सांसद् राजधानी भित्र्याउन ‘अपहरण शैली’ अपनाउने पूर्वआईजीमाथि होला त कारवाही ?

सांसद् राजधानी भित्र्याउन ‘अपहरण शैली’ अपनाउने पूर्वआईजीमाथि होला त कारवाही ?


■ सनत आचार्य

नेपाल प्रहरीका पूर्व आइजी सर्वेन्द्र खनाल यतिबेला सत्तारुढ दलका नेताहरूसँग मिलेर सांसद्लाई ‘अपहरण शैली’मा तराईबाट राजधानी भित्र्याउने प्रकरणमा जोडिएर विवादमा तानिएका छन् । समाजवादी पार्टीका सांसद एवम् पूर्व राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई उनको पार्टी विभाजन गराउने नियत राखी महोत्तरीबाट अपहरण शैलीमा राजधानी ल्याएका कारण उनी चर्चामा आउनुका साथै अत्यन्त अप्ठ्यारोमा समेत परेका छन् ।

अवकासपछिको करिव तीन महिना एक प्रकारले गुमनाम जस्तै भएका खनाल गत मंगलवबार (९ वैशाख) नेकपा (भक्तपुर)का सांसद महेश बस्नेत र तनहुँका सांसद किसान (कृष्णबहादुर) श्रेष्ठसँगै यादवलाई लिन महोत्तरी किन र कसरी गए ? यो सबैका लागि चासोको विषय बनेको छ । कतिपयले यसलाई खनालको ‘असली रूप’ (अवसरवादी प्रवृत्ति) को खुलासा भनेका छन् भने कतिपयले उच्च स्तरको कुनै सरकारी ओहदा हासिल गर्न खेलिएको फोहरी खेल समेत भनेका छन् ।

घटना के थियो ?

सरकारले गत वैशाख ८ गते राजनीतिक दलसम्बन्धी अध्यादेश (दोश्रो संशोधन) २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश (पहिलो संशोधन) २०७७ जारी गऱ्यो । अध्यादेश जारी भएसँगै सरकारको सक्रियतामा समाजवादी पार्टी विभाजनका लागि आन्तरिक प्रयासहरू भए । पार्टी टुक्र्याउन सांसद् संख्या नपुगेपछि ‘डन’ छविका सांसद् महेश बस्नेत, किशान श्रेष्ठ र पूर्वआइजिपी सर्वेन्द्र खनाल समाजवादी पार्टीका केही सांसदहरूलाई कन्भिन्स गर्न भनी योजनाअनुसार तराई झरे ।

घटनाको विवरणअनुसार वैशाख ९ मा महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले बर्दिवासको गौतम होटलमा ६ वटा कोठा बुक गर्न आदेश दिए । होटल मालिकले कोठाहरू तैयारी हालतमा राखे । मध्यरातमा दुई वटा गाडी उक्त होटलमा पुग्यो । सबैले खानपिन गरे र सुते ।

अर्को दिन बिहान करिव ७ बजे सबैले नास्ता गरे । खनालले सांसद् यादवलाई आफू घर आउन लागेको जानकारी गराए । पहिले त यादवले छल्नका लागि आफू जनकपुर रहेको बताए । पछि फेरि सोचविचार गरेर उनले आफू घरमै रहे पनि तुरुन्त जनकपुर प्रस्थान गर्न लागेको बताए । त्यति भन्दै गर्दा सांसाद बस्नेतसहितको टोली उनको महोत्तरीको घरमा पुगिसकेको थियो । सांसद यादव कहाँ छन् भन्ने कुरा खनालको टोलीले प्रहरीबाट जानकारी लिइसकेको थियो ।

सांसद यादवले यस्ता पाहुनाहरू आउने पहिले नै थाहा पाएको भए घरमा मिठो–मसिनो बनाएर राख्ने/खुवाउने औपचारिकताका कुरा सुनाए । तर खनालको टोलीले बारामा केही साथीहरूले पर्खिराखेको भन्दै खाना उतै खाने बतायो । यादवले जनकपुरमा आफ्नो काम भएको र जनकपुर पुग्नैपर्ने जिकिर गरेपछि सबै जना जनकपुर जाने र बारामा खाना खाने योजना बनाइयो ।

