राहत शिविरबाट लखेटिएका नेपालीको व्यवस्थापनका लागि भारतीय नेता धर्नामा

राहत शिविरबाट लखेटिएका नेपालीको व्यवस्थापनका लागि भारतीय नेता धर्नामा


क्वारेन्टाइनबाट निकालिएका १५० भन्दा बढी नेपाली मजदुरको व्यवस्थापन गर्न दबाबस्वरुप भारतको उत्तराखण्ड प्रदेश कंग्रेस आइका महासचिव भुवन कापरी खटिमामा धर्नामा बसेका छन् ।

उत्तराखण्डको काशीपुर र रुद्रपुरमा १४ दिन क्वारेन्टाइन राखिएपछि क्वारेन्टाइन बसेको पत्र हातमा थमाउँदै नेपालीलाई त्यहाँबाट लखेटिएको थियो । सो घटनाप्रति आपत्ति जनाउँदै उनले उत्तराखण्ड सरकारसँग उचित व्यवस्थापनको माग गर्दै साङ्केतिक धर्ना दिएका हुन् ।

करिब सय किलोमिटर पैदल हिँडेर भारतीय बजार खटिमा पुगेका १५० भन्दा बढी नेपालीले कंग्रेस प्रदेश महासचिव कापरीले भोजनको व्यवस्थापनसमेत गरेका बताइएको छ ।

खटिमाको सञ्जयपार्क शहीद स्मृतिमा धर्नामा बसेका कापरीले ‘लखेटिएका नेपालीलाई पुनः त्यही क्वारेन्टाइनमा राख्नुपर्ने, क्वारेन्टाइन नबसेकालाई खटिमामै क्वारेन्टाइनमा राख्नुपर्ने र नेपाल सरकारले पनि आफ्ना नागरिक लैजान पहल गरोस् भनेर धर्नामा दिइएको’ प्रतिक्रिया दिएका छन् ।

प्रवासी नेपालीको समस्याप्रति गम्भीर सरोकार राख्दै उनले आफ्नो फेसबुक वालमा लेखेका छन्– ‘अतिथि देवता समान हुन् भन्ने हाम्रो संस्कृति रहिआएको छ । सरकारसँग म प्रश्न गर्छु कि के यो परम्परा हामीले भुल्यौँ ? आज नेपाली प्रवासीहरू, जो हाम्रा दाजुभाइ हुन्, उनीहरूमाथि यस्तो अमानवीय व्यवहार किन गरिँदै छ ? सरकारसमक्ष मेरो निवेदन छ कि जबसम्म भारत–नेपाल सीमानाका खोलिँदैन तबसम्म उनीहरूलाई राहत शिविरमा राखियोस्, ता कि उनीहरूले कुनै प्रकारको समस्या झेल्नु नपरोस् ।’

प्राप्त जानकारीअनुसार अलपत्र नेपाली खटिमाको बसपार्क, सडक छेउछाउमा आश्रय लिइरहेको छन् । उनीहरू कञ्चनपुर, जाजरकोट, कालिकोट, डडेल्धुरा, कैलाली र बैतडीका स्थानीयवासी रहेको बुझिएको छ । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायलाई उद्धृत गर्दै राससले जनाएअनुसार सीमावर्ती भारतीय बजारमा नेपाली अन्यत्रबाट आइरहेका छन् । ‘हाम्रो अफिसियल तथ्याङ्कअनुसार सीमावर्ती भारतीय बजार बनबासा र टनकपुर क्वारेन्टाइनमा २५१ नेपाली छन्, नेपाल ल्याउने विषयमा केन्द्रबाट केही निर्देशन आएको छैन’– प्रजिअ उपाध्यायको भनाई छ ।