झट्ट सुन्दा जो–कोहीलाई लाग्न सक्छ– मजदुरमैत्री गैरआवासिय नेपाली संघ प्रवासमा रहेका लाखौँ नेपालीको अभिभावक हो । तर विश्व प्रेस स्वतन्त्रताका दिन गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले तानाशाही तरिकाले नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका पूर्व सहसचिव एवम् सदस्य अर्जुन बराललाई ब्यक्तिगत आरोप लगाएर दादागिरी प्रदर्शन गेको छ । पदमा आसिन युवा संयोजक अरुण श्रेष्ठले बरालले फेसबुकमा लेखेको एक स्टाटसलाई बहाना बनाएर इपीएस छिन्गु नामाकरण गरेको साइटमा ‘नेपाल एयरलाइन्स कोरिया उड्न नदिन षडयन्त्र, कमिसन र नाफा लिन नपाएर छटपटाहट, नेपालको श्रम मन्त्रालयमा उजुरी हालेको’ लगायतका आरोप लगाएर दादागिरी शैलीमा स्टाटस पोस्ट्याएका छन् ।
भएको के हो ?
कोरियामा विभिन्न भिषामा रहेर छुट्टिमा नेपाल गएका नेपाली कोरोना भाइरसका कारण लकडाउनसँगै अन्तर्राष्ट्रिय उडान स्थगितको समस्याले समयमै कोरिया फर्कन पाएनन् । यस क्रममा केहीको भिषा गुमिसकेको र केहीको गुम्ने अवस्थाम रहेकोमा एनआरएनए कोरिया र केही ट्राभल्स एजेन्सीको सहकार्यमा नेपाल सरकारसमक्ष गएको प्रतिनिधि मण्डलले डेलीगेसनमार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको निर्णय गराएर परराष्ट्रसहित गृहमन्त्रालयलाई बोधार्थ लेखी वैशाख १४ गते रोजगार प्रक्रिया प्रणालीमार्फत कोरियामा काम गर्ने अनुमति प्राप्त वैध प्रवेशाज्ञा भएका र हाल बिदामा नेपालमा रहेका ब्यक्तिहरू स्वेच्छाले आफ्नो काममा फर्कि जान चाहेमा निजहरूको स्वास्थ्य परीक्षण गराई निजहरूकै खर्चमा चार्टड उडानबाट जान स्विकृति दिने निर्णयसँगै गैरआवासीय नेपाली संघ केन्द्रिय कार्यालय र नेपाल एयरलाइन्सबीच चार्टड सम्झौता भएको थियो । उडानको मिति वैशाख १८ बिहीबार सँगै उडान खर्च १,१३,७७५ कायम गरिएको जानकारी विभिन्न ब्यक्तिको सामाजिक संजालबाट गराइएको थियो । तर, विविध कारण जनाउँदै उडान स्थगित भएको जनाउँ दिइयो ।
यस विषयमा केन्द्रित भएर केही पहिले अर्जुन बरालले कोरियन एयरलाइन्सले नेपालमा रहेका आफ्ना नागरिकका लागि एकतर्फी भाडाका लागि ८६४ अमेरिकी डलर कायम गरेको एक स्क्रीन सटसमेत संलग्न गरी ‘राष्ट्रिय ध्वजाबाहक विमानको भाडादर किन महँगो ? सस्तो हुनुपर्ने हो । कोही मर्कामा नपरुन् र प्रश्न नउठोस्’ भनेर भावमा फेसबुकमा स्टाटस राखेका थिए । तर, त्यही स्टाटसकै कारण श्रम मन्त्रालयमा उजुरी परेको भनेर कसैले कुनै आधार र उद्देश्य नखुलाई बिनाप्रमाण पदको दम्भ प्रदर्शन गरी मनगढन्ते कहानी बनाएर कोरियामा रहेका मजदुरमाझ नकारात्मक र निज बरालमाथि जेसुकै होस् भन्ने नियतले बदनियत प्रदर्शन गरिएको छ भने समाचार तयार पार्दासम्म यसबारे नेतृत्वबाट स्पष्ट धारणा आएको छैन । यसबाट नेतृत्व नै पत्रकारलाई नङ्ग्याउन लागेको त हैन भन्ने प्रश्न उठेको भन्दै पत्रकार महासंघ कोरिया शाखाले आपत्ति ब्यक्त गरेको छ ।
