२०४६ सालको क्रान्तिपछि, जब नेपाली कांग्रेसले शासकीय नेतृत्वको बागडोर सम्हाल्न थाल्यो, तबदेखि कांग्रेसको खुट्टा लर्बरायो । आफ्नो सिद्धान्त, आस्था र विचारबाट कांग्रेस क्रमशः स्खलित हुन थाल्यो । यो चार दशकमा कांग्रेसको गुदी स्खलित मात्र भएन, सम्पूर्णमा नष्ट समेत भइसकेको छ । सत्ता प्राप्तिपछि भ्रष्टता रोजेर कांग्रेसले बीपीलाई रेटी-रेटी मारेको छ ।
✍ राजेश ढुङ्गाना
नेपाली कांग्रेसले यसपटक पनि विश्वेश्वरप्रसाद (बीपी) कोइराला स्मृति दिवस मनायो । तर, स्वयम् उसैका लागि (देशका लागि थाहा छैन) दुर्भाग्य वा विडम्बना जे भनौं – उसले साउन ६ गते यो दिवस दुई ठाउँमा दुई गुटका तर्फबाट मनायो । त्यही दिन फरक-फरक स्थानमा वर्तमान संस्थापन पक्ष र पूर्वसंस्थापन पक्षले मनाएको यो स्मृति दिवसले कांग्रेसमा भइरहेको कटुतालाई थप सतहमा ल्याइदिएको छ ।
नेपाली क्रान्तिका प्रथम नायक बीपी कोइराला मुलुकका प्रथम जननिर्वाचित प्रधानमन्त्री पनि हुनुहुन्छ । उहाँले २००७ सालअघि नेपाली कांग्रेसको स्थापना गरेर चरम प्रतिकूल परिस्थितिमा पनि एकतन्त्रीय राणा शासनका विरुद्ध जुन बलिदानीपूर्ण संघर्ष गर्नुभएको छ – त्यसलाई बिर्सने वा रत्तिभर कम आँक्ने कृतघ्नता नेपालीहरूले गरे भने त्यसले नेपालको क्रान्ति कथा सम्पूर्णमा अधुरै रहन्छ ।
त्यसैगरी, २०१७ सालमा राजा महेन्द्रले हठात् कपटपूर्ण ढङ्गले निर्ममतापूर्वक सैनिकको बलमा कलिलो प्रजातन्त्रको अपहरण गरे । प्रथम र अत्यन्त लोकप्रिय जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला प्रधानमन्त्रीबाट आठ-आठ वर्षसम्म जेलको बन्दी बनाइनुभयो । देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय राजनीतिमा समेत ख्यातिप्राप्त कोइरालालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाबपछि राजाले आठ वर्षपछि बाध्यतावश जेलमुक्त गर्नु पऱ्यो ।
त्यसपछि पनि बीपी राजा महेन्द्र र उनको तानाशाही विरुद्ध चूप लागेर बस्नु भएन । उहाँले त्यसपछि आठ वर्ष भारत प्रवासमा रहेर क्रान्तिलाई निरन्तरता दिनुभयो । यदि उहाँ स्वयम्ले क्रान्तिलाई ’०७ साल अघिदेखि जीवनपर्यन्त निरन्तरता नदिनु भएको भए शायदै नेपाली जनताले प्रजातन्त्र देख्न र भोग्न पाउने थिए ।
आठ-आठ वर्ष अर्थात् २०२५ सालदेखिको स्वनिर्वासनलाई त्याग्दै जननायक बीपी २०३३ सालमा अकस्मात तर इमान, निष्ठा र समर्पणका साथ राष्ट्रिय एकता र मेलमिलापको नीति प्रतिपादन गरेर स्वदेश फर्कनुभयो । यो पनि उहाँको क्रान्ति-यात्राकै अर्को आयाम र रूप थियो । त्यतिबेला स्वदेश फर्कनु मृत्युवरण गर्नु सरह थियो । किनकि, राजाले लगभग दर्जन जाली मुद्दा लगाएर उहाँको घाँटीमा फाँसी झुण्ड्याएका थिए ।
