धादिङमा अत्यावश्यक वस्तुका पसल पाँच घण्टा खुल्ने

धादिङमा अत्यावश्यक वस्तुका पसल पाँच घण्टा खुल्ने


विकास रौनियार, धादिङ

धादिङमा अत्यावश्यक वस्तुको पसलहरु खुल्ने भएका छन् । धादिङ उद्योग बाणिज्य सङ्घका अध्यक्ष रुद्रबहादुर खत्रीको अध्यक्षतामा शनिबार बसेको सिएमसी बैठकले अत्यावश्यक वस्तुको बिक्री वितरण गर्ने पसलहरु खुलाउने निर्णय गरेको हो । जिल्लामा वैशाख ४ गते देखि खाद्यान्न, तरकारी, फलफुललगायत अत्यावश्यक वस्तुको बिक्री वितरण गर्ने पसलहरु पूर्ण रुपमा बन्द रहेका थिए ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट बच्न सरकारले लकडाउनको समय थप्दै गएकाले आम उपभोक्ताहरुलाई अत्यावश्यक सामाग्रीहरु सहज रुपमा आपुर्तीको लागि जिल्लाभरका अत्यावश्यक सामागीे बिक्री गर्ने ग्यास, औषधी, तरकारी, फलफुल, दाना, खाद्यान्न लगायतका पसलहरु व्यक्तिगत सुरक्षाका सम्पुर्ण उपायहरु गरी बिहान ११ देखि दिनको ४ बजेसम्म सञ्चालन गर्न व्यवसायीहरुलाई अनुरोध गर्ने निर्णय गरिएको धादिङ उद्योग बाणिज्य सङ्घका अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए ।

बैठकले अत्यावश्यक सेवाअन्तर्गत पर्ने बैंकिङ, वीमालगायत सेवाहरु सामाजिक दूरी कायम गरी सुरक्षाका उपायहरु अवलम्बन गरी सञ्चालन गर्ने समेत निर्णय गरेको छ । यस्तै, जिल्लामा कोभिड–१९ को संक्रमण फैलिन नदिन बाहिरी जिल्लाबाट खाद्यान्न सामग्री, हरियो तरकारी तथा फलफुल ल्याउन वैशाख १५ गतेसम्मका लागि पूर्ण प्रतिबन्ध लगाइएको र जिल्लामै उत्पादन भएकोलाई प्राथामिकता दिने बैठकले निर्णय गरेको छ ।

अत्यावश्यक सेवाभित्र पर्ने खाद्यान्न र तरकारी तथा फलफुल पसलहरु समेत धादिङ उद्योग वाणिज्य संघको संयोजन रहेको १४ वटा संस्थाहरु सम्मिलित सिएमसीले वैशाख ४ गतेदेखि हालसम्म बाहिरी जिल्लाबाट खाद्यान्न सामग्री, हरियो तरकारी तथा फलफुल ल्याउन प्रतिबन्ध लगाउनुका साथै जिल्लामा रहेका पसलहरु, बैंक तथा वित्तिय संस्थाहरु, इन्सुरेन्स कम्पनीहरु र यातयात पूर्ण रुपले बन्द गरेको थियो ।