अर्थमन्त्री बदल्न अमरेश कुमारको सुझाव !

अर्थमन्त्री बदल्न अमरेश कुमारको सुझाव !


नेपाली काङ्ग्रेसका नेता एवम् प्रतिनिधिसभाका सांसद् डा. अमरेश कुमार सिंहले सरकारलाई अर्थमन्त्री परिवर्तन गर्न सुझाव दिएका छन् । वर्तमान अर्थमन्त्री जनताबाट चुनिएर आएका जनप्रतिनिधि नभएकाले आमनेपालीको पीडा बुझेर बजेट बनाउन नसकेको उनको आरोप छ ।

आइतबार संसद्मा मन्तव्य दिँदै सांसद् डा. सिंहले भने– ‘चकलेटमा भन्सार छुट दिने र विद्युतीय गाडीमा भारी कर लगाउने यी अर्थमन्त्रीले अर्को पटक बजेट ल्याउने मौका पाए भने पर्फ्युममा भन्सार छुट गर्ने र औषधिमा भारी कर ठोकिदिने हर्कत गर्न सक्छन्, जसका कारण सर्वसाधारण नेपालीले सिटामोलसम्म पनि खान नसकेर मृत्युवरण गर्नुपर्ने अवस्था आउन सक्छ ।’

आगामी वर्षका लागि सरकारले ल्याएको बजेटबारे टिप्पणी गर्ने क्रममा सांसद् सिंहले प्रधानमन्त्रीमाथि समेत ब्यङ्ग्य प्रहार गरे । प्रधानमन्त्री केपी ओलीलाई ‘बहुसङ्ख्यक विद्यावारिधिधारी प्रधानमन्त्री’ को संज्ञा दिँदै उनले भने– ‘प्रधानमन्त्री जहाँ गयो त्यहीँको पिएचडी डिग्री लिनुहुन्छ, यस्ता बहुसङ्ख्यक पिएचडीधारी प्रधानमन्त्रीको सरकारले बनाएको बजेटका बारेमा म जस्तो सिङ्गल पीएचडीधारी सांसदले प्रश्न उठाउन पनि डर लागिरहेको छ । हाम्रो प्रधानमन्त्रीको जस्तो डिग्री छ उस्तै छ सरकारको बजेट, डिग्री पनि नक्कली बजेट पनि नक्कली !

बजेटले जनताको हित गर्न नसक्ने टिप्पणी गर्दै सांसद डा. सिंहले सत्तापक्षीय सांसदहरू नै यो बजेटसँग सन्तुष्ट हुन नसकेको बताए । उनले अगाडि भने– ‘बजेटबारे मुगु र जुम्लाका सत्तापक्षीय सांसदहरूको बिलौना सुनेपछि मलाई त लाग्यो कि अब मैले (प्रतिपक्षले) बोल्ने ठाउँ छैन, के बोल्नु ? किनकि, वर्तमान अर्थमन्त्रीको ‘चमत्कार डिग्री’ छ जो चकलेटमा भन्सार छुट दिन्छन् अनि विद्युतीय गाडीमा भन्सार थोपर्छन् ! गजब छ उनको बजेट-नीति ! जबकि, वातावरणको मूल्यलाई पैसामा आँक्न सकिन्न । विद्युतीय गाडीबाट वतावरणमा सुधार हुन्छ । पेट्रोल–डिजलको आयातमा हाम्रो देशले अत्यधिक डलर खर्च गरिरहनु परेको छ । एक खर्ब सत्तरी अर्ब रूपैयाँबराबरको डलर दिएर खरिद गर्नुपरेको छ, विद्युतीय गाडीलाई सहुलियत दिएको भए त यो खर्चमा कमी आउँथ्यो नि ! बच्चादेखि जलश्रोतको धनी देश भनेर पढाउने अनि नीति ल्याउने यस्तो !?’

सांसद् सिंहले शिक्षामन्त्रीको पछिल्लो वक्तव्यको समेत स्मरण गर्दै रोचक तर्क गरे– ‘शिक्षामन्त्रीको वक्तव्य पनि त्यस्तै आयो । सामुदायिक विद्यालयलाई निजीको जिम्मा लगाइदिएपछि सरकारी विद्यालय त बाँकी बस्दैनन् नै, त्यसका भवन र जमिन मात्रै बाँकी बस्ला र त्यो पनि एक–एक गर्दै निजी विद्यालयवालाको कब्जामा पुगिहाल्छ, बालुवाटारको जमिनजस्तै उनीहरूकै नाममा लालपुर्जा बनिहाल्छ । कसैले औंला उठाएछ भने ‘फिर्ता गरिदेउ कारवाही हुँदैन’ भन्दिए भैहाल्छ ।’

पञ्चायतकालमा महारानीले शासनमा ज्यादा हस्तक्षेप गर्दा गणतन्त्र आएको तर्क गर्दै उनले राष्ट्रपतिलाई शिक्षाको महारानी बनाउन खोज्नु गलत भएको बताए ।

‘मन्त्रीज्यूहरू ! ०६२/६३ को आन्दोलनमा जनताले के चाहेका थिए भन्ने नबिर्सौं । यस्तै बजेट र यस्तै असमानता चाहेका थिए जनताले ? यस्तो व्यवहारले त तपाईंहरू यो व्यवस्था नै गुमाउँदैहुनुहुन्छ र फेरि आफ्नो जीवनकालमा लोकतन्त्र फिर्ता लिन सक्नुहुन्न । हामी त उमेर छ फेरि पनि लडौँला र फिर्ता लिउँला ।’

अन्त्यमा सुझाव दिँदै सांसद् सिंहले भने– ‘जनताबाट चुनिएर आएका सक्षम व्यक्ति अरु पनि होलान् नेकपामा, अर्थमन्त्री बदलौँ । अन्यथा अर्कोपटक पर्फ्युममा भन्सार छुट होला अनि औषधिमा भारी कर थोपरिएला । यसबाट आम नेपाली जनता सिटामोल पनि खान नसकेर मर्नुपर्नेछ । यो अर्थमन्त्रीको कारणले सिटामोल खान नसकेर जनता मर्न दिन्नौँ हामी ।’

हेर्नुहोस् भिडियो–