खनाल पुरानो चिनजानको मित्र भएता पनि यादवलाई उनीहरूको आगमन, बोली र व्यवहारका कारण मनमा चिसो पसिसकेको थियो । यादवले केही खानका लागि बन्दोबस्त गर्न तल जाने भनेर तल ओर्लिए र तत्काल मोवाइलको सिम परिवर्तन गरे । तलबाट डा. बाबुराम भट्टराईलाई फोन गरे । सायद नयाँ नम्बर भएर होला फोन उठेन, एसएमएस गरे । तत्कालै भट्टराईले फोन गरे र दुबैको गोप्य तरिकाले सम्वाद भयो । खनाल, बस्नेत र श्रेष्ठ घरमै आएको र उनीहरूको व्यवहार शंकास्पद भएको, आफुलाई जे पनि हुन सक्छ भन्ने आशंका लागेको यादवले भट्टराईलाई बताए ।

त्यसपछि सबै तैयारी भयो । खनालको समुहले सांसद यादवलाई जबर्जस्ती आफ्नो गाडीमा राख्यो । यादवले आफ्नो अंगरक्षक र चालकलाई गाडी लिएर आउन भने ।

त्यसपछि खनालको त्यो समुह जनकपुर पुग्यो । जनकपुरको बसाईको क्रममा केही मानिसहरूसँग भेटघाट गऱ्यो । साँझ ६ बजे तीनवटा गाडीसहित उनीहरू पुनः गौतम होटलमा फर्किए । करिव २ घण्टा होटलमा बसेर लामो छलफल भयो । अनि राति करिव ८ बजे चेकआउट गरी उनीहरू सिन्धुलीको बाटो हुँदै राजधानीतर्फ हानिए । सिन्धुलीमा हल्का रोटी–तरकारी नास्ता गरेर सबै पुनः हिँडे । खानाको बन्दोबस्त काभ्रेमा रहेछ । बाटोमा एउटा गाडी बिग्रिएको कारण उनीहरू राति २ बजे काभ्रेमा खाना खाएर ३ बजे मेरियट होटल, नक्साल पुगे । यो बीचमा सांसद बस्नेतको समाजवादी पार्टीका धेरैजसो सांसदहरूसँग सम्पर्क भइसकेको रहेछ ।

सांसद यादवलगायतका अन्य सांसदहरूको सुरक्षाको सम्पूर्ण सुरक्षाको जिम्मेवारी खनालले लिनु आश्चर्यको विषय हो ।

खनाल आईजीबाट अवकास हुनुपूर्व नै प्रधानमन्त्रीलगायत वर्तमान सरकारका हर्ताकर्ता तथा सत्ता–शक्तिको नजिक हुन चाहन्थे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नजिक पुग्न अनेक सुत्र प्रयोग गर्न खोजेका थिए, तर त्यतिबेला त्यो सफलता उनलाई प्राप्त भएन । झन् अवकासपश्चात त यो विषय झनै जटिल बनेको थियो । तर, जिल्लावासीको हैसियतले खनालको सम्बन्ध किसान श्रेष्ठसँग रहेको र पछिल्लो चरणमा सोही सम्बन्धलाई आधार बनाएर प्रधानमन्त्रीको पहुँचसम्म उनी पुगेको चर्चा खास तप्कामा चल्ने गरेको थियो ।

