१० हजार कर्मचारी हटाएर तीन अर्ब डलर बचत गर्दै जनरल इलेक्ट्रिक

१० हजार कर्मचारी हटाएर तीन अर्ब डलर बचत गर्दै जनरल इलेक्ट्रिक


विश्वभर फैलिएको कोरोना भाइरस महामारीका कारण मागमा व्यापक कमी आएको भन्दै अमेरिकी कम्पनी जनरल इलेक्ट्रिकले थप १० हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । कम्पनीले खासगरी उड्डयन क्षेत्रमा काम गर्ने मजदूरहरु हटाउन लागेको हो ।

जीई भनेर चिनिने यस कम्पनीले जारी गरेको विज्ञप्तिमा प्रारम्भमा मार्चमा २ हजार ६०० कर्मचारी कटौती गर्ने जनाएको थियो । कम्पनीले उड्डयन क्षेत्रका कारखानाबाट करिब २५ प्रतिशत रोजगारी कटौती गर्ने अर्थात १३ हजार कर्मचारी हटाउने लक्ष्य राखेको छ ।

यस्तै, बोइङले पनि गत साता नागरिक विमान उत्पादन कारखानामा कार्यरत करिव १० प्रतिशत अर्थात १६ हजार कर्मचारी हटाउने घोषणा गरेको थियो । बोइङका ७८७, ७७७ र ७३७ म्याक्स शृंखलाका विमानहरु निर्माणमा अवरोध आएपछि उत्पादनमा व्यापक कटौती भएको छ । बताइएअनुसार बोइङको यस समस्याका कारण जीई कम्पनीले पनि क्षति ब्यहोर्नु परेको छ । जीई कम्पनीले बोइङ र एयरबस दुबैका लागि इन्जिन निर्माण गर्दछ ।

गत फेब्रुअरीको तुलनामा दोस्रो चौमासिकमा विश्वभर नै हवाई उड्डयनमा ८० प्रतिशतले कमी आउने जीईको अनुमान छ । जीईले आफ्ना करिब ५२ हजार कर्मचारीलाई यस विषम परिस्थितिका बारेमा लिखित जानकारी पनि दिइसकेको एएपपीले जनाएको छ ।

जीईका सिइओ डेभिड जोयसले कर्मचारीहरुलाई पठाएको पत्रमा कम्पनीको व्यवसाय जोगाउन पनि कर्मचारी कटौतीजस्तो कठिन निर्णय गर्नु परेको तर्क गरेका छन् । यो कर्मचारी कटौतीको मुख्य उद्देश्य नै यस वर्ष करिव ३ अर्ब डलर बचत गर्नु हो ।

यसबाहेक, विमानहरुको मर्मतका क्षेत्रमा कार्यरत आधाभन्दा बढी कर्मचारीले तीन महिनादेखि काम पाएका छैनन् । नयाँ कर्मचारी भर्ना रोकिएको छ भने बोनस बाँड्ने अवस्था छैन ।

जीईको पहिलो चौमासिकमा आम्दानीमा झण्डै ८ प्रतिशतले कमी आई २० अर्ब ५० करोड डलरमा सीमित भएको छ ।