‘मौन स्वीकृति भविष्यलाई’

‘मौन स्वीकृति भविष्यलाई’


■ आचार्य प्रभा

अनायास कसैले ढोका ढक्ढक्याएको कारणले ऊ निन्द्राबाट बिउँझी । ढोकामा उसकै अफिसको मित्र अनायस उभिएको पाउँदा ऊ असमन्जसमा परी, किनकि ऊ कहिल्यै पनि उक्त मित्रसँग आँखासम्म जुधाएर बोल्दैनथी । तर आज अनायस आफ्नो घरको अगाडि उक्त मित्रलाई पाउँदा उ अन्योलमा पर्नु अस्वाभाविक थिएन ।

जुनाले हत्तपत्त उस्लाई नमस्ते गरी अनि भित्र पस्न आग्रह गरी । राजिव पनि संकोच मान्दै भित्र पस्यो र कोठाको चारैतिर दृष्टि फ्याँक्न थाल्यो । भित्तामा तस्बिरहरु झुन्ड्याइएका थिए जुन तस्बिरमा जुना र उसका स्वर्गीय श्रीमानका रमाइला पलका दृश्यहरु मुस्काइरहेका थिए । ती तस्बिरलाई हेरेर राजिवका आँखाहरु रसाइसकेका थिए। ऊ भित्रभित्रै आफ्नै मनसँग कुरा गरिरहेको थियो- आखिर दैवले पनि यस्तै अन्जान र निर्दोष मान्छेहरुलाई मात्र सजाय दिँदोरहेछ !

यसरी आफ्नै मनसँग आफैं राजिव हराइरहेको बेला अनायस जुनाको उपस्थितिले उ झस्किन्छ । जुना हातमा कप-प्लेट लिएर उसको अघिल्तिर चिया लिने आग्रह गर्दै छेवैको सोफामा बस्छे। उसलाई कता–कता अप्ठ्यारो महसुस पनि भैरहेको हुन्छ र मनमा कौतुहलता पनि । ‘आज राजिव किन मेरो घरमा अनायस आयो ?’ भनेर तर पनि ऊ सोध्न सक्दिनँ र मौन बस्दछे । यत्तिकै बीचमा राजिवले त्यो कोठाको सुन्यता भंग गर्दछ– ‘जुनाजी म तपाईंलाई एउटा सरप्राइज दिन आएको… ।’

जुना झस्किन्छे र पश्न गर्छे– ‘कस्तो सर्प्राइज ? के म थाहा पाउन सक्छु ?’

राजिव भन्छ, ‘जुनाजी तपाईंको श्रीमान् हाम्रो अफिसको एउटा योग्य कर्मचारी हुनुहुन्थ्यो, हामी वहाँको सधैं सह्राहना गर्छौं तर वहाँ अफिसको निम्ति योग्य भए पनि आफ्नो कुलतको कारणले चाँडै हामीबाट बिदा हुनुभयो,… हामी प्रत्येक वर्ष वहाँको सम्झनामा अफिसमा सानो सम्झनारूपी कार्यक्रम गर्दछौँ । यसपटक भने तपाईं पनि हुनुहुन्छ र तपाईंलाई पनि हाम्रो अफिसमा त्यही सन्दर्भमा स्वागत गर्न चाहन्छौँ । म यही खबर गर्न आएको हुँ अन्यथा नलिनु होला, अहिले म गएँ ।’

राजिवको कुराले जुना मौन बनी । उसलाई कता कता खुशी पनि लाग्यो भने आफ्नो अतीत बल्झिएर नमज्जा जस्तो पनि भयो । उसलाई बल्ल मात्र थाहा भयो कि आफ्नो श्रीमान् बितेको भोलि पाँच वर्ष पुग्दैछ ।

भोलिपल्ट बिहानै जुना अफिस जानको लागि तयारी भई । उसलाई सदाझैं त्यो दिन रंगीन लुगा लगाउन मन लागेन । उसले फिक्का रंगको साडी लगाइइ । सदाझैँ उसलाई त्यो दिन श्रृङ्गारपटार गर्न मन लागेन, मानौँ उसलाई साँच्चै त्यो दिन आफू विधवा भएको आभास भयो । ऊ अन्य दिन भन्दा बेग्लै देखिएकी थिई ।

अफिसमा सबै कर्मचारीहरु भेला भैसकेका थिए । एउटा कोठामा कार्यक्रमको तयारी भैरहेको थियो । उक्त कोठाको भित्तामा जुनाको स्वर्गीय श्रीमानको तस्बिर टाँगिएको थियो। फूलमाला अबिरले तस्बिर सजिएको थियो। सबै जनाले उक्त तस्बिरमा सम्वेदनाका अबिर र माला चढाइरहेका थिए । जुना पनि त्यहाँ पुगी । सबैले जुनालाई एकैसाथ हेरे, उसको मुहार मलिन थियो । आँखामा आँशु छचल्किएको थियो ।

