कोरोना भाइरसबाट विश्वमा ३ लाख भन्दा बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वमा ३ लाख भन्दा बढीको मृत्यु


कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४५ लाख ४२ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९६ हजार ३२४ जना नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन पनि ८८ हजार २२० जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टाको अवधिमा ५ हजार ३१७ जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४५ हजार ५४८ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २५ लाख २६ हजारको स्वास्थ्य अवस्था सामान्य छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३३ हजार ६१४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ७१५ जनाको मृत्यु भएको छ जबकी अघिल्लो दिन यहाँ १ हजार ७७२ जनाको ज्यान गएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८६ हजार ९१२ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा २६२, स्पेनमा २१७ र फ्रान्समा ३५१ जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १३ हजार ९९३ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा ८३५ जनाको ज्यान गएको छ ।

विश्वमा हालसम्म यस रोगबाट १५ लाख ८० व्यक्ति भने निको भएका जनाइएको छ । विश्वमा ४४ लाख २६ हजार ९३७ कोरोना भाइरस संक्रमित रहेका र ३ लाख १३ हजार ३७० को यस भाइरस संक्रमणबाट मृत्यु भएको स्थानीय समयानुसार शुक्रबार विहान ४ बजे सम्मको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

कोरोना भाइरसको प्रकोप अमेरिकामा सबैभन्दा बढी देखिएको छ । अमेरिकामा बुधबारसम्म १४ लाख १३ हजार १२ जना कोभिड १९ को संक्रमित भएका छन् । यस संक्राणबाट भने ८५ हजार ५८१ जनाको ज्यान गएको विश्व स्वास्थ्य संगठन (डूब्लुएचओ) का आपतकालीन विभागका प्रमुख डा।माइक रायनले बताए ।

कोरोनाभाइरस एचआईभी संक्रमणको जस्तो विश्व समुदायमा अर्को एउटा भाइरस हुनसक्ने र यो कहिल्यै नहट्न पनि माइकले बताएका सो समाचारमा उल्लेख गरिएको छ ।

‘यो भाइरस अर्को सामान्य रोगको भाइरस जस्तो हुनसक्छ र यो भाइरस कहिल्यै पनि नहट्न सक्छ, एचआईभीको भाइरसको उपचार अहिले पनि छैन र त्यो भाइरसका अहिले पनि गएको छैन’ डब्ल्यूएचओका डा. रायनले सीएनएनको भनाइलाई उद्धृत गर्दै भनेका छन् ।

धेरै देश र संस्थाले यस घातक सरुवारोगको उपचारको लागि खोप तयार गर्न खोजिरहेका छन् । यस कोरोना भाइरसले विश्वभर धेरै राष्ट्रहरूलाई सताएको छ र यसले एउटा अभूतपूर्व सामाजिक र आर्थिक संकटको परिस्थिति जन्माएको छ ।