पेरुका विपक्षीनेतृ फुजीमोरी तीन महिनाको लागि जेलमुक्त

पेरुका विपक्षीनेतृ फुजीमोरी तीन महिनाको लागि जेलमुक्त


भ्रष्टाचारको आरोपमा कारागारमा रहेकी पेरुकी विपक्षी नेत्री किको फुजीमोरीलाई तीन महिनाका लागि जेलमुक्त गरिएको छ ।

राजधानी लिमास्थित महिला कारागारबाट सोमबार (४ मई) जमानतमा बाहिरिने क्रममा नेत्री फुजीमोरीले मास्क र सेतो ग्लोब लगाएकी थिइन् भने जेलबाट बाहिरिनुअघि उनले ट्वीटरमार्फत आफूले तत्कालै कोरोना भाइरसको परीक्षण गर्ने बताएकी एएफपीले जनाएको छ ।

पेरुको अदालतले ४४ वर्षीया फुजीमोरीलाई २० हजार अमेरिकी डलर बुझाएसँगै जमानतमा रिहा गर्न आदेश दिएको बताइएको छ ।

दुई सन्तानकी आमा फुजीमोरीले कोरिल्लोस महिला जेलमा कोरोनाभाइरस संक्रमण हुने खतरा रहेको भन्दै रिहाईका लागि आग्रह गर्दै आएकी थिइन् ।

नेत्री फुजीमोरीद्वारा घर फिर्ता भएलगत्तै जारी गरिएको भिडियो सन्देशमा पेरुका कारागारहरुको अवस्था निकै चिन्ताजनक रहेको चित्रित गरिएको छ ।

फुजीमोरीलाई दुई महिना पहिले जनवरीमा भ्रष्टाचारको आरोपमा थुनामा राखिएको थियो । फुजीमोरीमाथि ब्राजिलको निर्माण कम्पनी ओडीब्रेख्तबाट सन् २०११ को राष्ट्रपतीय निर्वाचनका बखत आफ्नो पार्टीका लागि १२ लाख अमेरिकी डलर घुस लिएको आरोप छ ।

फुजीमोरी पेरुका पूर्वराष्ट्रपति ८१ वर्षीय अल्बर्टो फुजीमोरीकी छोरी हुन् । पेरुमा सन् १९९१ र १९९२ मा भएका दुई वटा आमहत्याका लागि आदेश दिएको आरोपमा पूर्वराष्ट्रपति अल्बर्टो फुजीमोरी २५ वर्षका लागि जेलमा छन् ।