राजिवले जुनाको त्यो स्थिति अझ गहिरिएर मलिन भइ हेरिरहेको थियो । सबै जना उक्त तस्बिरको नजिक भएर पूजा गर्न थाले । राजिव पनि तस्बिरनजिक गएर पूजा गर्न थाल्यो । जुना आफ्नो स्वर्गीय लोग्नेको तस्बिरमा पूजा गरि सकेर तस्बिरमा ढोग गरेर के शिर उठाइरहेकी थिई राजिवको हातको फूल र अबिर जुनाको शिरमा ठोक्किएर उस्को सिउँदोभरी छरिन पुग्यो । सबैजना किंकर्तव्यविमुढ बने । राजिवले नतमस्तक बनेर जुनासँग माफी माग्दै भन्यो– ‘जुनाजी, वास्तवमा यो अप्रत्याशित घटना भयो तर म वास्तविक जीवनमा नै तपाईंको सिउँदो रंगिएको हेर्न चाहन्छु ।’

जुना अन्योलमा परी । राजिवलाई भन्ने शब्दहरु ऊभित्र थिएन । ऊ मौन बनी अनि एकपटक राजिवलाई पुलुक्क हेरेर निहुरी । सबैले मौन बनेर जुनालाई एकटकले हेरिरहेका थिए । जुना बाहिरिन खोजीरहेकी थिई । सबै मित्रहरुले उसलाई त्यहीँ रोकेर एउटी महिला मित्रले जुनालाई भन्न थालिन्– ‘जुनाजी, आज हामी तपाईंलाई एउटा अनुरोध पनि गर्न आएका छौँ । के तपाईं हाम्रो अनुरोध स्वीकार गर्नुहुन्छ ?’

जुनाले आश्चर्यचकित हुँदै सबैतिर नजर फ्याँक्दै भनी– ‘कस्तो अनुरोध ?’

महिला मित्रले फेरि कुरा अघि बढाइन् । ‘जुनाजी, हामी चाहन्छौँ कि तपाईंको यति लामो जीवन अब उसो एक्लो नबनोस्कि, न कि यो समाज र यस्को रितिरिवाज हर बिधुवाहरुको इच्छाविपरीत छ । हामी त्यो चाहँदैनौँ ।’

जुना नतमष्तक बनेर ती महिलाको कुरा सुनिरही । उस्का आँखा अघाडी अतीत सल्बलाउन थाले । उस्लाई राजिवको केही ब्यवहारको झझल्को आयो । त्यो अफिसमा संलग्न भएको वर्ष दिनभित्रमा राजिवबाट निक्कै मद्धत अनि सामिप्यता पाएको महसुस गरेकी थिई जुनाले । बल्ल मात्र उसलाई आभाष भयो कि राजिव पहिलेदेखि नै ऊप्रति आकृष्ट भएको रहेछ भन्ने । ऊ किंकर्तब्यविमूढ बनी र मौन भाषामा नै सबैसँग बिदा मागी ।

घर पुगेर कपडा फेरिवरी आफ्नो सिउँदोमा लागेको रातो रंग टक्ट्क्याउँदै एेनाअगाडि उभिन पुगी । ऐनाबाट नै फेरि उसले ढोकामा राजिवलाई खडा भएको देखी । ऊ राजिवतिर फर्की अनि प्रश्नसुचक नजरले उसलाई हेरी । राजिवको हातमा एउटा बन्द खाम थियो । उस्ले त्यो खाम जुनातिर अघी बढाउँदै भन्यो, ‘जुना यो तपाईंलाई मेरो अनुरोध पत्र ।’

जुनाले कुनै प्रत्युत्तर नदिई उक्त खाम थापी, राजिव त्यो खाम जुनाको हातमा थमाएर फर्क्यो ।

जुनाले हातमा खाम लिएर राजिव ओझेल नभइन्जेल सम्म हेरिरही । बल्ल मात्र जुनालाई कता कता राजिवप्रति मायाको अंकुर पलाएझैं लाग्यो । तर पनि ऊ विवश थिई आफ्नो अतीत सँगाल्न । ऊ असमन्जसमा परी भविष्य कस्को हातमा सुम्पने भनी । केही क्षणपछि जुनाले उक्त खाम खोली । खामभित्र अन्य केही लेखिएको थिएन, केवल चार हरफ कवितामय लहरहरु लेखिएका थिए ।

‘आउ आज म तोडिदिन्छु समाजको यो बन्धन
पन्साउन चाहन्छु म तिम्रो पीडा र क्रन्दन
बसाउँ हामी नयाँ युगको संसार आज
दिनेछु साथ अब म खुलेर यो समाज माझ ।’

जुनाले तीहरफहरु पढी तर पनि उस्लाई कता कता असहज लाग्यो, किनकि उसले भविष्यको बारेमा त्यस्तो केही सोचेकी नै थिइनँ । अनायस जीवनमा आएको उथलपुथलले ऊ असमन्जसमा परी । एक्लै सोंचमा डुबिरही । राजिवलाई के उत्तर दिने ? अन्योलमा अल्झिएर उसले राजिवको त्यो प्रस्तावलाई मनभित्रभित्रै थाँती राखी अनि मनमनै भनी- ‘मौन स्वीकृति भविष्यलाई!’

(अमेरिका)