कोरोनाका कारण स्वच्छ-बैंसले उन्मत्त प्रकृतिलाई प्रेमिल पत्र !

कोरोनाका कारण स्वच्छ-बैंसले उन्मत्त प्रकृतिलाई प्रेमिल पत्र !


अर्पण तिवारी, स्पेन

विश्वमा हालको करिव ७.६ विलियन जनसङ्ख्यामध्ये सबैभन्दा उत्कृष्ट तिमीसँग म आफूलाई जोड्न पाँउदा जीवन सार्थक लाग्न थालेको छ । ‘माइ लाइफ इज ब्युटिफुल, माइ लाइफ इज ब्रिलेन्ट, माइ लाइफ इज पिअर’ भन्ने जेम्स ब्लन्टको यो गीत आफ्नो जीवनमा तब सार्थक लाग्छ जब तिमीसँग म आफुलाइ जोडेर हेर्न पाएको हुन्छु ।

तिमी छौ र त म छु , मेरो प्रेम छ अनि संसार छ प्रकृति ! तिमीविना मेरो जिन्दगी अनिश्चित छ, असम्भवप्रायः छ । कोरोना–कहरपछि तिमीे सोह्रवर्षे बैंस लाग्दा जस्तै उन्मत्त भएकी छौ । वायु, जल, भिजिविलिटी जस्ता तिम्रा लोभलाग्दा वदन अहिले यसरी पुष्टिएका छन् जससँग रमाउने कल्पना मनमा बढ्न थालेको छ । एकान्तवासको यस बसाइमा खै किन अचेल तिमीप्रति एक किसिमको आत्मीयता, लगाव असारे भेलजस्तै ह्वात्तै बढेर आएको छ ।

तिम्रै सुन्दरता र चन्द्रमुखी तिम्रो त्यो स्वरुप देखाउन भनौँ या सोह्रवर्षे बैँसको माद चखाउन हो, यस बार्सिलोना शहरका सबै कल–कारखाना, विद्यालय, होटल, रेष्टुरेन्ट ठप्पप्रायः भएका छन् । मन्द कोइलीको जस्तो सुरिलो तिम्रै स्वर सुनाउन भगवानले नै यहाँका सवारी साधनबाट, प्लेनहरूबाट, डिस्को डान्सबारबाट आउने ध्वनी कम गराएका हुन् कि भन्ने लागेको छ । हेर न म पनि उस्तै स्वार्थी ! आफ्नो काम हुँदा तिमीलाई भोग्न समय नपाउने बहाना बनाउन कत्ति पछि हटिनँ, त्यसैको अपसोचले होला मसँग अहिले एकान्तवासमा २४ घण्टा खालि समय हुँदा पनि तिमीलाई आफूले भोग्न, महसुस गर्न पाएको छैन ।

बार्सिलोना शहरमा करिव १० लाख भन्दा बढी दैनिक गुड्ने सवारी साधनको चाप तिमीले अहिले खेप्नु परेको छैन । यिनीहरूबाट निस्किने धुलो–धुँवा तिमीले अहिले सहनु परेको छैन । त्यस्तै, १० हजारभन्दा बढी रेष्टुरेन्टहरूबाट निस्किने कालो चुकजस्तो धुवाँबाट पनि तिमी बचेकी नै छौ । यिनै मानिसहरूको जीवन सहज बनाउन प्रयोग हुने सियोदेखि जहाजसम्म निर्माण गर्ने उद्योगबाट निष्कने धुवाँ नदेखेको पनि महिनादिन कटिसकेको छ ।

