अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले सेल्फ क्वारेन्टाइनमा नबस्ने अभिव्यक्ति दिएका छन् । आफ्ना सहयोगीलाई कोरोना भाइरसको सङ्क्रमण देखिए पनि पेन्सले सेल्फ क्वारेन्टाइनमा बस्न अस्वीकार गरेका हुन् ।
उपराष्ट्रपतिका प्रवक्ता डेभिन ओमाल्लीले उपराष्ट्रपति पेन्स क्वारेन्टाइनमा बस्ने कुनै योजना नरहेको र नियमित रुपमा आफ्नो काम गरिरहने बताएका एएनआईले जनाएको छ ।
उपराष्ट्रपति पेन्सका एक जना सहयोगी तथा सञ्चार सचिव केट मिल्लरलाई कोरोना भाइरसको सङ्क्रमण भएको स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् ।
सहयोगीलाई सङ्क्रमण भएकाले उपराष्ट्रपति पेन्सलाई पनि सङ्क्रमण भएको हुन सक्ने, नदेखिएको हुन सक्ने र उनबाट अरुलाई पनि सर्न सक्ने भएकाले उनी सेल्फ क्वारेन्टाइनमा बस्नु उपयुक्त हुने सुझाव धेरैले दिएका थिए । तर उनले भने आफु नियमित रुपमा कार्यालय जाने, काम गर्ने र आफ्नै कार्यालयको स्वास्थ्य इकाइसँग निरन्तर परामर्शमा रहने जानकारी दिए ।
उपराष्ट्रपति पेन्सका अर्का एक सहयोगीले पहिलाभन्दा केही सतर्कता अपनाउने तर पूर्ण रुपमा सेल्फ क्वारेन्टाइनमा भने नबस्ने निर्णय भएको बताएका छन् ।
सञ्चारसचिव मिलरलाई गत शुक्रबार (मे ८) कोरोना सङ्क्रमण भएको पुष्टि गरिएको थियो । ह्वाइट हाउसमा कार्यरत भएका कोरोना भाइरसबाट सङ्क्रमितमध्ये उनी दोस्रा व्यक्ति हुन् ।
विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु भएका र सङ्क्रमित भएकाहरुको सवैभन्दा धेरै संख्या अमेरिकामै रहेको छ ।
प्रतिक्रिया