर विक्रम शाक्यले बताए । एक स्थानीय डाक्टरको मागमा प्रिमियर प्रिन्टका कबीर जोशी र राजेश शाक्यसँग मिलेर आफूहरुले अन्तर्राष्ट्रिय डिजाइन र मापदण्डअनुरुपको एरोसोल बक्स बनाइरहेको शाक्यको भनाइ छ ।

यस बक्सको प्रयोग गरिरहेका शिक्षण अस्पतालका डाक्टर प्रमेशले बक्सको प्रयोगले उपचारमा धेरै सहज भएको प्रतिक्रिया दिए । यस्तै, गण्डकी अस्पतालका डाक्टर तुमाया घलेले पनि एरोसोल बक्स आपूmले तयारी अवस्थामा राखेको र यसबाट उपचारमा सहज हुने बताएकी छन् । डा. घलेका अनुसार एरोसोल बक्स कोराना मात्र नभई अन्य सरुवा रोगको उपचारमा पनि उपयोगी हुन्छ ।

यो समूहले बिहीबार शुक्रराज सरुवा रोग उपचार अस्पताल टेकुलाई एउटा एरोसोल बक्स उपलब्ध गराएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष विकास डंगोलको रोहबरमा अस्पतालका डाक्टर अनुप बास्तोलालाई बक्स हस्तान्तरण गरिएको हो ।

डा. बास्तोलाले पनि बक्स अन्तर्राष्ट्रिय डिजाइन र गुणस्तरअनुरुपको रहेको बताए । प्रिमियर प्रिन्टका सञ्चालक कबीर जोशीले आफ्नो ज्यानको माया नगरी कोरानासँग फ्रन्ट लाइनमा लडिरहेका डाक्टर र स्वास्थ्यकर्मीहरूको सुरक्षालाई ध्यानमा राख्दै आफूहरुले एरोसोल बनाउन पहल गरेको र त्यसमा सफल भएको प्रतिक्रिया दिएका छन् । यसबाट महामारी विरुद्धको लडाईमा सानै भए पनि योगदान गर्न पाउँदा खुशी लागेको जोशीको भनाइ छ ।