कोरोना संक्रमण नियन्त्रणका लागि युरोपमा सहयोग जुटाउँदै योगिता

कोरोना संक्रमण नियन्त्रणका लागि युरोपमा सहयोग जुटाउँदै योगिता


गैरआवासीय नेपाली संघ युरोपकी महिला संयोजक योगिता थापाले सुदूरपश्चिममा कोरोना रोकथाम र नियन्त्रणका लागि युरोपमा सहयोग जुटाउन अभियान सञ्चालन गरेकी छन् ।

हाल बेल्जियममा व्यवसाय सञ्चालन गर्दै आएकी थापाले तीव्र गतिमा संक्रमण फैलिरहेको सुदूरपश्चिममा कोरोनाको रोकथाम र नियन्त्रणका लागि युरोपबाट सहयोग जुटाउन थालेकी हुन् ।

ह्युमानिटी फाउण्डेसनमार्फत केही दिनअघि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई सय थान ऱ्यापिड किट योगिताले हस्तान्तरण गरेकी थिइन् ।

कञ्चनपुरमा जन्मिएकी थापा यतिबेला मध्यपूर्वमा लकडाउनमा फसेका नेपाली महिलाहरुको उद्दार तथा सुदूरपश्चिममा कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि युरोपमा सहयोग जुटाइरहेकी छन् । उनले युरोपका विभिन्न देशमा रहेका गैरआवासीय नेपाली संघ महिला विभागका पदाधिकारीहरुसँग समेत सहयोगका लागि छलफल गरिसकेकी छन् ।

खाडी मुलुकमा मात्र नभएर युरोपका कतिपय देशमा समेत नेपाली महिलाहरु अलपत्र परेका जानकारी दिँदै थापाले भनिन्, ‘उहाँहरुको उद्दारका लागि हामी चिन्तित छौँ । त्यसका लागि विभिन्न देशका महिला विभागका पदाधिकारीहरुसँग छलफल गर्नुका साथै सहयोगका लागि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिसँग समेत आग्रह गरेकी छु ।’

उनले आफ्नो जन्मभूमिका लागि सहयोगका लागि युरोप तथा अमेरिकामा रहेका नेपालीहरुसँग आग्रह गरेको समेत बताइन् ।