बुद्धलाई बचाऊ -देवप्रकाश त्रिपाठी

बुद्धलाई बचाऊ -देवप्रकाश त्रिपाठी


बौद्धमार्गीहरूको पवित्र भूमि तिब्बतका दर्जनौँ नागरिकले धार्मिक एवम् मानवीय स्वतन्त्रताको माग गर्दै आत्मदाह गरिसकेका छन् र यो क्रम जारी छ । तिब्बती नागरिकहरूले दर्शाएको बलिदानीले मानिसका निम्ति स्वतन्त्रता कति प्रिय वस्तु-तत्त्व हो भन्ने सत्यको उजागर गरेको छ । विरोध प्रदर्शनमा अधिक बल प्रयोग गर्दै रोक लगाइने भएपछि तिब्बती स्वतन्त्रता सेनानीहरू आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन आत्मदाहजस्तो शहिदी अभियानमा जुटेका छन् । बौद्धमार्गीहरू स्वभावतः शान्त एवम् धैर्यवान् हुन्छन्, अरूलाई मारेर आफ्नो सिद्धि प्राप्त गर्ने मनोवृत्ति सायद बौद्धमार्गीहरूको हुँदैन । त्यसैले हुनसक्छ, बरु आफैंलाई मारेर स्वतन्त्रता आन्दोलनलाई उचाइमा पुर्‍याउने मार्ग तिब्बती नागरिकहरूले अवलम्बन गरेका छन् । तर, कम्युनिस्ट सत्ता मानवीय संवेदनाप्रति कतिसम्म कठोर एवम् निर्मम हुन सक्दोरहेछ भन्ने कुराको उदाहरण चाइनामा देखिएको छ । चीनको कम्युनिस्ट सरकारले आत्मदाहको क्रम भङ्ग गर्ने तत्परता लिए पनि आत्मदाह गर्नै नपर्ने परिस्थिति निर्माणप्रति कुनै चासो देखाएको छैन । आफ्ना दर्जनौँ नागरिकले आत्मदाह गरिसकेका र हजारौँ नागरिक आत्मदाहको निम्ति लामबद्ध भइसक्दा पनि चिनियाँ सत्ता जनताको मागप्रति असंवेदनशील रहनुले कम्युनिस्टहरू मानिसको धार्मिक आस्थाप्रति कुन हदसम्म अमानवीय, निर्मम र कठोर हुन सक्छन् भन्ने सन्देश प्रवाहित गरेको छ । बौद्धमार्गीहरूमाथि चिनियाँ सरकारले अपनाएको नीति र व्यवहारले कम्युनिस्टहरूमा बौर्द्धधर्मजस्तो शान्त, शालीन र सौम्य धर्मलाई समेत सकारात्मक रूपमा बुझने सामर्थ्य हुँदैन भन्ने तथ्यको पुष्टि गरेको ठान्न सकिन्छ । सन् १९६६ देखि १९७६ को दशवर्षो अवधिमा माओ त्से तुङले सांस्कृतिक क्रान्तिका नाममा बुद्धका सयौँ मन्दिर, मूर्ति र गुम्बाहरू ध्वस्त तुल्याएको पीडाले रन्थनिएका तिब्बती नागरिक दश वर्षअघि तालिवानीद्वारा अफगानिस्तानमा बुद्धका सयौँ वर्ष पुराना मूर्तिहरू ध्वंश गरिँदा पनि सम्भवतः त्यत्तिकै दुःखी भएका थिए । हतियार उठाउँदा बुद्धको बेइज्जत र बद्नामी हुने चिन्ता र त्रास सायद तिब्बतीहरूमा छ । बौद्धमार्गीहरू हिंसामा विश्वास गर्दैनन् र उनीहरू हिंसात्मक धन्दामा लाग्ने छैनन् भन्ने जानकारी चिनियाँ कम्युनिस्ट शासकहरूलाई छ । तथापि तिब्बतीहरूमाथि आतङ्ककारीको विशेषण लगाउन उनीहरू हिच्किचाएका छैनन् । आत्मदाह गरेर बौद्धमार्गी तिब्बतीले चीनको कम्युनिस्ट सत्ताप्रति आक्रोश र घृणा त पोखेकै छन् स्वतन्त्रता र मानवीयताप्रतिको अधिकतम निष्ठा एवम् प्रतिबद्धता पनि तिनले जाहेर गरिरहेका छन् ।