त्यस्तै, फोहोर जलाउँदा आउने धुवाँ पनि केही मात्रामा कम भएको अनुभव नै गरेकी छौ । यतिका विधि सबैखाले धुँवाबाट मुक्त भएर तिम्रो त्यो फोक्सो सफा भएको कल्पना गर्दा साँच्चै तिमीसँग बाँच्न पाउने दिन लाखौँ जुनीसम्म रहिरहोस् भन्ने कामना जागृत भएको छ । अझ वार्सिलोनामा वर्षेनी ५० लाखभन्दा धेरै हवाइमार्ग भएर आउने पर्यटक र यिनलाई ओसार्न प्रयोग हुने विमानहरूबाट निस्कने विकारतत्वदेखि केही समयका लागि छुट पाएकी छौ । अहिले सम्पुर्ण होटल रेष्टुरेण्ट, उद्योग, सवारीसाधनबाट निष्कने सल्फरडाइअस्साइडको मात्रामा केही कम भएको छ, जसले गर्दा विश्व तापमान (ग्लोवल वार्मिङ) सन्तुनलको अवस्थातर्फ लम्किरकेको छ । क्षारीय अर्थात अम्लिय वर्षाको सम्भावनामा पनि केही मात्रामा कम भएको छ । दुषित वायुबाट लाग्न सक्ने क्यान्सर र छालासम्बन्धी रोगहरूको असर पनि केही कम भएको छ । यसले लाग्छ– चन्द्रमालाई ग्रहणले छाडेपछि चम्केको सबै सकसमुक्त चन्द्रमा जस्तै चम्केकी छौ । साथीले एउटा चुरोट पिउँदा त्यो धुवाँ तिम्रो छातीमा गएर मिसिन्छ भनेर कुँडिने मेरो मन आज तिमी विस्तारै वायु प्रदुषणको सम्पुर्ण कष्टबाट उन्मुक्ति पाएको देख्दा साँच्चै मलाई घण्टौँ प्रेमलापमा लिप्त हुँदै तिमीसँग वायुमण्डलमा नै विलीन हुन मन लागेको छ ।

खै कसरी भनुँ.. तिमीप्रति मेरो एक किसिमको लत बसेको छ । कामको समयमा तिमीलाई महसुस गर्न असाध्यै गाह्रो हुन्थ्यो । हालको एकान्तवासमा पुरै समय म खाली हुँदा पनि तिमीसँग हासेर खेल्न नपाउँदा, मनका थकान पोख्न नपाउँदा संसारको अभागी भन्ने लागेको छ । तिमीलाई आफ्नै छालाले स्पर्श गर्न वार्सिलोना शहरनजिकैको वार्सिलोनेटा समुन्द्रसागर जाँदा कुनै एक पर्यटकले तिमीलाई अन्धाधुन्ध रुपमा थुकिरहेको थियो । त्यो देख्दा एक किसिमले भित्रैदेखि रगत तातेर आएको थियो । पारी निलो क्षितिजबाट छचल्किँदै आएर जब तिमीले मेरो पाउमा स्पर्श दियौ तब मेरो उम्लेको रगत एक्कासी शान्त भयो ।

साढे एक महिना बितिसक्दा पनि त्यो घटना अहिल्यै हो कि जस्तो लागेको छ । तिमीलाई यही बार्सिलोनेटामा वर्षेनी ३६ लाख मानिसले टेक्थे, थुक्थे, आफ्नो वदन सफा गर्थे । अहिले त तिमीलाई ३६ लाख मानिस ओसार्न प्रयोग हुने घरभन्दा ठुला पानीजहाजले पनि थिचेका छैनन् । यिनीहरूबाट निस्कने गन्ध, फोहोर, अथवा ती फोहोरी वदनका विषाक्त रसपान त तिमीले गर्नु परेको छैन । अहिले तिमी पारी क्षितिजमा जति निलो र शान्त स्वाभावमा रहेकी छौ त्यो भन्दा बढि यो मन शान्त भएको छ । कलकारखानाबाट निस्कने विषाक्त तेजाबसरी जहरहरूले तिम्रो स्वरुप बिगारेको त छैन । यस्तो निलो स्वच्छ स्वरुपका साथ हजारौँ माछाहरूसँग तिमीले मेरो अभाव पक्कै महसुस गरेकी हौली ।

तिम्रो शुद्धताका कारण सुर्यका किरण तिमीमा सजिलै छिर्न पाएका छन्, जसले तिमीबाट वाफ निकाली अक्सिजन निकाल्ने प्रक्रियालाई सहज बनाएको छ । तिम्रै अमृतसरी स्वरुपले अहिले सम्पूर्ण जलीय प्रणाली नै स्वच्छ, शान्त र शुद्ध–स्वच्छ भएको छ, जल प्रदुषणका कारण लाग्ने रोगहरू जस्तै– हैजा, पखाला पनि कम हुँदै गएका छन् । तिमी सबै प्रदुषणहरूबाट टाढा भएर देखिएको निलो स्वरुप अनि अमृतजस्तै स्वच्छ स्वाद भोग्दै, तिम्रो गहिराइ नाप्दै, सबैभन्दा पिँधमा पुगी अक्टोपससँग पौँठेजोरी खेल्दै बाँकी जीवन तिमीसँगै समुन्द्र पिँधमा काट्न मन बढेर आएको छ ।

