मधेसवादी दलको सत्तालिप्साले मधेसको समस्या ओझेलमै

मधेसवादी दलको सत्तालिप्साले मधेसको समस्या ओझेलमै


-सुरक्षा ठाकुर
मधेस र मधेसीको समस्यामाथि राजनीति मात्र गर्ने, मत मात्र पाउन खोज्ने तर समाधान नचाहने मधेसी मूलकै पार्टी वा नेताहरूको सोच-व्यवहार-नीतिका कारण मधेसी नागरिकको जीवन दिन-प्रतिदिन कष्टप्रद हुँदै गइरहेको छ । मधेस बन्द वा आक्रान्त भयो भने मधेसवादी दलका कार्यकर्ताले मात्र दुःख पाउँछ भन्ने खसवादी सोच नै अराष्ट्रवादी चिन्तन हो । मधेसमा जीवन कष्टकर भयो भने त्यहाँ बसोवास गर्ने पहाडी, हिमाली पनि उत्तिकै प्रभावित हुन्छन् । पहाडीले मधेसीसँग वा मधेसीले पहाडीसँग भेदभाव गर्‍यो भने समग्रमा नेपालीले नेपालीलाई नै शोषण, दमन र उत्पीडन गरिरहेको हुन्छ । नेताहरू जनता जुधाएर बाँच्छन् तर जनता एक-आपसमा जुधेर के पाउँछन् ? मधेसीसँग गरिने भेदभाव, छुवाछूत र असमान व्यवहारविरुद्ध आवाज उठाउने जम्मेवारी मधेसी मात्रको किन ? समाजका सचेतवर्ग, कानुनव्यवसायी, सञ्चारकर्मी र अधिकारकर्मीहरू विभेदरहित साझा र सम्पन्न नेपालको निर्माणका लागि संयुक्त प्रयास किन गर्दैनन् । मधेससँग सीमा, जनसङ्ख्या, क्षेत्र र सुशासन गर्न सक्ने क्षमतावान नेताहरू छन् । मधेसको समस्यालाई राष्ट्रिय समस्याको रूपमा तत्काल सम्बोधन गरिएन भने पक्कै राजनीतिक विस्फोट हुन्छ ।
मधेसमा भएको समस्यामाथि विचार गर्न छोडेर त्यहाँ बसोबास गर्ने पहाडी र मधेसी मूलका व्यक्तिलाई फोड्ने र अलग गर्ने कार्य हुन्छ । समस्या भनेको केवल समस्या हो । त्यसलाई समस्याको नजरबाट नै हेर्नुपर्छ । मधेस, पहाड र हिमाल भनेर छुट्याउनु हुँदैन । यो समस्यालाई सिङ्गो राष्ट्रको समस्याको रूपमा लिनुपर्छ । मधेस पहिलेदेखि नै हेपिँदै आएको छ । सधैं मधेसलाई एउटा कमजोर ठाउँ भनेर हेपेका छन् । किन सरकारको नजर जहिले पनि मधेसमा कम परेको हो ? सिङ्गो राष्ट्रमा मधेसलाई किन सधैँ एउटा हेपाहा प्रवृत्तिले हेर्ने गरिएको छ –
मधेसमा विकास निर्माणको कार्यहरूको थालनी हुनुपूर्व नै विकासका योजनाहरू हराएर जान्छ । मधेस आज आक्रान्त अवस्थाबाट गुज्रिरहेको छ । हत्याहिंसाले ठाउँ ओगट्दै गइरहेको छ । त्यसप्रति कुनै ठूला दलको ध्यान जान सकेको छैन । मधेसका समस्याका लागि मधेसी पार्टीले मात्र पहल गर्नुपर्ने ! ठूला पार्टीहरूचाहिँ केवल सत्तालिप्सामा मात्र अल्झिरहने ? नेपाली काङ्ग्रेस, एमाले आज ठूलो पार्टीको रूपमा चिनिन्छन् र त्यसको विकास र विस्तार नै मधेसबाट भएको हो । तर, अहिले काङ्ग्रेसले मधेसका समस्याप्रति ध्यान दिन सकेको छैन । काङ्ग्रेस मात्र होइन, एमाले, माओवादीलगायतका ठूला पार्टीहरू कसरी हुन्छ सत्ता प्राप्त गर्ने भन्ने अभियानमा लागेकाले मधेसको समस्याप्रति उनीहरूको दृष्टि पुग्न सकेको छैन ।
राजनीतिक पार्टीहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपबाट राष्ट्रको वितरण प्रणालीमा अथवा सुविधा प्राप्त गर्ने क्रममा नै किन नहोस्, सबै पक्षलाई समेट्न सकेका छैनन् । मधेसको वास्तविक समस्या लेखमार्फत मात्र बाहिर आउनु लज्जास्पद हो । मधेसका हितका लागि भनेर जुन पार्टीहरू खुलेका छन्, ती पार्टीहरू पनि आज आ-आफ्नै स्वार्थमा अडेका छन् । सबैको ध्यान सरकार निर्माणमै मात्र केन्द्रित रहेका कारण शान्ति र संविधान ओझेलमा पर्न पुगेको छ । संविधान निर्माणका लागि संविधानसभाको म्याद जतिपटक थपे पनि त्यो र्व्यर्थ गुज्रने गरेको छ । अब के संविधान निर्माण गर्न दलहरू सक्षम त हुन्छन् ? शङ्कै-शङ्काले भरिएको छ- यो प्रश्न ।
मधेसी नेताहरूमाथि मधेसका जनताको पूर्ण विश्वास थियो कि अब मधेसीहरूले सत्तामा ठाउँ पाएपछि मधेसको समस्या हटेर जान्छ । नयाँ बिहानीको उदय हुन्छ, तर त्यस्तो केही हुन सकेन । मधेसमा बसोबास गर्ने जनताले अझैँ न्याय पाउन सकेका छैनन् । जति विश्वासको साथ चुनाव जिताएका थिए, त्यति विश्वास अहिले कुनै नेताहरूले दिन सकेनन्, जनतालाई । के जनता केवल ठगिनका लागि बसेका हुन् त ? के जनता केवल चुनावमा जित्नका लागि भोट चाहिएको बेला भोट पाउने बाटो हुन् त ? चुनाव जितिसकेपछि किन जनताप्रतिको माया हराएर जान्छ त ? किन जनतालाई दिएको विश्वास डगमगाउँदै जान्छ ?