तिब्बती बौद्धमार्गीहरूले मानवीयता र धार्मिक स्वतन्त्रताको माग गर्दै शृङ्खलाबद्ध आत्मदाह गरिरहँदा माओका एक अनुयायी माओवादी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष प्रचण्ड विश्व बौद्धधाम निर्माणका लागि चन्दा उठाउन संयुक्त राज्य अमेरिका पुगेका छन् । विश्वको एक अनुपम प्रजातान्त्रिक मुलुक अमेरिका जो माओवाद या साम्यवादलाई मानव सभ्यता, विकास, शान्ति र स्थिरताको दुश्मन ठान्छ, त्यही मुलुकमा चन्दा उठाउन जानुलाई चिनियाँले कसरी लिएका होलान् ? अमेरिका जो तिब्बतीप्रति विशेष संवेदनशील रहिआएको छ र तिब्बतमा धार्मिक एवम् मानवीय स्वतन्त्रताको पक्षमा अमेरिकाबाट विभिन्न समयमा विभिन्न किसिमले सहयोग हुँदै आएको पनि देखिन्छ । अर्ढाई वर्षअघि ‘दुर्घटनाग्रस्त शैलीमा’ सत्ता खोसिएका प्रचण्डले त्यसपछिका केही महिना दक्षिणतर्फको छिमेकी मुलुक भारतविरुद्ध राष्ट्रिय अभियान चलाएका भए पनि पछिल्लो समयमा उनी भारतसँगको सम्बन्ध कसिलो र विश्वासिलो बनाउन जुटेका छन् । सम्भवतः उनले भारतसँगको आफ्नो सम्बन्ध सुध्रिएको ठानेका पनि होलान् । भारतसँग ‘सम्बन्ध सुधार’ हुँदै गर्दा बुद्धको नाममा पैसा उठाउन अमेरिका गएर प्रचण्डले अमेरिकाको पनि विश्वास जित्न चाहेको देखिन्छ । अमेरिकी सूचीमा ‘आतङ्ककारी’ प्रचण्ड माओको स्मारक बनाउनेतिर नलागेर गौतम बुद्धको जन्मस्थल सुधारको नारा लिएर आफूसमक्ष आइपुग्दा अमेरिकीहरू चकित पर्नु स्वाभाविक हुन्छ । बान की मुन दक्षिण कोरियाका नागरिक हुन् र दक्षिण कोरियालीहरू इर्साई धर्मको प्रचारमा विश्वमै सर्वाधिक सक्रिय मानिन्छन् । त्यसमाथि बान की मुन संयुक्त राष्ट्रसङ्घको महासचिव बन्न अमेरिकी विश्वास प्रथम ‘योग्यता’ बनेको तथ्य कसैबाट लुकेको छैन । नेपालको हिन्दू राष्ट्रको पहिचान मेट्दै इर्साईकरणका निम्ति भूमि उर्वर तुल्याइएको विषयमा प्रचण्डले अमेरिकामा ‘क्रेडिट’ लिन सक्छन् । त्यसपछिको अमेरिकी विश्वास प्राप्त गर्न सकिने अर्को विषय हो बुद्ध । बुद्ध आफैं अमेरिकी रुचिको विषय होइन तर तिब्बतका आदिवासीहरू बौद्धमार्गी भएकोले बुद्धका विषयमा चासो राख्नु अमेरिकाको निम्ति एउटा बाध्यता बन्न गएको छ । रुचि बुद्ध नभई तिब्बत हो, तर बुद्धको