कोरोनाबाट ज्यान गुमाउनेमा बेलायत अमेरिकापछिको दोस्रो

कोरोनाबाट ज्यान गुमाउनेमा बेलायत अमेरिकापछिको दोस्रो


कोरोना भाइरसबाट बेलायतमा युरोपका अरु देशको तुलनामा सबैभन्दा धेरैको ज्यान गएको बताइएको छ । बेलायतमा यस संक्रमणबाट मृत्यु हुनेको संख्या यूरोपका अन्य राष्ट्रभन्दा बढी देखिएको छ ।

बेलायतको सरकारी निकायको तथ्यांकअनुसार बेलायतमा बुधबार (६ मे) बिहानसम्म कोभिड–१९ को संक्रमणले २९ हजार ४२७ जनाको मृत्यु भएको छ । यो युरोपमा अहिलेसम्म सबैभन्दा धेरैको ज्यान गएको भनिएको इटालीभन्दा पनि धेरै हो । इटालीमा यस प्रकोपबाट ज्यान जानेको संख्या २९ हजार ३०० रहेको छ ।

बुधबार दैनिक पत्रकार भेटघाटका क्रममा बेलायती विदेशमन्त्री डोमिनिक राबले बेलायतले छोटो अवधिमा यति धेरै संख्यामा बेलायती नागरिकको मृत्यु होला भन्ने नसोचेको बताएका थिए । आफूले आफ्नो देशको इतिहासमा यति धेरै व्यक्तिको मृत्यु हुने घटना कहिल्यै नदेखेको प्रतिक्रिया उनको थियो ।

बेलायतमा विश्वका अन्य राष्ट्रहरुको अपेक्षा कोभिड–१९ संक्रमितको मृत्यु दर पनि बढी छ । इटालीमा कोभिड–१९ को संक्रमणले हालसम्म २९ हजार ३१५ जनाको मृत्यु भएको छ, जुन बेलायतभन्दा कम हो । तर इटालीभन्दा बेलायतमा संक्रमण दर र मृत्यु दर पनि बढिरहेको देखिएको छ ।

बेलायतमा परीक्षण दर पनि कम रहेको बताइएको छ । बेलायतमा आजसम्म १३ लाख ८३ हजार ८४२ जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ ।

बुधबार बिहानसम्म बेलायतमा कोरोना भाइरसको संक्रमितको संख्या एक लाख ९६ हजार पुगेको देखिएको छ । यसरी हेर्दा बेलायत विश्वमा कोरोनाबाट सबैभन्दा धेरै नागरिकको ज्यान जाने देश अमेरिकापछिको दोस्रोमा रहेको छ ।