अहिले मुलुकमा दिनदिनै ब्रि्रँदै गएको स्थिति ले सिङ्गो राष्ट्रलाई असर पारेको छ । समयमा कुनै काम पनि पूरा नहुनुले सम्पूर्ण जगत्मा नेपालको एउटा नयाँ चिनारी दिएको छ । मधेसीलाई सत्ता दिइन्छ तर अधिकारको सदुपयोग गर्न दिइँदैन । मधेसलाई कमजोर बनाएर मधेसीहरूलाई अधिकारबाट वञ्चित गर्ने यो ठूलो षड्यन्त्र भइरहेको छ । जब मधेसीले नै मधेसीको खुट्टा तान्ने काम गर्दै छन् भने अरू ठूला पार्टीलाई के भन्ने ? उपराष्ट्रपतिजस्तो गरिमामय पदमा आज मधेसी हुनु यो ठूलो कुरा हो, यो अवसर पाउनु भनेको अवश्य नै खुसीको कुरा हो, तर केही समयअगाडि विभिन्न मिडियामा आएका कुरा सर्वविदित्तै छ- ‘मधेसी दलहरूसँग नेतृत्व गर्ने क्षमता छैन ! ‘ उपराष्ट्रपतिको यो भनाइमाथि मधेसीले दुःख प्रकट गर्नु यो पनि गलत त पक्कै होइन । एउटा क्षमतावान् व्यक्तिलाई अवश्य पनि यो कुरा सुनेर दुःख लाग्न सक्छ । मधेसी नेताहरूको विचारमा त ‘उपराष्ट्रपतिले आफू अवसर पाइसकेपछि अरू मधेसीलाई अगाडि बढ्न नदिनका लागि यस्तो भनेका हुन्’ भन्ने आरोप पनि लगाए । यदि मधेसी दलसँग साँच्चै नै नेतृत्व गर्ने क्षमता नभएको भए आज उपराष्ट्रपति र राष्ट्रपति पदमा मधेसी हुँदैनथे होला भन्ने उनीहरूको तर्क पनि बलियै छ । तर पनि मधेसी दल तथा नेताहरू मधेसलाई उचित अधिकार दिलाउने सवालमा निकै पछि परेकै छन् ।
जुन मधेसले राजा जनक, गौतम बुद्ध, सीता जन्मायो, जुन मधेसले अधिकारका लागि महाभारतजस्ता महायुद्ध लड्यो, जुन मधेसले गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति र उपराष्ट्रपति जन्मायो, त्यही मधेस भूमिका वीर छोराहरूलाई अपशब्द प्रयोग गर्ने अधिकार कसैलाई पनि छैन । खस समुदायलाई क्षणिक खुसी पार्न र पद जोगाइराख्न आफ्नो माउ पार्टी, मातृभूमि र मधेसवादी नेताहरूलाई होच्याउनु कुनै कोणबाट पनि उचित देखिँदैन । मधेसीले नेतृत्व गर्ने अवसर पाए भने मात्र मधेस आक्रान्त हुनबाट जोगिन्छ । मधेसीलाई अवसर दिनैपर्छ । आज महन्थ ठाकुरजस्ता नेता नेतृत्व गर्नका लागि हरेक कोणबाट सक्षम हुनुहुन्छ तर खस समुदायका कारण उहाँलाई अवसरबाट वञ्चित राखिएको छ । मधेसीलाई सही स्थानको खाँचो छ, सही समयको खाँचो छ जुन दिन मधेसीले नेतृत्व गर्ने सही स्थान पाउँछ त्यसपछि साँच्चै नै मधेस एउटा सपनाको ठाउँमा परिणत हुन्छ होला । मधेसका समस्या हराएर जान्छ होला । मधेस सुन्दर र शान्त बन्थ्यो होला । सबै मिलेर मधेसलाई जोगाउनुपर्छ । एउटा मधेसी भएर जन्मेपछि आफ्नो मरुभूमिसँग माया गर्ने कर्तव्य पनि हुन जान्छ र यो कर्तव्यलाई पूरा गर्नुपर्छ । आज मधेस छ तर यसरी नै अवस्था बिग्रिरह्यो भने भोलि मधेश हराएर जान्छ । त्यसैले बेलामै सबैले मधेसको बारेमा सोच्नुपर्छ, मधेसी जनताको कसरी हकहितको सुरक्षित गर्ने, उनीहरूलाई अधिकारबाट प्रत्याभूत गराउने, नेताहरूले यस विषयमा ध्यान दिनुपर्छ । मधेसबिनाको नेपाल कल्पनासमेत गर्न सकिन्न । साझा र सम्पन्न नेपाल निर्माण गर्ने हो भने नेपालभित्रका कुनै पनि नागरिक कुनै किसिमको विभेदको सिकार हुनु नपरोस् भन्ने वातावरणको निर्माण हुनैपर्छ ।-मधेश दर्पण