सहारा नलिई तिब्बतमा आँखा लगाउन मुस्किल छ । त्यसैले अमेरिका र अन्य पश्चिमी मुलुकहरू जो इर्साई धर्ममा विश्वास गर्छन्, तिनले तिब्बतसम्म हात बढाउनका लागि बुद्धको सहयोग लिइआएका छन् । प्रचण्डले अमेरिकी चासोलाई धेरै राम्रोसँग बुझेका छन् र अमेरिकालाई खुसी पार्न बुद्ध सहयोगी बन्न सक्ने विश्वास उनलाई छ । लुम्बिनीलाई विश्व बौद्धधाम बनाउन जापान, चाइना, थाइल्यान्ड र श्रीलङ्काजस्ता मुलुकमा सहयोग जुटाउन नगई सोझै अमेरिका जानुले दिएको सीधा सन्देश यही हो कि उनी अब अमेरिकाको विश्वास आर्जन गर्न लालयित छन् र त्यसनिम्ति बुद्धको सहयोग लिँदै छन् । वि.सं. २०६५ मा प्रधानमन्त्री बन्नुअघिसम्म मित्रराष्ट्र भारतको हितैषीका रूपमा व्यवहार गर्ने प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै चाइनातिर लहस्सिए । सत्तामा पुगिसकेपछि चाइनाले नगद र हातहतियारका साथै अन्य सहयोग गरेर आफ्नो शासनलाई अकण्टक बनाइदिने आशा प्रचण्डले गरेका हुन सक्छन् । उनले चीनसँग सम्बन्ध बढाउन अथक मिहिनेत पनि गरेका हुन् । तर, चीनको बलियो पहुँच हुन्थ्यो भने नेपालमा गणतन्त्र स्थापना होइन कि पञ्चायती व्यवस्थाले नै अहिलेसम्म निरन्तरता प्राप्त गरिरहेको हुनसक्थ्यो । प्रचण्डले अलिक ढिला गरेर यो वास्तविकता बुझेका हुनसक्छन् । ‘एक्सिट्रम’ चरित्रका प्रचण्डले दशवर्षो हिंसात्मक युद्धका बेला आठ वर्ष दिल्लीमा बिताएका थिए, दिल्लीसँग कुनै कुरामा असन्तुष्ट हुनेबित्तिकै उनी नेपाल आएर भारतसँग युद्ध लड्न भन्दै सीमा क्षेत्रमा सुरुङ खन्न थाले । त्यसैबेला राजासँग हात मिलाउने प्रयास पनि उनले गरे । तर, राजाले हात नदिएपछि प्रचण्ड पुनः अर्कोतिर लागे र २०६२ मङ्सिरमा राजाका विरुद्ध बाह्रबुँदे सम्झौता गर्न दिल्ली पुगे, सीमाक्षेत्रमा बनाइएका सुरुङहरू पुरिए । प्रधानमन्त्री भएपछि भारतको उपयोगिता सकिएको या कमजोर भएको ठान्ने प्रचण्ड एकाएक चीन समर्थक बनेर प्रकट भए । चिनियाँ सहयोगले नेपाली राजनीतिमा निर्णायक प्रभाव पार्न नसक्ने देखिएपछि प्रचण्ड फेरि एकपटक बेग्लिएका छन् र उनी अब अमेरिकातिर हात पर्सार्न पुगेका छन् । अमेरिकामा हुने औपचारिक बैठकहरूमा लुम्बिनी विकाससँगै तिब्बत स्वतन्त्रतासम्मका कुराहरू उठ्न सक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन । त्यस्तो अवस्थामा प्रचण्डको जवाफ के होला ? नयाँदिल्ली पुगेर भारतलाई खुसी पार्न पाकिस्तानलाई गाली गर्ने प्रचण्डले अमेरिकामा आतङ्ककारीको