काङ्ग्रेस नेता बस्नेतद्वारा स्वास्थ्यकर्मीहरूको आवधिक स्वास्थ्य बीमा

काङ्ग्रेस नेता बस्नेतद्वारा स्वास्थ्यकर्मीहरूको आवधिक स्वास्थ्य बीमा


नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना, सञ्चार तथा प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरूको आवधिक स्वास्थ्य बीमा गरिदिएका छन् ।

जिल्लामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीका लागि घोषणा गरिएको म्यादी स्वास्थ्य बीमाको फाइल र स्वास्थ्य सामग्री जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईंलाई पूर्वमन्त्री बस्नेतले बिहीबार (२२ जेठ) सिन्धुपाल्चोक सदरमुकाम चौतारामा हस्तान्तरण गरे ।

जिल्ला जनस्वास्थ्य कार्यालय चौतारालगायत जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ्य क्षेत्रमा कार्यरत कार्यालय सहयोगीदेखि कार्यालय प्रमुखसम्म ६ सय १३ जनाको नेता बस्नेतले कोरोना बीमा गरिदिएका हुन् ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को रोकथाम नियन्त्रणका लागि अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीलाई आफ्नो जिम्मेवारीमा लागि रहने हौसलाका लागि यो निर्णय लिएको नेता बस्नेतले बताए । आइएमइ जनरल इन्स्योरेन्स कम्पनीमार्फत गरिएको उक्त बीमाको बीमालेख जिल्ला जनस्वास्थ्य कार्यालयको नाममा हुने र बीमाको अवधि एक वर्षको हुने कम्पनीले जनाएको छ ।

प्रतिव्यक्ति एक लाख रकम बराबरको उक्त बीमा रकमको भुक्तानी बिमित स्वास्थकर्मीको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको खण्डमा तत्काल उपलब्ध गराइने आइएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रबन्धक नारायण खनालले जानकारी दिए ।