बार्सिलोनाको कुनै एउटा गल्लीमा हिँड्दै गर्दा बजेको ट्याक्सीको हर्नले म तर्सिएँ । दैनिक १० हजारभन्दा बढी सवारीसाधनका ध्वनीले तिमीलाइ डसेको सम्झेँ । १६ लाख मानिसहरूको चिच्याहटले तिम्रो शान्त स्वाभाव लथालिङ्ग पारेको सम्झेँ । १० हजारभन्दा बढी डिस्कोमा मदमस्त आवाजहरू सम्झेँ । अनि लाग्यो– अहिले यी सबै तत्वहरूले तिमीलाई डसेका त छैनन् नि ? तिमीलाई अहिले कलकारखानाबाट निस्कने चटयाङ पर्दा चिरिएको जस्तै चिरिने आवाज त अहिले सुन्न परेको छैन । भौतिक निर्माण कार्यबाट निस्किने ध्वनिहरूको कर्कस आवाज पनि तिमीले अहिले सुन्न परेको छैन । तीव्र वा अनावश्यक ध्वनीहरूकै कारणबाट लाग्ने रोगहरू, जस्तै– उच्च रक्तचाप, सुन्न सक्ने क्षमतामा ह्रास, अनिद्रा आदि बिकार केही मात्रामा कम भएकै छन् । ध्वनी प्रदुषणकै कारण बालबालिकामा विभिन्न खालका डिसफङ्सनहरूले ल्याउन सक्ने शारीरिक तथा मानसिक रोगहरूबाट पनि टाढा गराएको छ ।

यी सबै आवाज विलीन भएको यो मनोरम समयमा तिमीसँग प्रत्येक रुखका पातहरूले गाएको गीत सुन्न मन लागेको छ । यो बेला तिमीले फेरेको स्वासको आवाज सुन्न मन छ । तिम्रो यो अहिलेको शान्त रुप, आवाजविहीन स्वरुप सधैं कायम गर्न संसारका मानिसहरूलाई एक किसिमको सुन्दर गीत तिम्रै जस्तो शान्त स्वरमा सबैले सुन्ने गरी गाउन मन लागेको छ । तिमीलाइ महसुुस गर्न कामबाट विदा नै लिएर कुनै अग्लो डाँडामा जानुपर्ने बाध्यता हुन्थ्यो । र, त्यहाँबाट तिमीलाई हेर्दा पनि विशाक्त तुवाँलोले ग्रहण लागेजस्तै धपक्क छेक्ने गर्थ्यो । अहिले ती बायुमण्डलमा भएका विशाक्त कणहरू विनाको स्वच्छ रुप घरको छतमै बसेर एकटलले हेर्दा तिमीलाई पाएको अनुभूति गरेको छु ।

तिमी अहिले सबै कुराबाट आजाद भएकी छौ । गीतामा काम, क्रोध, मोह, लोभले मानिसलाई पतन गराउने कुरा कृष्णले भनेजस्तै तिमीलाई पतन गराउने वायु, जल, भू, ध्वनी-प्रदुषणबाट मुक्त छौ । अहिले तिमी यी सबै प्रदुषणबाट मुक्त भई स्वच्छ भएकी छौ । तिम्रो यही आजादी कायम राख्न एक रत्नबुटी बनाई सम्पुर्ण मानवजगतमा बाँड्न मन लागेको छ । तिम्रो यो अहिलेको स्वरुप हजारौँ युगसम्म नबिग्रियोस् र त्यही स्वरुपमा आफु विलीन भई बाँकी लाखौँ जुनी काट्न सकुँ ।

तिम्रो प्रेममा मुग्ध उही प्रकृतिप्रेमी

अर्पण !