सूचीबाट आफूलाई हटाउन चाइनालाई गाली गर्ने या स्वतन्त्र तिब्बत आन्दोलनलाई कुनै न कुनै रूपले सघाउने वाचा गरे भने कुनै आश्चर्य हुनेछैन । नेपालले तिब्बतलाई चीनकै एक अङ्गका रूपमा मान्यता दिइसकेको छ । त्यर्सथ प्रचण्डले अमेरिकामा गुप्त या खुला बैठकहरूमा जे-जस्ता प्रतिबद्धता जनाए पनि नेपालको नीतिमा तत्काल परिवर्तन आउन सक्ने देखिँदैन । तिब्बती शरणार्थीहरूप्रति उदार हुने र लुम्बिनीलाई विश्व बौद्धधाम बनाई थप राजनीतिक क्रियाकलाप त्यसैमार्फत बढाउने प्रतिबद्धता भने प्रचण्डले त्यहाँ प्रकट गर्न सक्छन् ।
एकातिर चाइनाको कम्युनिस्ट सत्ताले बौद्धमार्गीहरूको उपेक्षा गर्दै आत्मदाह गर्ने हदसम्म पुर्‍याएर बुद्धकै अपमान गरिरहेको छ, अर्कोतिर नेपालको इतिहासमै सर्वाधिक मानिसहरूको ज्यान लिने हिंसात्मक आन्दोलनको अगुवाइ गर्ने प्रचण्डले विगतको कर्मप्रति आत्मालोचना र क्षमायाचनासम्म नगरी बुद्धधाम निर्माणको जिम्मा लिएर लुम्बिनी र बुद्धको इज्जत बढाउँदै छन् कि बढार्दै छन्, सोच्नुपर्ने बेला आएको छ । प्रचण्डले अहिले बुद्धको चित्र नै कोरे छन् भने पनि त्यो ओसामा बिन लादेनको अनुहारसँग मिल्दोजुल्दो हुनेछैन भनेर कसरी भन्ने ? शरणार्थी बनेर नेपाल आएका बौद्धमार्गी तिब्बतीयनहरूप्रति सामान्य सहानुभूति नराख्ने, नेपालमा इर्साई धर्म विस्तारको निम्ति आधारभूति मजबुत बनाउने, सनातनी हिन्दूहरूको मर्म र धर्मप्रति विशेष आक्रामक भूमिका निर्वाह गर्ने प्रचण्डले लुम्बिनीलाई विश्व बौद्धधामका रूपमा विकास गर्न लिएको अग्रसरता आफैंमा रहस्यमयी छ । हिंसात्मक आन्दोलनका मुखिया प्रचण्डले लुम्बिनीधाम विकासको तत्परता लिएर धर्मको रक्षा गर्न खोज्दै छन् कि बुद्धको बद्नामी ? समस्त शान्तिकामी नेपाली, एवम् संसारभरिका बौद्धमार्गीहरूले गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ । प्रचण्डको चङ्गुलमा यदि एकपटक मात्र ‘बुद्ध’ परे भने बौद्धमार्गीहरूले आफ्नो स्थापित पहिचान पुनर्स्थापित गर्न अर्को कति शताब्दी पर्खनुपर्ने हो, त्यसको निश्चितता हुँदैन । त्यसैले यहाँ बौद्धमार्गी समुदायलाई यति मात्र भन्न सकिन्छ- ‘कि प्रचण्डलाई बुद्धको मार्गमा ल्याऊ, सकिँदैन उनलाई ल्याउन भने प्रचण्डबाट बुद्ध र लुम्बिनीलाई जोगाऊ ।’ चिनियाँ कम्युनिस्ट सत्ता र माओवादी नेता प्रचण्डको कोपभाजनबाट बुद्ध र लुम्बिनीलाई जोगाउन सकिएमा मात्र यहाँ शान्ति, स्थिरता र प्रगति बहाल हुने आशा गर्न सकिन्छ ।
[email protected]