श्रम शक्ति विदेशिनबाट रोक्ने अभियानमा कोइराला

श्रम शक्ति विदेशिनबाट रोक्ने अभियानमा कोइराला


  • सुरेन्द्र सुवेदी, काठमाडौं

वैदेशिक रोजगारीमा गएर त्यहाँको भोगाईबाट पाठ सिकेका सरोज कोइरालाको अहिलेको ध्याउन्न भनेको नेपालबाट बाहिरिने श्रमशक्तिलाई नेपालमै रोक्ने अभियान बनेको छ । नेपालबाट वर्षेनि ५ लाख जनशक्ति श्रम बजारमा आउने गरेको छ । त्योमध्ये करिव ५० हजारले नेपालमा काम पाउने र बाँकी विदेशिनु परिरहेको छ । यस्तो ठूलो संख्यामा श्रम शक्ति विदेशिनु परिरहेको समयमा त्यो जनशक्तिलाई नेपालमै रोक्ने भन्दै अभियान चलाउने बाराको निजगढका भीष्म र गितादेविका छोरा ४० वर्षीय सरोज कोइराला हुन् ।

उनको सक्रियतामा अहिले सीपमूलक तालिम लिएर नेपालमै रोजगारीमा १४ हजार जनशक्ति आइसकेको छ । अर्काे राम्रो पक्ष भनेको नेपाल र भारत सीमा क्षेत्रका नेपालीले सिकेको सीप भारतमा पनि प्रयोग हुन थालेको छ । ब्युटिसियन, प्लम्बर, इलेक्ट्रिसियनजस्ता जनशक्ति मौसमी कामका लागि भारत जाने र आउने गरिरहेका छन् । एक वर्षमा बारा, पर्सा, बुटवल, मलंगवा, भैरहवा, जनकपुरसमेतका स्थानबाट दुई हजारबढी युवा भारतमा रोजगारीमा जाने र आउने गरिरहेको कोइरालाले जानकारी दिए ।

बाराको निजगढबाट स्नातक र त्रिभूवन विश्वविद्यालयबाट स्नाकोत्तर गरेका कोइराला साढे ३ वर्ष दुबइ बसे । उनलाई स्टोकिपर भनेर लगिए पनि अन्ततः काम भने निर्माण मजदूरमा लगाइयो । त्यो पीडा र नेपालीले विदेशमा भोगिरहेका समस्याबाट पाठ सिकेर नेपाल फर्केका सिटिइभिटीबाट मान्यता प्राप्त निजी क्षेत्रको तालिम तथा रोजगारप्रदायक संस्था स्थापनापश्चात तालिम दिन थाले । यस्तो तालिम उनले देशका ३७ जिल्लाका युवालाई दिइसकेका छन् । र, तालिम लिन आउनेको संख्या पनि उच्च रहेको उनले जानकारी दिए । स्रोतले भ्याएसम्म निः शुल्क सीप हस्तान्तरण गर्ने मुख्य उदेश्य राखेका उनी स्थानअनुसार र श्रम र बजारको माग हेरेर तिनै विषयमा युवालाई तालिमको विषय छनोट गर्दै दिने गर्दछन् ।

ब्युटिपार्लर, टेलरिङ, फेसन डिजाइनर, डकर्मी, प्लम्बर, वेल्डर, इलेक्ट्रोनिक्स, मोवाइल मर्मत, अटो मेकानिक, बेमौसमी तरकारी खेती, केरा खेती, नर्शरी प्राविधिक, ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता गलैचा बुनकर जस्ता विषयमा उनले संस्थागत रुपमा तालिम दिएर युवा शक्तिलाई दक्ष बनाइरहेका छन् ।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ मधेश प्रदेश वरिष्ठ उपाध्यक्ष, नेपाल हब्स एण्ड हर्वल उत्पादक संघको मधेश प्रदेश अध्यक्ष, रिटनी माइग्रेंट नेपाल मधेश प्रदेशको अध्यक्ष भएर काम गरिरहेका उनले निजगढमा ६ बिगाहा जग्गामा मालभोग केरा खेती गरिरहेका छन् । सर्लाहीको हरिपुरमा ४ बिगाहा जग्गा भाडामा लिएर जडिबुटी खेती पनि गरिरहेका छन् । उनले त्यहाँ मेन्था, युकालिप्ट्सजस्ता जडिबुटीको खेतीसंगै तेल प्रशोधन गरेका हुन् ।

सिटिइभिटीबाट वरिष्ठ उद्यम विकास सहजकर्ता तेस्रो तह उत्तीर्ण गरेका उनी देशमा स्थानीय कच्चा पदार्थको सम्भाव्यता अध्ययन र उद्यमीले उत्पादन गरेका पदार्थ खरिद गर्ने व्यवस्था गर्न लागिरहन्छन । सरकारले सम्भाव्यता अध्ययन र उत्पादित बस्तु खरिद गर्ने व्यवस्था गरेमा देशबाट ठूलो जनशक्ति विदेशिनबाट रोकिने उनको विश्वास छ ।

युवाहरुमा उद्यमशिलता विकास मार्फत र उद्यमी बनाउन सके देशमा बढदै गरेको वेरोजगारी समस्यालाई केहि हद सम्म न्युनिकरण गर्न सकिन्छ ।