किसान र खनालको सम्बन्ध

किसान श्रेष्ठको वास्तविक नाम कृष्णबहादुर श्रेष्ठ हो । उनी तनहुँका स्थायी बासिन्दा हुन् । किसान, तत्कालिन पञ्चायती समयमा दरबारनिकट रहेका क्षेत्रप्रताप अधिकारीमार्फत पञ्चायतनजिक पुगे । उनलाई जिल्लाको खेलकुद लगायतका संघसंस्था प्रवेश गराइयो । उनले प्रशासनको नजिक हुने र पञ्चायती व्यवस्थाका लागि काम गर्ने एउटा युवा सिपाहीका रुपमा जिल्लामा स्थापित हुने अवसर पाए । सोही क्रममा केही समयको लागि बेलायत जाने अवसर पनि उनले पाए । बेलायत बसाइको क्रममा उनले क्रेडिट कार्डमार्फत लाखौँ रुपियाँ ठगी गरी नेपाल फर्किए । लगत्तैै ०४६ सालको परिवर्तन भयो र उनी गोविन्दराज जोशीमार्फत नेपाली काङ्ग्रेसमा प्रवेश गरे । सोही समयमा उनले व्यवसायिक जीवनको सुरुवात गरे । अवसरवादी प्रवृत्तिका भएकोले उनी काङ्ग्रेसमा पनि लामो समय टिक्न सकेनन् र नेकपा एमालेमा प्रवेश गरे । त्यससँगै उनले घरजग्गाको कारोबार गर्न थाले ।

यसरी घरजग्गाको कारोबारबाट नै उनले करोडौँ आर्जन गरेका उनलाई चिन्नेहरू बताउँछन् । घरजग्गाबाट मनग्य आम्दानी गरेपछि उनले सिमरामा फोम (मेट्रस) उद्योगलगायत अस्पतालमा समेल लगानी गरेका छन् । वसुन्धरास्थित इसान हस्पिटल उनकै लगानीमा स्थापना भएको हो । यसरी एक सफल व्यवसायीको रुपमा स्थापित भइसकेपछि उनी अहिले प्रधानमन्त्री केपी ओलीका समेत विश्वासपात्रको रुपमा रहेका छन् ।

सर्वेन्द्र खनालको जन्म थलो पनि तनहुँ हो । पछिल्लो करिव १० वर्षयता जिल्लावासीको हैसियतले खनाल र श्रेष्ठको उठबस बाक्लो छ । उनीहरू एकअर्कामा निकै विश्वास गर्दछन् । र, यिनै श्रेष्ठमार्फत खनालले जग्गा कारोबारमा समेत लगानी गरेका घरजग्गा व्यवसायी बताउँछन् । खनाल हाल श्रेष्ठको अदृष्य लगानीकर्ता समेत रहेको बताइन्छ ।

पछिल्लो समयमा खनाल, यिनै श्रेष्ठमार्फत बालुवाटार प्रवेशका लागि वातावरण बनाउँदै गरेको बताइन्छ ।

प्रहरी संगठनको बदनामी

पूर्व आइजिपी खनाल नेपाल प्रहरीमा प्रवेशसँगै कुशल र अनुशासित सिपाहिको रुपमा चिनिन्थे । उनकै कारण नेपाल प्रहरीको गुम्न लागेको साख कतिपय अवस्थामा पुनःस्थापित भएका घटनाहरू पनि छन् ।

खनाल संगठनमा रहँदा म्याच फिक्सिङ, कन्सलटेन्सीमा छापा, पेट्रोल पम्पमा छापा, हुण्डी कारोबारीहरूलाई धरपकड लगायत अनेक ‘लोकप्रिय’ काम गरेर प्रशंसा कमाए । यस्तो छवि भएका व्यक्तिले अवकासपछिको जीवनमा राजनीतिक दल फुटाउन सांसद्लाई अपहरण शैलीमा काठमाडौं ल्याउन सहयोगीको मुख्य भूमिका निर्वाह गरे भनी सुनिनु नै घोर आश्चर्य र सबैका लागि लज्जाको विषय हो । उनको यस हर्कतका कारण आजसम्म आर्जन गरेको प्रतिष्ठा रसातलमा डुबेको छ भन्दा अन्यथा हुँदैन । प्रहरी संगठनभित्र र बाहिर कमाएको सामाजिक सम्पत्ति गुमेको छ उनको । उनले गरेको यस अनैतिक र कुकर्मका कारण प्रहरी संगठनको शीर एकपटक पुनः निहुरिएको अनुभूति गरिएको छ ।

