लन्डन, (जीएनएन) ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा लकडाउन क्रमिक रुपमा खुला गर्न एउटा ‘सशर्त योजना’ सार्वजनिक गरेका छन्।
तर उनले अहिलेका लागि भने लकडाउन कायमै रहने बताए । उनले पाँच तहको खतराको स्तरसम्बन्धी चेतावनी प्रणाली पनि सार्वजनिक गरे।
आइतबार (मे १०) बेलुका टेलिभिजनबाट सम्बोधन गर्दै प्रधानमन्त्री जोन्सनले आगामी बुधबारदेखि मानिसहरुले घरबाहिर थप व्यायाम गर्न पाउने बताए । उनले आउंदो जुन महिनादेखि प्राथमिक विद्यालय र केहि पसलहरु खुल्ने र जुलाई महिनादेखि होटेलहरु खुल्न सक्ने बताए । उनले बेलायत आउने मानिसहरु क्वारेन्टाइनमा बस्नै पर्ने नियम छिट्टै ल्याइने संकेत पनि गरे।
ब्रिटिश सरकारले मानिसहरुलाई ‘घरमै बस्नोस्’ भन्ने संदेशको सट्टा ‘सावधान रहनोस्’ भन्ने संदेश सार्वजनिक गरेको छ । तर, स्कटल्याण्डकी प्रथममन्त्री निकोला स्टरजनले आफुहरुले ‘घरमै बस्नोस्’ भन्ने सल्लाह नै मानिसहरुलाइ दिने बताएकी छिन् ।
प्रधानमन्त्री जोन्सनले इंगल्याण्डमा बस्ने र घरबाट काम गर्न नसक्ने मानिसहरुले कार्यालयमा गएर काम गर्न सक्ने पनि बताए । तर सरकारले सकभर कमभन्दा कम मानिसहरुले मात्रै सार्वजनिक यातायात प्रयोग गरुन् भन्ने चाहेको छ।
यसैबीच ब्रिटेनको मुख्य विपक्षी दल लेबर पार्टीका नेता सर कियर स्टारमरले प्रधानमन्त्रीको वक्तव्यमा स्पष्टता र सहमतिको अभाव भएको बताएका छन् ।
बीबीसीसँग कुरा गर्दै उनले भने, ‘अब इंगल्याण्ड, स्कटल्याण्ड र वेल्स फरक फरक दिशामा अघि बढ्ने सम्भावना देखिएको छ । त्यसैले सरकारले ठूलो खाडल भर्नु पर्ने देखिन्छ।’
प्रतिक्रिया