जनमुक्ति सेना र निचोरेको कागती-वीरबहादुर महतरा (प्रशान्त)

जनमुक्ति सेना र निचोरेको कागती-वीरबहादुर महतरा (प्रशान्त)


कुनै पनि समाजमा जब राजनीतिक पार्टीको उदय हुन्छ, उसले हरेक सामाजिक परिवर्तनको नारासहित आफ्नो अभियान थाल्दछ र जसले गर्दा उसले बोकेर हिँडेका सामाजिक-राजनीतिक परिवर्तनको मुद्दालाई हरेक नागरिकले बोक्छन् र नयाँ उचाइमा पुर्‍याउन ठूलो मद्दत गर्दछ । हो, त्यही उद्देश्यका साथ नेपालमा आफ्नो अस्तित्वसहित हरेक वर्गको उत्थानका लागि राजनीतिक यात्रा प्रारम्भ गरी एनेकपा माओवादीको भयो, जसले एक दशक लामो भूमिगत राजनीति गर्‍यो । त्यो अवधिमा नेपाली जनताको मनमा पस्यो र भावनाहरू साँटागाँटा गरी जनताकै बीचमा आफूलाई यसले उभ्यायो । हामीजस्ता हजारौँ युवा पूर्णकालीन कार्यकर्ताका रूपमा लागिपर्‍यौँ । हामीलाई न त आफ्नो पढाइ प्यारो भयो न आफ्नो स्वतन्त्र रूपले लगिरहेको बाल्यकालको अवस्थालाई हेर्‍यौैँ, न त भविष्यको कल्पना नै गर्‍यौँ । मात्र सोच्यौँ माओवादी पार्टीले उठाएको हरेक राजनीतिक मुद्दाले हाम्रो समाजको रूपान्तरण गर्दछ । जसले गर्दा हामी युवाहरू यो पार्टीमा लाग्यौँ । सायद अहिले आएर यो स्थितिमा आइपुग्दा सम्भवतः माओवादी र माओवादीभित्रका नेताहरूको चरित्र खासगरी हिजोको जीवनशैली र आजको शौखिन जीवनशैली हर्ेदा अनि यी नेताहरूको हरेक कार्यकर्ता र जनमुक्ति सेनालाई आफ्नो भर्‍याङ बनाएको देख्दा अनि जनमुक्ति सेनालाई नेताहरूको खल्ती भरिदिने र बार्गेनिङ गरिरहने थलोका रूपमा प्रयोग गरेको देख्दा साथै नेतापिच्छे विभिन्न खालका आ-आफ्नै डम्फु र खैजडी बजाएको सुन्दा जति आक्रोशले ठाउँ ओगटे पनि त्यसलाई विवेक गुमाउँदै ठीकै हो भनेर चित्त बुझाउनुपर्छ ।
हो, हिजो यिनै नेता प्रचण्ड, बाबुराम जसले अनेक सपना बुनेर, सुन्दर कल्पना बाँडेर आमजनता र सिङ्गो पार्टी पङ्क्तिभित्रका कार्यकर्ता-नेताहरूलाई चर्को भाषणबाजी गरी सबैलाई मख्ख पार्थे । भाषणको बीचबीचमा सर्वसाधारणको ताली खानकै लागि कति जानेको झुटोलाई साँचो बनाई काँचोलाई पाको बनाई भ्रममा पार्थे । बरु ठीकै थियो हिजो जनताको ताली त खान्थे अहिले त दलालसँग मिलेर घुस र कमिसन खान थालेका छन् । तर, यो विषय उहाँहरूकै ठाउँमा छँदै छ । खास म हाम्रो नेतृत्व र अझ खास क. प्रचण्डलाई केमा ध्यान दिलाउन चाहन्छु भने जुनबेला उहाँलाई कार्यकर्ता र सेना चाहियो त्यसबेला खुबै भुलाएर रिझाउसम्म रिझाए । जब सेना आफ्नो लागि घाँडो बन्यो अथवा आफू कुर्सीमा पुग्नका लागि अरू पार्टीले यसलाई सधैं मुद्दाको रूपमा उठाउँदा स्वयम् उहाँ आफैंलाई यो सेना साथमा रहेसम्म सत्तामा पुग्न नसकिने निचोड निकाल्न थाले तब उहाँलाई एलर्जी हुन थाल्यो । र, सेनालाई मान्य होस् या नहोस् त्यसको कुनै हेक्का नराखी पाखा लगाउन थाले, सायद यसैको परिणाम हो कात्तिक १५ गते राति भएको सातबुँदे सम्झौता । जसले गर्दा हिजो यिनै प्रचण्डले बाँडेका सपना र हामीले बुनेका सुन्दर कल्पनाहरू आखिर यही एउटा सेतो कागजको खोस्टोमा बालुवाटारको आँगनमा आएर उडायो ।
तर, एक्कासि त्यति ठूलो हावा कहाँबाट आयो त्यो भने सबैले जान्नैपर्छ । सम्भवतः दक्षिणतिरकै हुनुपर्छ । किनभने भर्खरै केही दिनअगाडि मात्र प्रचण्ड दिनदहाडै आफ्नै देशबाट हराएर नजिकै दक्षिण गेटतिर छिरी हावाको गति नापेर आएका थिए । पछिल्लो समयमा दुई संगी बाबुराम र प्रचण्ड मिलेर सातबुँदे सहमतिलगत्तै एउटा सङ्क्रमणकालीन अध्यायको अन्त्यको घोषणा गरे । सायद त्यो घोषणा घोषणामा मात्र सीमित हुनेछ । किनभने हिजोको परिवर्तनको एक मात्र संवाहक शक्ति जनमुक्ति सेनालाई दसैंको खसीबोकाझैं गरेर मोलतोलाई गरिएको छ । यसले गर्दा समग्र जनमुक्ति सेनामा वितृष्णा पैदा गराएर अर्को अध्यायको ढोका खुल्नेछ यो पनि जानकारी राख्दा राम्रो होला । यो सम्झौताले केही रूपमा कतिपयलाई ठीकै नतिजा देला तर समग्र जनमुक्ति सेनाभित्र यसले एक खालको आक्रोश पैदा गरेको छ । किनभने हिजो कुनै समयमा प्रचण्डले हामीले बाटो बिराएर हिँड्यौँ भने चारकोसे झारीमा पुगिन्छ त्यसैले बाटो बिराउनु हुँदैन भनेर प्रशिक्षण दिन्थे, आज त्यो प्रशिक्षणका भाका खै कता हरायो ! अनि हामीलाई कसैको आशीर्वाद पनि चाहिँदैन भन्थे तर अहिले आएर आशीर्वाद त सबैभन्दा बढी उहाँलाई नै चाहिने भयो । जे होस्, ठीकै छ क. प्रचण्ड इतिहासको ब्याज जसले पनि खाँदो रहेछ । अन्तिममा यो स्थितिमा आइपुग्दा जनमुक्ति सेनालाई आफ्नो भर्‍याङ बनाएर आफू माथि चढी अहिले जनमुक्ति सेनालाई रस निचोरिएको कागतीजस्तै बनाइयो । मान्छेले कागतीको रस जबसम्म आइरहन्छ तबसम्म कागती निचोरिरहन्छ । जब रस आउन छोड्छ अनि डस्टविनमा फ्याँकिदिन्छ । हो, आज निचोरिएको कागती र जनमुक्ति सेनाको पीडा एउटै छ भन्दा उपयुक्त होला ।