सोलुखुम्बुको पाङ्बोचेमा जन्मिनुभएका ४९ वर्षीय पासाङ दावा शेर्पाले हालसम्म ३१ पटक सगरमाथा आरोहण गरिसक्नुभएको छ । कामीरिता शेर्पापछि सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्तिका रूपमा उहाँ चिनिनुहुन्छ । पादावा शेर्पाको नामले समेत परिचित उहाँले सगरमाथासहित चोयू, ल्होत्से र मनास्लु गरी आठ हजार मिटरभन्दा अग्लो हिमालमा ४३ पटक पाइला राखिसक्नुभएको छ । सन् १९९८ मा पहिलो पटक सगरमाथा आरोहण गर्दा चर्चित बेलायती ‘एडभेन्चरर’ एडवार्ड माइकल ‘बियर’ ग्रिल्सलाई गाइड गरेर शिखर पुऱ्याउनुभएका उनै पादावा शेर्पासँग कुम्भराज राई (रासस) द्वारा गरिएको कुराकानीको सम्पादित अंश :
✍ तपाईंको हिमाल आरोहण यात्राबारे केही बताइदिनुस् न ?
– मैले १२-१३ वर्षको उमेरदेखि ट्रेकिङमा भरियाको रूपमा काम गर्न थालेको हुँ । त्यसपछि ‘किचेन ब्वाई’, ‘कुक’ हुँदै ‘माउन्टेन गाइड’को भूमिकामा काम गर्न थालेँ । सन् १९९८ मा पहिलोपटक चर्चित बेलायती ‘एडभेन्चरर’ एडवार्ड माइकल ‘बियर’ ग्रिल्सलाई गाइड गरेर सगरमाथा शिखरमा पुगेको हुँ । त्यो आरोहण निकै कठिन थियो । अहिलेजस्तो त्यतिखेर आरोहणको सुरुमै साउथकोलभन्दा माथि डोरी टाँग्ने (रोप फिक्सिङ) चलन थिएन । हामी दुई पटकको प्रयासमा शिखर पुगेका थियौँ । पहिलो पटक हामी साउथ समिटबाट फर्किएका थियौँ ।
✍ त्यतिबेला कस्तो किसिमको जोखिम सामना गर्नुपरेको थियो ?
– त्यतिबेला विभिन्न आरोहण दलका शेर्पाले थोरैथोरै डोरी टाँग्दै बाटो बनाउनु पर्थ्यो । हाम्रो टोलीको डोरी साउथ समिटमा पुगेपछि सकियो । अनि हिलारी स्टेप पार गर्न गाह्रो भयो । साउथ समिट नजिकै हामी झण्डै सय मिटर जति चिप्लियौँ । अनि आधारशिविर नै फर्किएर एक हप्ता बसेर अर्को पटकको प्रयासमा शिखर पुगेका थियौँ । त्यतिखेर बियर ग्रिल्स अहिलेजस्तो चर्चित थिएनन् । उनी एक सामान्य आरोहीका रूपमा आएका थिए ।
✍ यस वर्ष एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेर ३१औँ पटक सगरमाथा शिखरमा पुग्नुभयो, कुन कुन मितिमा कसरी जानुभयो ?
– यसपटक एउटा अमेरिकन कम्पनी र नेपालको ट्रेक नेपाल नामक नेपाली कम्पनीबीचको सहकार्यमा सञ्चालित आरोहण दलमा आबद्ध भएर मैले १८ मे का दिन आरोहण गरेको थिएँ । अनि १९ मे का दिन बिहानै आधारशिविर आइपुगेर पूरा एक दिन आराम गरेर पुनः २० मे को दिन शिखरतर्फ लागेँ । अनि २२ मे का दिन दोस्रोपटक शिखर पुगेको थिएँ । दोस्रोपटक भने मैले कोही विदेशी नलगी एक्लै गएको थिएँ ।
✍ तपाईंको यो २८ वर्ष लामो सगरमाथा आरोहण अवधिमा सगरमाथामा के कस्ता परिवर्तन देख्नुभयो ?
– परिवर्तन त धेरै भएका छन् । पहिले किचेन टेन्ट नै अहिले जस्तो थिएन । हामी आइसमाथि छेउछेउको ढुङ्गा बटुलेर गाह्रो लगाएर गोठ जस्तै किचेन बनाउथ्यौँ । अहिले त किचेन, डाइनिङ पूरै कार्पेट ओछ्याएर स्ट्यान्डर्ड खालको आइसक्यो ।
✍ भनेपछि सगरमाथा आरोहण साहसिकभन्दा सुविधायुक्त बढी भएको हो ?