अहिलेको बीपी स्मृति दिवस दुई फ्याकमा मनाइनुले पनि कांग्रेस आफ्नो सिद्धान्त र आदर्शबाट पूर्णतः विचलित भएर फेरि पनि सत्तामुखी राजनीतिमै केन्द्रित रहेको पुष्टि हुन्छ । जसले लोकनायक बीपीलाई न्याय गर्न नसक्ने मात्र होइन, मुलुकको हित त झन् रत्तिभर गर्न सक्दैन ।
राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय शुभचिन्तकहरूको मात्र होइन, स्वयं आफ्नै कार्यकर्ताहरूको समेत त्यस्तोे जोखिम नमोल्ने सल्लाहका बाबजुद बीपीले त्यसलाई नमानेर नेपाल आउनुभयो । प्रजातन्त्र र राष्ट्रियता अन्योन्याश्रित विषय हुन् र राष्ट्रियतामाथि मडारिएको कालो बादलविरुद्ध नेपाल आउने उहाँको त्यो जोखिमपूर्ण निर्णयले उहाँलाई विश्वस्तरकै चरम राष्ट्रवादी नायकका रूपमा पनि चिनायो; प्रजातन्त्रको नायक मात्र होइन ।
बीपीको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई कतिपयले, विशेषगरी प्रजातान्त्रिक आन्दोलनमा माखो समेत नमार्ने कम्युनिस्टहरूले, राजासँगको आत्मसमर्पण भने । तर, त्यो नीतिले प्रजातन्त्र र राष्ट्रिय एकतालाई क्रमशः तर द्रूततर गतिमा दिएको फड्कोले त्यो आरोपलाई उहिल्यै प्रामाणिक रुपमा खारेज गरिसकेको छ । राष्ट्रिय एकता र मेलमिलापको नीतिले प्रजातान्त्रिक आन्दोलनलाई नयाँ र सार्थक खाले अभिव्यक्ति मात्र दिएन, सम्पूर्ण राष्ट्रिय शक्तिको एकतालाई मजबुत समेत बनायो । ’०७ साल अघिदेखिकै महान् स्वप्नदर्शी दार्शनिक नेता विश्वेश्वरप्रसाद कोइरालाले देख्नुभएको यो सपनाले अन्ततः राजालाई समेत ठेगान लगायो र राष्ट्रियतामाथि आएको चुनौतीलाई पनि दूर गऱ्यो – एकैपटक, एकै साथमा ।
तथापि, २०४६ सालको क्रान्तिपछि, जब नेपाली कांग्रेसले शासकीय नेतृत्वको बागडोर सम्हाल्न थाल्यो, तबदेखि कांग्रेसको खुट्टा लर्बरायो । आफ्नो सिद्धान्त, आस्था र विचारबाट कांग्रेस क्रमशः स्खलित हुन थाल्यो । यो चार दशकमा कांग्रेसको गुदी स्खलित मात्र भएन, सम्पूर्णमा नष्ट समेत भइसकेको छ । सत्ता प्राप्तिपछि भ्रष्टता रोजेर कांग्रेसले बीपीलाई रेटी-रेटी मारेको छ । सत्ता उन्मादमा कांग्रेसले बीपीलाई चटक्कै बिर्सिएर क्षमासमेत नपाउने अपराध गऱ्यो । जो उन्माद अझैसम्म जीवितै छ । त्यसैको परिणाम कांग्रेसले साढे तीन दशकदेखि भोगिरहेको छ । अझै कति वर्ष भोग्नुपर्ने हो ? कि यो अवस्थाबाट कांग्रेस कहिले मुक्त नहुने व्यूहमा फसिसकेको छ ? – प्रश्नहरू गम्भीर र जटिल छन् ।
अहिलेको बीपी स्मृति दिवस दुई फ्याकमा मनाइनुले पनि कांग्रेस आफ्नो सिद्धान्त र आदर्शबाट पूर्णतः विचलित भएर फेरि पनि सत्तामुखी राजनीतिमै केन्द्रित रहेको पुष्टि हुन्छ । जसले लोकनायक बीपीलाई न्याय गर्न नसक्ने मात्र होइन, मुलुकको हित त झन् रत्तिभर गर्न सक्दैन ।
प्रतिक्रिया