डिल्ली अम्माई
भूमध्यसागरको ‘नीलो हिरा’ भनेर चिनिने युरोपको एक टापु देश माल्टामा बिचौलियाहरूको बिगबिगी र द्रब्यमोहमा परेर उनीहरूबाट गरिएका व्यवहारका कारण त्यहाँका धेरै नेपाली मर्नु न बाँच्नुको दोसाँधमा रहेका खबरहरू आइरहेका छन् । माल्टामा नेपालीका पीडा सहिनसक्नुका छन् । उनीहरू काम न दाम भएर दलालहरूसँग हारगुहार गर्दै दुई गाँसको जोहो गरिदिन अनुरोध गरिरहेका छन् । अरु मुलुकमा बिचौलिया र तस्करहरू खोरमा सजाय काटिरहेका हुन्छन् तर माल्टाका नेपाली दलालहरू भने निरीह नेपालीहरूको आर्थिक शोषण गरेर घरमै परिवारसँग आरामदायी ‘लकडाउन’ कटाउँदै छन् ।
भूमध्यसागरको बीचमा रहेको टापुहरूको देश रिपब्लिक माल्टा केवल देश मात्र होइन, संसारकै प्रागैतिहासिक महत्व बोकेको युनेस्कोद्वारा संरक्षित विश्व सम्पदाको मुटु हो । उक्त देशमा नेपालीहरू कामको सिलसिलामा पुग्न थालेको जम्माजम्मी २१ वर्ष जति भएको देखिन्छ । तर अहिले आएर त्यहाँ अत्याधिक नेपाली कामदारहरूको चाप बढेको छ । कतिपय मानव तस्करमिा संलग्न बिचौलियाहरूले मान्छे ल्याउनको लागि केही कम्पनी बनाई, फर्जी काम र कागज बनाएर पनि नेपालीहरू भित्र्याइरहेका खबरहरू आएका छन् । यस्तै कुराहरूले माल्टाको सुन्दर र मनोरम चित्रलाई कुरुप बनाउँदै लागेको छ ।
भर्खरै मिडियामा सार्वजनिक भएको एक खबरअनुसार पाँच महिनाअघि माल्टा आइपुगेका गोर्खाका रामप्रसाद बगालेले आफू बिचल्लीमा परेको भन्दै गुहार लगाएक छन् । उक्त खबरमा जनाइएअनुसार बगालेले भनेका छन्– ‘खाएर बसेर ८० हजार रुपैयाँ महिनामा बचत हुने प्रलोभनमा पारेर ल्याउनुभयो, रहरले विदेशिएको होइन, घरको आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि ऋण गरेर विदेशिएका हौँ । एजेन्टहरूले अलपत्र अवस्थामा पारिदिए ।’
खान–बस्नमा समस्या भएको भन्दै एजेन्टहरूलाई हारगुहारगर्दा पनि सहयोग नपाएको गुनासो बगालेले पोखे, ‘कोरानाले गर्दा काम पनि पाइएको छैन, धेरैथोरै सहयोग गरिदिनुपऱ्यो भन्दा पनि कुनै मतलव गर्दैनन् ।’
बगालेको रोदन भर्खरैको हो । स्रोतका अनुसार माल्टाको एनआरएनएका अध्यक्ष, सचिवलगायत, पूर्वकोषाध्यक्ष सोम सापकोटासमेत मानव तस्करी कार्यमा बिचौलिया भएको आरोप लाग्दै आएको छ । सोम सापकोटा पहिले पोर्तुगल थिए, त्यहाँ दलालको आरोप लाग्यो । त्यसपछि डेनामार्क पुगे । त्यहाँबाट समेत खेदिएपछि बेलायत र बेलायतमा पनि बस्न नसक्ने अवस्था आएपछि अहिले माल्टा आएर ग्रोसरी पसल खेलेर बसेको स्रोत बताउँछ । उनी त्यहाँका मानवतस्करहरूसँग मिलेर पैसा कमाउने खेती गरिरहेको आरोप लाग्दै आएको छ ।
गुल्मी तम्घासकी अनिता गौतमसँग कुरा गरिएको हवाला दिँदै अनलाइन मिडियामा उनको पीडादायी भोगाइबारे पनि बयान लिइएको छ । अनिताको भनाइअनुसार दलालहरूको आश्वासनमा परेर माल्टामा पुगेको तर यहाँ खान–बस्नका लागि नेपालबाट नै रकम झिकाएर बाँच्नु परेको छ ।
पीडितहरूका अनुसार दलालहरू एनआरएनए माल्टाको नेतृत्वमा पनि छन्, बाहिर पनि छन् र ग्रोसरी दोकानतिरबाट पनि निर्देशित छन् । सब भागबण्डामा चलेकोले ‘तैँचुप मैचुप’ शैलीमा सक्रिय रहेका छन् । मिलेर खान्छन् र खौरेका जुँगा मुसार्दै ढुक्कसँग बाटोमा हिँड्छन् ।
पीडितका धेरै उजुरी लिखित हुन् या मौखिक पत्रकार महासंघ युरोपमा समेत आइपुगेका छन् । रिपोर्टहरू लन्डन दुताबाससम्म पनि छिरेका छन् । तर हामी जस्ता सञ्चारकर्मी बाहेक अन्य चुप छन् किन ?
