लकडाउन ३२ गतेसम्म लम्ब्याउने निर्णय लिएको दुई दिनपछि सरकारले जेठ २५ गतेभित्र कर बुझाउन नागरिकलाई निर्देशन जारी गऱ्यो । कोरोना कहरले थला परेका आमजनता यसै पनि ओली सरकारका अर्थमन्त्री युवराज खतिवडाको निरन्तरको करसम्बन्धी करकरका कारण दिक्क भइसकेका थिए । यसरी वाक्कदिक्क भइरहेकै बेला खतिवडामातहतको राजश्व कार्यालयले २५ गतेभित्र कर तिर्न सूचना जारी गरेपछि नेपाली जनता छक्कै परे । जनताको सरकार यतिसम्म निर्दयी पनि हुन सक्दोरहेछ भन्ने यथार्थबोधले आमनागरिकलाई उदेकमा पारेको थियो ।
कोरोनाका कारण तहसनहस हुन पुगेको व्यापार व्यवसायलाई पुनर्जागृत तुल्याउन के गर्ने भन्ने सन्दर्भमा कुनै योजना तर्जुमा गर्न नसकी आलोचित बनेको सरकारबाट एकपछि अर्को गरी जनतालाई पीडा दिने काम जारी रहनु निश्चय पनि मुलुकको इतिहासमै दर्दनाक सन्दर्भ हो । एकतिर लकडाउन पालना गरेर घर बस भन्ने, सडकमा निस्कँदा हप्कीदप्की र लाठी नै बर्षाउन पछि नपर्ने, अर्कोतिर लकडाउनकै अवधिबीच कर दाखिला गर्नुपर्ने ! स्वभावतः यस्तो सिल्ली निर्णय र निर्देशनको आलोचना हुन्छ नै । चौतर्फी रुपमा आलोचना भयो, बचेखुचेको साख पनि नामेट हुनेगरी जनताले धारे हात लगाएर सत्तोश्राप गरे ।
यसरी नागरिक तहदेखि आलोचना र असन्तुष्टि पोखिएपछि अर्थमन्त्रालयमातहतको आन्तरिक राजश्व विभागले करको विवरण तथा कर बुझाउने समय थप गरेको छ । करको विवरण बुझाउने म्याद आगामी असार ७ गतेसम्म तथा रकम दाखिला गर्ने समय असार १५ गतेसम्म कायम गरिएको विभागले जनाएको छ ।
बुधबार (२१ जेठ) सूचना जारी गर्दै विभागले करको विवरण तथा कर बुझाउने समय थप गरेको हो । ‘करदाताले आवधिक रूपमा बुझाउनुपर्ने कर विवरण, आय विवरण तथा ती विवरणअनुसार भुक्तानी गर्नुपर्ने कर दाखिला गर्ने म्याद २०७७ जेठ २५ गते र जेठ मसान्तसम्म थप गरिएकामा उक्त अवधि पुनः थप गरिएकाले सो अवधिभित्र विवरण र कर दाखिला गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, विभागद्वारा जारी पछिल्लो सूचनामा उल्लेख छ ।
प्रतिक्रिया