खनालले आफ्नो जागिरको दौरानमा दर्जनौ यस्तै प्रकृतिका घटनाको अनुसन्धान नगरे पनि होइनन् । कतिपय यस्ता कार्यमा संलग्नलाई कारावास पनि पठाए होलान् । पिडितलाई न्याय पनि दिलाएका होलान् । तर प्रहरी संगठनको नेतृत्व सम्हालेर भर्खरै सेवा निवृत्त भएका व्यक्तिले किन यस्तो काममा हात हाले यो आश्चर्यको कुरा छ ।

खनाल सुझबुझ भएका चलाख व्यक्तिका रुपमा पनि चिनिन्छन् । सांसद यादवलाई काठमाडौंसम्म ल्याउन बस्नेत र श्रेष्ठ नै काफी भएकोमा खनाल स्वयम् किन यस घटनामा संलग्न भए र उनले नेपाल प्रहरीको अन्य संयन्त्रलाई प्रयोग गर्न किन चाहेनन् भन्ने गम्भीर चासोको विषय छ ।

लामो समयदेखि चिनजानको आधारमा मात्रै सांसद यादवलाई ‘अपहरण’ गरेका हुन् भन्न सकिँदैन । उनलाई यो काम गर्न प्रेरित गर्ने एक मात्र कारण भनेको वर्तमान सरकारसँग नजिक भएर लाभको पद लिने मनसाय नै हो भन्न सकिन्छ । तसर्थ उनको यो दुष्कर्मको पछाडि काम गर्ने आफ्नो स्मार्ट ‘शैली’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदर्शन गर्ने र उनको नजिक भई लाभको पद लिने भन्ने नै देखिन्छ । यसर्थ प्रधानमन्त्री ओलीलाई खुशी तुल्याएर साखुल्ले बन्न उनी यस्तो कार्यमा आफै सरिक भएका हुन सक्ने अनुमान गरिएको छ ।

तर व्यक्तिगतका लाभका लागि पूर्व राज्यमन्त्रीसमेत रहेका बहालवाला सांसदलाई अपहरण शैलीमा घरबाट उठाउनु वा त्यस कार्यमा सहयोग गर्नु दुबै कानुनको बर्खिलाप हो भन्ने हेक्का आइजी ओहदा सम्हालिसकेका व्यक्तिले राख्न सक्नुपर्थ्यो, जसमा उनी नराम्रोसँग चुकेका छन् ।

अपहरण केस चल्न सक्ने

यदि खनाल सर्वसाधारण व्यक्तिको रुपमा यो कार्यमा संलग्न भए पनि यो तुच्छ तहको अपराधजन्य कार्य हो भन्नेमा कुनै दुविधा छैन । मुलुकी अपराधसंहिताको अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरको दफा २११ मा भनिएको छ– ‘कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई, छलकपट गरी वा डरत्रासमा पारी, जोरजुलुम गरी, हातहतियार देखाई वा नदेखाई वा झुक्यानमा पारी वा नशालु पदार्थ वा मादक पदार्थ सेवन गराई वा कुनै व्यक्ति यात्रा गरिरहेको सवारीसाधन कुनै किसिमले कब्जामा वा नियन्त्रणमा लिई वा त्यसउपर कुनै किसिमले नियन्त्रण गरी निजलाई कुनै ठाउँमा लगेमा वा जान बाध्य गराएमा अपहरण मानिने छ ।’ सांसद यादवलाई धम्क्याएर नभए पनि छलकपट गरेर ल्याएको हुनाले खनालमाथि अपहरण मुद्धा आकर्षित हुने देखिन्छ । अब उनमाथि राज्यका निकायले कसरी कारवाही अघि बढाउने हुन्, अत्यन्त चासो र प्रतीक्षाको विषय बनेको छ ।