पीडित महिलाहरूले भनेका छन्, ‘जसले हामीलाई सहयोग गर्छ भनेर सोचिरहेका हुन्छौँ, उनीहरूले नै अनेक प्रलोभन दिएर मानसिक र शारीरिक शोषणसमेत गर्न खोज्छन् । मान्छे नेपालबाट ल्याउने काम एनआरएनए माल्टाका कार्यसमिति भित्रैबाटै निर्देशित छ । यो हामी दाबीका साथ भन्न सक्छौँ, तर खुलासा गरे खैरियत रहन्न भन्दै दलालहरूले नै उल्टो धम्क्याउँछन् ।’ उनीहरूको माग छ कि एनआरएनएका अध्यक्ष, महासचिवलगायत दलाली गरिरहेका केन्द्रिय सल्लाहकार समेतलाई कारवाही गरिनु पर्छ । तुरुन्त कारवाही हुनुपर्छ । दलालको आर्थिक शोषण र धम्कीका कारण माल्टामा कसैले आत्महत्या गऱ्यो भने त्यसमा यी दलाल जिम्मेवार हुने कि नहुने ? माल्टाको अवस्था यसरी पेचिलो भयावह बन्दै गएको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाका अध्यक्ष राजु अर्याल (बाबु)ले मिडियालाई दिएको प्रतिक्रियामा ‘व्यक्तिगत बोलावटमा आफ्नो परिवार, नजिकका आफन्त र नातेदारलाई माल्टा झिकाएको’ स्वीकार गरेका छन् । यसको मतलब उनले आफ्नो दलाली धन्दा स्वीकारिसकेका छन् । अब त्यही आधारमा उनलाई माल्टाको क्रिमिनल कोर्टमा मुद्धाको तयारी गर्न मिल्छ कि मिल्दैन ? त्यसबारे एनआरएन अगुवाहरूले तुरुन्त सोच्नु जरुरी छ ।
त्यस्तै पत्रकार महासङ्घ माल्टा (Institute of Maltese Journalist, www.igm.org.mt) को केन्द्रीय कार्यालयमा गएर आफ्ना समस्या राख्दै दलालहरूको बारे सूचना दिन सकिन्छ । निरीह नेपालीलाई अलपत्र पारेर रुपैयाँको चाङमा सुते पनि बिचौलियाले चयनको सास लिन पाउने छैनन् भनेर सन्देश दिने सञ्चारकर्मीहरू नै हुन् । उनीहरू पनि त्यहाँका समस्याबारे कस्सिएर अनुसन्धानमा लाग्नु आवश्यक छ । अझै पनि भनिरहेका छौँ समाजका अगुवा समेत सम्मिलित एनआरएनएको आडमा दलाली नगर्नुस् ! यदि दलालीबाटै धन आर्जन गर्ने लत बसेको छ भने माल्टाको कानुनी आधारमा टेकेर, तथ्यगत सूचना प्रवाह गरेर, कामको ग्यारेन्टी गरेर राष्ट्रको झन्डाको बदनाम नगरीकन वैधानिकतामा टेकेर धन्दा गर्नुस् । नेपाली झन्डा वा संघ–संस्थाको छायामा लुकेर दलाली गदोँ तपाईं एक न एक दिन कानुनको फन्दामा पर्नुहुनेछ, यो बुझ्नुस् !
