नवलपुर होटल व्यवसायी संघले लकडाउन अवधिको घरभाडा छुट दिन र बैंकको व्याजमा सहुलियत प्रदान गर्न सम्बन्धित पक्षसँग माग गरेको छ ।
संघका अध्यक्ष बालकृष्ण पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै लकडाउनका कारण होटल व्यवसायीहरू धरासयी बनेकाले घरभाडा छुट र ब्याजमा सहुलियत दिन सरोकारवालाहरूको ध्यानाकर्षण गराएका हुन् ।
पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनका कारण होटल व्यवसायीहरू टाट पल्टिने अवस्थामा पुगेकाले लकडाउन अवधिको घरभाडा तिर्न सक्ने अवस्थामा छैनन् । त्यसैले, सम्बन्धित घरधनी महानुभावहरुलाई यस अवधिको घरभाडा मिनाहा गरिदिनुहुन संघ हार्दिक अनुरोध गर्दछ । साथै यसबारेमा आवश्यक समन्वय गरिदिनुहुन स्थानीय प्रशासन, सम्बन्धित स्थानीयहरूसँग हार्दिक अनुरोध गर्दछौँ ।’
विज्ञप्तिमा व्यवसाय बन्द भएका कारण होटल व्यवसायीहरू बैंकको किस्ता तथा व्याज तिर्न सक्ने अवस्था नभएको जिकिर गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाइ लकडाउन अवधिको ब्याजमा सहुलियत प्रदान गर्न तथा किस्ता तिर्ने समय थप गरिदिनसमेत आग्रह गरिएको छ ।
साथै, सरकारले असार ७ गतेसम्म सम्पुर्ण कर बुझाउन ताकेता गरेको पति गुनासो गर्दै यही अवस्थामा सो अवधिभित्र कर तिर्न सक्ने हालत नभएकाले कम्तीमा तीन महिना म्याद थप गरिदिन सरकारसमक्ष माग गरिएको छ ।
प्रतिक्रिया