दाहसंस्कारको बेला विषालु मदिरा सेवन गर्दा मेक्सिकोमा ४२ जनाको मृत्यु

दाहसंस्कारको बेला विषालु मदिरा सेवन गर्दा मेक्सिकोमा ४२ जनाको मृत्यु


मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा मिसावटयुक्त विषालु मदिरा सेवन गरी कम्तीमा ४२ जनाको मृत्यु भएको एजेन्सीहरुले जनाएका छन् । एक दाहसंस्कार कार्यक्रममा दिइएको मदिरा सेवन गरेकामध्ये बयालिस जनाको ज्यान गएको र अन्य केही गम्भीर बिरामी अवस्थामा रहेका बताइएको छ ।

एएफपीले जनाएअनुसार राजधानी मेक्सिको सिटीबाट करिब २०० किलोमिटर उत्तरपूर्वको गाउँमा भएको यस घटनामा अरु ११ जना जीवनमरणको दोसाँधमा रहेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ स्थानीय सरकारले जनाएको छ ।

मदिरा सेवन गरेपछि ती मानिसहरु वान्ता गर्ने र टाउको दुख्ने समस्याबाट ग्रसित भएका थिए । कोरोना भाइरस महामारीका कारण त्यहाँको बजारमा बियर र तथा अन्य प्रशोधित मदिरा पाइन छाडेको छ । त्यही कारण मानिसहरुले मिसावटयुक्त मदिरा सेवन गरेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

गत महिना पनि अखाद्य मदिरा सेवन गरेका कारण पश्चिमी जालिस्को प्रान्तमा २१ जनाको मृत्यु भएको थियो ।