– अहिले ‘एडभेन्चर’ घटेको भन्दा पनि ‘लक्जरी’ बढेको भन्नुपर्ला । खासमा कसले लक्जरी सुविधा दिने भन्ने प्रतिस्पर्धाचाहिँ बढेको हो । एउटाले राम्रो बनाएपछि अर्कोले राम्रो बनाउने चलन सुरु भएको छ ।
✍ यो सुविधा विदेशी आरोही (ग्राहक) ले खोजिरहेका छन् कि कम्पनीले व्यवस्था गरिरहेको छ ?
– यो दुवैले हो । विदेशीले पनि खोज्छन् र कम्पनीले त्यही अनुसार व्यवस्था गर्ने क्रम बढेको छ । विदेशीले सुविधा खोजेर त्यही अनुसारको पैसा तिरेपछि कम्पनीले त व्यवस्था गर्नैप¥यो ।
✍ हिउँ पग्लिने दरलाई कसरी नियाल्नुभएको छ ? बर्सेनि खुम्बु आइसफलकै हिउँ धेरै नै पग्लियो भन्छन् नि ?
– खुम्बु आइसफलको कुरा गर्ने हो भने धेरै हिउँ पर्दा आइस धेरै देखिने र हिउँ कम पर्दा पग्लिएर घटेको जस्तो देखिने भई नै रहन्छ । पहिलेभन्दा कतिपय ठाउँमा पग्लिन थालेको हो जस्तो पनि लाग्छ, तर मलाई चाहिँ त्यत्रो धेरै हिउँ पग्लिएर ठूलै परिवर्तन भएजस्तो अनुभव भएको छैन ।
✍ हिमालमा मौसम परिवर्तन भइरहेको छ कि त्यहाँ चढ्न आउने आरोहीहरूको व्यवहार परिवर्तन भइरहेको छ ?
– सन् २००० आसपाससम्म सगरमाथा शिखरको मौसम पूर्वानुमान अहिलेजस्तो भरपर्दो थिएन । मौसमका दृष्टिले आरोहीले जुनसुकै बेला जोखिम मोल्नुपथ्र्यो । अहिले त्यस्तो छैन । मौसमसम्बन्धी रिपोर्ट हेरेर मज्जाले आरोहीले आराम गर्न पाउँछन् । कतिपय विदेशी त आराम गर्न काठमाडौँसम्म आउँछन्, अनि जुन दिन मौसम राम्रो भनिएको हुन्छ, त्यसैअनुसार आरोहणका लागि उकालो लाग्ने चलन छ । हिजोआज खासमा हिमाल वा हिमालको मौसम परिवर्तन भएकोभन्दा पनि प्रविधिको विकाससँगै मौसम पूर्वानुमान भरपर्दो हुँदा आरोहीको व्यवहारमा केही परिवर्तन भएको हो । अब त आधार शिविरभन्दा माथि नै इन्टरनेट चल्न थालेकोले कहाँ कतिखेर के भइरहेको छ भनेर थाहा पाउन सजिलो भइसक्यो ।
✍ कोही अप्ठ्यारोमा परेका आरोहीलाई उद्धार गरेको अनुभव छ ?
– एकपटक एउटा हङ्गेरियन आरोही थियो । ऊ बिना अक्सिजन सगरमाथा आरोहण गर्ने भनेर गएको थियो । साउथ समिटतिर पुगेपछि त्यसलाई गाह्रो भएर निकै दुःख दियो । अनि उसलाई हामीले पूरै बाँधेर घिस्याएर क्याम्प–टू सम्म ल्यायौँ । उसको जीवन त बचायौँ तर हामीलाई निकै गाह्रो भएको थियो ।
✍ यस वर्षको सगरमाथा आरोहणलाई लिएर धेरै नै भीड बढ्यो भन्ने चर्चा भयो । तपाईंलाई कस्तो लाग्छ, भीड बढेकै हो ?
– भीड त बढेकै हो । अर्कोतिर खुम्बु आइसफलको बाटो खुल्न ढिलो हुँदा झनै बाटोमा भीड धेरै देखियो । तर यसपटकको आरोहणलाई हेर्ने हो भने तुलनात्मक रूपमा खासै दुर्घटना नभएकाले निकै सफल र सुरक्षित आरोहण वर्षका रूपमा लिँदा हुन्छ ।
✍ तपाईं सगरमाथामा सबैभन्दा बढी पटक आरोहण गर्ने विश्व कीर्तिमानीको प्रतिस्पर्धामा हो कि, पेसाकै रूपमा आरोहण गर्दा प्रतिस्पर्धा गरे जस्तो देखिएको हो ?
