अर्जुनराज पन्त

दङ्गै भैयो मख्खै भैयो देख्दा भाँडाभरि
रैछ आखिर मिस्सिएको कोदोसङ्गै तोरी !
उस्तै-उत्रै भए पनि आखिर हुन् नि भिन्न
एकै ठाँउमा मिस्सिएसी गाह्रो हुने चिन्न ।
नराम्ररी मिस्सिएछ न सकिन्छ चाल्न
न सकिन्छ बेग्लै पारि निफनेर फाल्न ।
झुक्किएर मिस्सियो कि हो यो जानाजानी
तोरीमाथि पोख्खियो कि हुँदा तानातानी
खोजे कि खै रित्तो भाँडो जसरी नि भर्न
त्यही भएर तम्सिए कि जसो पनि गर्न ?
कुन अर्थले कुन स्वार्थले मोले होलान् किन ?
कस्का आँखा छारो हाली कुनचाँहि फाइदा लिन
पिस्ने हो कि पेल्ने यस्लाइ गर्ने कसो अब ?
फालौँ पनि कसोगरि भा को खेति सब
ढुङ्गे कोलले नसकेर यस्तो मिश्रण झेल्न
देशी कोलमा हाल्दा पनि सकिएन पेल्न
ल्याच्च पर्यो तोरीजति, कोदो पर्यो पिठो
खसेन नि तेलको धारो झर्यो मात्र लिटो
पिना पनि आउँदो रैन्छ तेलको केको आश ?
कोदो – तोरी कुरै छाड्दिउँ मिलकै सत्यानास
न त झर्यो तेलको थोपो न त झर्यो पिना
के बनाउन मोले होलान् यस्तो अर्थबिना !?
नआए नि तेलको थोपो मनखत लाउनी फाल्न
बन्छ कि त पिठो भन्दै लग्दा ओइरो हाल्न
ब्यर्थैका ती पाप्रा झरे केको पिठो आउनु ?
पेल्दा पिस्दा आएन केही अब कता धाउनु ?
भित्र सबै टाँस्सिएर घुम्नै छाड्यो जाँतो
ठोक्दाठोक्दै फुट्यो बरु जाँतो पेल्नि हाँतो
न त पिठो न त तेल आश भएन अरु
रक्सीसम्म बन्थ्यो कि खै मर्चा मोले बरु
प्रतिक्रिया