अफगानी सरकारद्वारा थप १०२ तालिवानी कैदी जेलमुक्त

अफगानी सरकारद्वारा थप १०२ तालिवानी कैदी जेलमुक्त


अफगानी सुरक्षा परिषद्ले सय भन्दा बढी तालिबानी बन्दीहरूको रिहाइको पुष्टि गरेको छ । अफगानिस्तानको सरकारले यस वर्ष फेब्रुअरीमा अमेरिका र तालिबान समूहबीच शान्ति सम्झौतामा कैदीबन्दीलाई रिहाई गर्ने सहमतिअनुरुप १०२ थप तालिवान कैदीहरूलाई रिहा गरेको हो ।

‘राष्ट्रपति असरफ घानीको निर्देशनको आधारमा सरकारले तालिवानी नेता तथा लडाकूहरूलाई सोमबार रिहा गरिएको हो,’ मङ्गलबार (५ मई) अफगानी सुरक्षा परिषद्द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘सहमति अनुसार अहिलेसम्म ८५० तालीवानी नेता तथा लडाकस्लाई रिहा गरिसकिएको र अन्य ६५० जनालाई प्रक्रिया पुर्‍याएर क्रमशः रिहा गरिनेछ,’ सुरक्षा परिषद्का प्रवक्ता जाविद फैसलद्वारा हस्ताक्षर गरिएको ‘ट्वीटर’मार्फत् जारी विज्ञप्तिमा भनिएको छ ।

तालिवान कैदीहरूलाई उनीहरूको उमेर, स्वास्थ्य र बाँकी सजायको आधारमा रिहा गरिने र उक्त कदम शान्तिका लागि अमेरिका र तालिवानबीच भएको प्रतिवद्धता र जेलमा रहेका कैदीलाई कोभिड–१९ जोखिमबाट कम गर्ने नीति अनुरूप भएको जाविद फैसलले दुई दिन पहिले सञ्चारकर्मीसँगको कुराकानीमा बताएका थिए ।

यस वर्षको फेब्रुअरीमा तालिवान र संयुक्त राज्य अमेरिकाले शान्ति सम्झौतामा पुगेपछि अन्तर–अफगानी वार्ताको बन्दी र आदानप्रदान सम्भव भएको हो । यद्यपि यस अवस्थामा अफगानिस्तानको चुनावी झगडा र बन्दीहरूको रिहाइको विषयमा आपसी असहमतिका कारण वार्ता ढिला भएको एएनआईले जनाएको छ ।

तालिवानी समूहले शान्ति सम्झौताको आधारमा पाँच हजार कैदीहरूलाई रिहा गर्न माग गरिरहेको छ तर आन्दोलनका एक हजार ५०० सदस्यलाई रिहा गर्न सहमत भएको अफगानिस्तान सरकारले बिस्तारै उनीहरूको रिहाई गरिरहेको छ ।