– त्यस्तो प्रतिस्पर्धा होइन । मैले यसपटकको ३१औँ आरोहण बाहेकका सबै आरोहण गाइडका रूपमा अन्य आरोहीलाई लिएर मात्र गएको हुँ । यस वर्षको अन्तिम आरोहण भने मेरो कम्पनीको सहयोग र विदेशी साथीहरूको अनुरोधमा पहिलोपटक बिना आरोही एक्लै गरेको हुँ ।
✍ सगरमाथामा प्लास्टिकजन्य फोहोर बढेको भन्ने विषयमा तपाईंको धारणा के छ ?
– पहिलेभन्दा त अहिले धेरै घटेको हो । पहिले त साउथकोलमै अक्सिजनको सिलिन्डर छरपस्ट देखिन्थ्यो । पालहरू त्यत्तिकै देखिन्थ्यो । अहिले पालहरू अलिअलि देखिए पनि अक्सिजनको सिलिन्डर त एउटा पनि देखिँदैन । धेरै सफा गरिएको छ । हिमालमा यस्ता सामग्री बढ्यो भनेर जसरी भन्नु सजिलो छ त्यहाँ गएर सफा गर्नु धेरै गाह्रो छ । बरफले पाल थिचेपछि निकाल्नै सकिँदैन । सिसाले थिचेजस्तो भइसकेको हुन्छ, सफा गर्नलाई तान्न खोज्दा टुक्रा मात्र आउँछ । अहिले त पहिले जस्तो बाटोमा लासहरू पनि खासै देखिँदैन । यसै वर्ष त्यही हिलारी स्टेप छेउमा एकजना इन्डियनको लास छ, त्यत्ति हो ।
✍ तपाईंको विचारमा हिमालमा जलवायु परिवर्तनको असर देखिनुका पछाडि आरोहीका गतिविधि प्रमुख होला कि ठूलठूला प्रदूषणजन्य गतिविधि ?
– मलाई त थोरै सङ्ख्याको आरोहीले हिमालमा गर्ने गतिविधिभन्दा त प्रदूषणजन्य अरू किसिमका गतिविधि नै मुख्य होला जस्तो लाग्छ । उदाहरणकै लागि हेर्ने हो भने सगरमाथामा गरिने प्रदूषणभन्दा यहाँ काठमाडौंमा कति धेरै प्रदूषण हुन्छ । यहाँ हुने गतिविधिले पनि त हिमालमा असर पुऱ्याइरहेको हुन्छ ।
✍ तपाईंलाई कहिलेकाहीँ सगरमाथालाई आराम दिन पाए हुन्थ्यो जस्तो लाग्दैन ?
– मलाई व्यक्तिगत रूपमा सोच्दा त दुईतीन वर्ष आराम दिन पाए हुन्थ्यो जस्तो लाग्छ । तर के गर्ने विदेशीहरू पनि मान्दैनन् । अनि आरोहणसँग जोडिएको रोजगारीको सवाल छ । राज्यले गर्ने आम्दानीदेखि एउटा ट्याक्सी ड्राइभर, होटलवाला, भरियादेखि सबैलाई आर्थिक रूपमा असर पर्ने भएकाले आराम दिन पनि गाह्रै होला ।
✍ राज्यले शेर्पाहरूको योगदानलाई कत्तिको सम्मान गरेको छ ?
– अलिअलि त गरेको होला तर महसुस हुने गरी गरेको मलाई थाहा भएन । यसै वर्ष चाहिँ पर्यटन बोर्डले मलाई अलिकति नगदसहित सम्मान ग¥यो । यो पनि सबैले चाहिँ पाउँदैनन् ।
✍ पहिलो पुस्ताको शेर्पाहरूले हातमुख जोर्नकै लागि हिमालमा भारी बोक्नुपर्ने बाध्यता थियो, अहिले तपाईंहरूको पालामा केही अन्तर छ ?
– खासै अन्तर छैन । अहिले पनि हामी धेरैजसो शेर्पाहरूले जीविकाकै लागि हिमालमा काम गरिरहेका छौँ ।
✍ हिमालमा काम गरेको आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ ?
– सन्तुष्ट नै भनौँ न । रोजगारीका लागि अरू पेसा छैन ।
✍ तपाईंको अर्को पुस्ता आरोहणको क्षेत्रमा लागेका छन् कि छैनन् ?
– अब मेरै छोराको कुरा गर्ने हो भने लाग्दैनन् । खुम्बु क्षेत्रका हिमालमा काम गर्ने धेरै शेर्पाका अर्को पुस्ता यो पेसामा लाग्ने सम्भावना घटिसकेको छ तर जस्तै सङ्खुवासभाको मकालु क्षेत्र, सोलुखुम्बुकै अन्य ठाउँका शेर्पाहरूका नयाँ पुस्ता यो क्षेत्रमा आइरहेका छन् । त्यसैगरी, राई, गुरुङ जस्ता अन्य समुदायको उपस्थिति यो पेसामा बढेको छ ।
✍ तपाईंको विचारमा हिमाल के रहेछ ? सगरमाथा शिखरमा पुगिरहँदा कस्तो अनुभूति हुने गर्छ ?
