इराकमा अमेरिकापक्षीय पूर्व गुप्तचर–प्रमुख प्रधानमन्त्रीमा निर्वाचित

इराकमा अमेरिकापक्षीय पूर्व गुप्तचर–प्रमुख प्रधानमन्त्रीमा निर्वाचित


इराकका पूर्व गुप्तचर प्रमुख मुस्तफा खादिमी नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । अमेरिकापक्षीय मानिने खादिमीलाई इराकको संसदले बिहीबार (मे ७) प्रधानमन्त्रीमा निर्वाचित गरेको हो ।

अमेरिकाको न्युयोर्क टाईम्सले पनि खादिमीको सम्बन्ध अमेरिकासँग धेरै राम्रो रहेको र उनी क्षमतावान व्यक्ति भएको जनाएको छ ।

तत्कालिन प्रधानमन्त्री अदेल अब्दुल मेहदीले राजिनामा दिएपछि लामो समयपछि खादिमी प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

इराकमा लामो समयदेखि कामचलाउ प्रधानमन्त्रीको भरमा सरकार सञ्चालन भइरहेको थियो भने सरकार विरोधी प्रदर्शनहरू पनि भइरहेका थिए । प्रदर्शनकारीहरूले रोजगारी र सुशासनको माग गरेका थिए । उनीहरूले भ्रष्टाचार अन्त्य गर्न र सरकारका काम कारबाही राम्रो बनाउन आग्रह गर्दै आएका थिए ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि खादिमीले इराकको सुरक्षा, समृृद्धि र उत्थानका लागि संसदले आफुलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको बताएका एएनआईले जनाएको छ ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत् उनले सवैभन्दा पहिलो प्राथमिकता कोरोना भाइरसविरुद्धको लडाईँ हुने पनि उल्लेख गरेका छन् । इराकमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दुई हजार ४८० पुगेको छ भने १०२ व्यक्तिको विश्वव्यापी प्रकोपका रूपमा फैलिएको यस भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।