केही समय पहिले एनआरएनए दक्षिण कोरियाको संयोजकमा कोरोना भाइरसको रोकथामका लागि ‘एक ब्यक्ति एक किट सहयोग’ अभियानमा स्वतन्त्र अभियन्ताको रुपमा बराललाई कमिटीभित्र राखिएको थियो भने कोरियामा रहेका नेपालीको समर्थनले अभियान सफल पनि भएको थियो । बराल भन्छन्– ‘यस अभियानमा मैले सक्दो सहयोग गरेकै हो । तर, ब्यक्तिगत विचारलाई लिएर सरकारको संयन्त्रलाई नै रोक्न सक्ने मेरो कुनै हैसियत छैन र हुन्न पनि । म अझ पनि भन्छु कोरियामा रहेर विभिन्न पेशामा आबद्ध जो–केही नेपालमा बिदामा जाँदा भिषा अवधि सकिएका र सकिन लागेकाको कुटनैतिक तवरले समस्या समाधान हुनुपर्छ ।’ संस्मरण रहोस्, कोरियामा विभिन्न कानुनी समस्यालाई हल गर्न अहोरात्र खट्ने एनआरएनए नै सामान्य जिज्ञासाको विषयलाई अतिरञ्जित गर्ने र संस्थाको विषयमा बोल्नै नहुने हुकुमी शैलीको मारमा केही पत्रकार यसअघि पनि परिसकेका छन् ।
यसै विषयमा एमटियु कोरियाका अध्यक्ष उदय राई र महासचिव मधुसुदन ओझाले पनि ब्यक्तिगत जिज्ञासालाई अतिरञ्जित गराउन नहुने धारणा ब्यक्त गरे भने कोरियाको समाजलाई राम्रोसँग बुझेका बैरागी माइला नामबाट परिचित मजदूरले यसरी आक्रोश प्रकट गरे– ‘विमान हो कि सुर्तीको पोको हो ? के जिज्ञासा राख्नै नहुने ? प्रश्नको स्वच्छ जिज्ञासालाई सामना गर्न नसके पद छोडे हुन्छ, आफुले गर्न नसकेपछि अरुको चरित्र हत्या गर्नु जायज हैन, अरुलाई कानुनको पाठ पढाउनेलाई नै कानुन थाहा छैन, एक मजदुरले चाहँदैमा उडान स्थगित हुने कस्तो कुटनैतिक सम्झौता हो ? कुन मजदुरले नेपाल एयरलाइन्स कोरिया नआओस् भन्ने चाहन्छ ? कमिसनको खेल नमिलेपछि आरोप लगाउने ?’
त्यस्तै एनआरएनए कोरियाका पूर्वअध्यक्षद्वय राजु क्षेत्री र विनोद कुँवरले पनि संस्था सबैको हो जिज्ञासा राख्न पाउँछ, संस्था अभिभावक हो, तर स्वच्छ ढङ्गको विरोधलाई स्विकार गर्न नसकेर कसैमाथि खनिनु कदापि राम्रो होइन, यसलाई नेतृत्वले कसरी हेर्छ त्यो महत्वपुर्ण विषय रहेको प्रतिक्रिया दिएका छन् । यस्तै, नेपालमा रहेका नेपाली कोरिया ल्याउन सुरुदेखि नै पहल गर्ने एनआरएनएका पूर्वअध्यक्ष एवम् नेपाल टुर कम्पनी लिमिटेडका प्रोपाइटर केपी सिटौलाले ‘कसले भन्यो नेपाल एयरलाइन्स कोरिया ल्याउन हुन्न भनेर ? मजदुरको पैसालाई कमिसनसँग दाँज्ने को हो ? मनगढन्ते कुरा गरेर अरुलाई भ्रम किन छर्ने ?’ भन्ने प्रतिक्रिया दिए ।
– एबी ‘प्रशिक्षार्थी’
प्रतिक्रिया