– पहिलो, दोस्रोपटक शिखरमा पुग्दा त खुसी लाग्थ्यो । अझ आफूले गाइड गरेर लगेको आरोही पनि पुऱ्याउन पाउँदा झन् खुसी लाग्थ्यो । तर पछिपछि त शिखर पुगिसकेपछि आफूलाई अरू कुरा सोच्नेबारे कुनै ध्यान नै हुँदैन । खाली आफूले लगेको आरोहीलाई कसरी सुरक्षित रूपमा फर्काउने होला भन्ने चिन्ता मात्रै हुन्छ ।
✍ प्राविधिक रूपमा सगरमाथाभन्दा कठिन मानिने आमादब्लम हिमाल तपाईंले ७० पटकभन्दा बढी आरोहण गरिसक्नुभयो भन्ने कुरा वास्तविक हो ?
– मैले आमादब्लम सन् १९९५ देखि चढ्न थालेको हुँ । ‘सिजन’मा दुई देखि तीन पटकसम्म चढेको छु । मैले गनेर राखिनँ । त्यही भएर ठ्याक्कै कतिपटक चढेँ भनेर थाहा छैन । मेरो विचारमा ५० पटकभन्दा चाहिँ बढी नै भयो ।
✍ कहिलेसम्म हिमाल आरोहणलाई निरन्तरता दिन्छु भन्ने लागेको छ ?
– अब ज्यानले साथ दिएसम्म । यति नै भन्ने छैन । ज्यानले साथ दिए अझै पाँच छ वर्ष होला नभए दुईतीन वर्षसम्म होला कि, ठ्याक्कै भन्न सकिन्न ।
✍ भनेपछि सगरमाथा आरोहणले अझै निरन्तरता पाउँछ ?
– त्यो त ‘सिजन’ लागेपछि थाहा हुन्छ । अब आफूले गाइड गर्ने आरोही शिखरसम्म पुग्ने अवस्था आयो र आफू पनि सक्षम भइयो भने त निरन्तरता नपाउने कुरा भएन तर बिचमा कुनै अन्य परिस्थिति आयो भने यसै हुन्छ भनेर भन्ने कुरा भएन ।
✍ परिवारको सदस्यले हिमाल नचढ्नु भन्नुहुन्न ?
– भन्न त भन्छन् तर आफ्नो काम नै त्यही भएकाले होला । ‘सिजन’ सुरु भएसँगै सबै साथी झोला बोकेर हिँडेको देखेपछि आफूलाई पनि सकसक लागेर आइहाल्छ ।
✍ तपाईं हिमालमै जन्मिनुभयो, हिमालै चढिरहनुभएको छ, तपाईंले हिमालभन्दा बाहिरको जीवन बाँच्नेबारे केही सोच्नुहुन्छ ?
– अब यो वसन्त ऋतु आएपछि त म हिमाल चढ्नेबाहेक अरू कुरा सोच्नै सक्दिन । त्यस बाहेकका समय खेतीपाती र मेरो श्रीमतीको सानो व्यवसाय दिङबोचेमा भएकाले त्यहाँ पनि बिताउँछु । अरू खासै केही सोचेको छुइन ।
✍ विदेशतिर जाँदाको कुनै अविष्मरणीय अनुभव छ ?
– सन् २०२२ मा एकजना मैले सगरमाथा चढाएको बेलायती आरोहीले मलाई बेलायत बोलाउनुभएको थियो । त्यहाँ केन्डल माउन्टेन फेस्टिभल भन्ने ठूलो कार्यक्रम रहेछ । त्यहाँ प्रसिद्ध आरोहीहरू पनि भेटिए । बियर ग्रिल्सलाई पनि भेटेको थिएँ । मलाई त्यहाँको एउटा सेनाको क्याम्पमा पनि बोलाएर ठूलो सम्मानसहित स्वागत गरे । म एक महिनासम्म धेरै ठाउँमा घुमेर फर्किएँ ।
✍ अन्तमा, राज्यले के गरिदिए हिमालमा काम गर्ने तपाईं जस्ता शेर्पाहरूलाई सजिलो हुने थियो ?
– सकेसम्म राज्यले हिमालमा काम गर्ने शेर्पा र उनीहरूको परिवारको सामाजिक सुरक्षाका लागि केही स्थायी रूपमा काम गरिदिए हुन्थ्यो । धेरै साथीहरूले यस विषयमा बोलिसकेका छन् । अहिलेसम्म त केही भएको छैन । भइदिए हुन्थ्यो भन्ने लाग्छ ।
photo: rss
प्रतिक्रिया