दलाल आरोपित अध्यक्ष अर्यालको हास्यास्पद भनाई छ– ‘मैले दलाली गर्ने होइन, यहाँका एजेन्टहरूलाई डकुमेन्ट बुझाउने हो । माल्टिज एजेन्टले मागेको रकम दिएर नेपालीलाई सहयोग गरेको मात्रै हो । आफन्तलाई म्यानपावर व्यवसायीसँग वा अन्य माध्यमबाट ल्याउनुभन्दा केही सहुलियत रकममा आफै किन नल्याउने भनेर सहयोग गरेको हुँ ।’ यस्तो वाहियात तर्क दिएर तपाईंहरूले अब उन्मुक्ति पाउनुहुन्न ।
यस्तै, संघका महासचिव सन्देश केसीले मानिसहरू ल्याएको तथ्य स्वीकार गरिसकेको देखिएको छ । प्रथम कुरा, उहाँले यो पवित्र संस्थामा बसेर दलाली गर्न मिल्छ कि मिल्दैन ? दोश्रो, मैले ल्याएका मान्छेले गुनासो गरेका छैनन् भनेर उम्कने बहाना बनाउनु कति जायज हो ?
केसीले नै माल्टामा नेपाली ल्याउन नेपाली–नेपालीबीच नै प्रतिस्पर्धा हुने गरेको समेत खुलासा गरेका हुन् । एक ‘लाइभ शो’मा उनले ‘इमिग्रेशनमा कडाइ हुने हुँदा श्रमस्वीकृतिदेखि एयरपोर्टसम्म सेटिङमा काम हुने र त्यसमा व्यापक समेत ठगी हुने गरेको’ उल्लेख गरेका छन् ।
लण्डनस्थित नेपाली राजदूतावासका नियोग उप–प्रमुख शरदराज आरणले स्वीकार गरेअनुशार माल्टाका केही एजेन्सीहरूले दुतावासको लेटरप्याडहरू, डकुमेन्टहरू कीर्ते गरेर, दुरुपयोग गरेर पनि मान्छे ल्याउने काम भयो भनेर दूतावासमा कम्प्लेन गरेको बताइन्छ । यदि नेपाली दलालहरूले नियोगको बदनाम हुने गरेर कीर्ते गरेका हुन् भने दुतावासले कारवाही प्रक्रिया आरम्भ गरिहाल्नु पर्दछ । अन्यथा दुतावास नै यो धन्दामा मिलिमोतो गरिरहेको त छैन भनेर आशङ्का गर्ने अवस्था रहन्छ ।
कतिपय अवस्थामा एजेन्टहरूको डरत्रासकै कारण पीडितहरूले आफ्ना समस्या बाहिर नल्याएको बताइन्छ । क–कसको संलग्नता छ, योबारे सुक्ष्म छानविन हुनुपर्छ । तीन सय युरो पनि खर्च नलाग्ने प्रक्रियामा लाखौँ रकम खर्चनुपर्ने बाध्यता कसले बनायो ? पीडितहरूको यो प्रश्नको जवाफ दलालहरूसँग पक्कै छ तर खान पल्केका छुचुन्द्रे प्रवृतिका व्यक्तिहरूले त्यसको उत्तर दिएर आफैलाई किन फसाउँथे र ?!
(पंक्तिकार घटना र विचार साप्ताहिकका युरोप संवाददाता एवम् पत्रकार महासङ्घ युरोप शाखाका वरिष्ठ उपाध्यक्ष हुन् ।)
यो पनि हेर्नुहोस्–
भूमध्यसागरको नीलो हीरा माल्टामा बिचौलियाहरूको बिगबिगी
प्रतिक्रिया