राष्ट्रिय हितका दृष्टिले बिर्सनै नहुने विश्वको कूटनीतिक र रणनीतिक इतिहासका केही दृष्टान्त

राष्ट्रिय हितका दृष्टिले बिर्सनै नहुने विश्वको कूटनीतिक र रणनीतिक इतिहासका केही दृष्टान्त


■ केशवप्रसाद भट्टराई

१. प्रशा– फ्रान्स युद्ध, फ्रान्सको पराजय र जर्मनीको एकीकरण

१.१. निरन्तरको आन्तरिक राजनीतिक असन्तोष, विरोध र विद्रोहबाट आजित भएर स्पेनकी महारानी इसावेला द्वितीयले राजगद्दी त्यागेकीले स्पेनको राजगद्दी रिक्त थियो ।

निकटको रक्त सम्बन्धको आधारमा युरोपमा एउटा देशको राजकुमारलाई अर्को देशको राजा बनाउने अभ्यास रहेकोले प्रशा (जर्मनी)को सम्राट विलियमका नातेदार होहेनजोलेन वंशका राजकुमार लियोपोल्डलाई स्पेनको राजा बन्न स्पेन सरकारले आग्रह गऱ्यो ।

१.२. आफ्नो पूर्वी सीमानामा पनि जर्मन राजवंशको शासन रहेको बेलामा दक्षिणी सीमानामा समेत जर्मन होहेनजोलेन वंशकै शासन फ्रान्सका लागि स्वीकार्य भएन ।

त्यसमाथि फ्रान्समा शरण लिइरहेकी महारानी इसावेला पनि आफ्नो छोरालाई राजा बनाउने कोसिसमा थिइन् र फ्रान्स पनि त्यही चाहन्थ्यो ।

फ्रान्स ठूलो आर्थिक सङ्कट ब्यहोरिरहेको थियो तर पनि हर मूल्यमा जर्मन राजकुमारलाई स्पेनको गद्दी नदिन हरसम्भव लागिपरेको थियो ।

प्रशाका सम्राट विलियम प्रथम त्यतिखेर फ्रान्ससँग सम्बन्ध बिगारिहाल्न चाहँदैनथे ।

१.३. फ्रान्सको कडा विरोध बुझेपछि राजकुमार लियोपोल्डले स्पेनको राजगद्दीको प्रस्ताव अस्वीकार गरेका थिए तर त्यत्तिले मात्रै फ्रान्सको चित्त बुझेको थिएन ।

प्रशाले स्पेनको गद्दीमा लियोपोल्डलाई स्थापना गराएरै छोड्ने विश्वासमा रहेका फ्रान्सका सम्राट नेपोलियन तृतीय जसरी पनि त्यो हुन नदिन कटिबद्ध थिए ।

त्यतिखेर प्रशाका चान्सलर आफ्नो युगका सर्वश्रेष्ठ राजनेता, कूटनीतिज्ञ एवम् रणनीतिकार अट्टो वान बिस्मार्क थिए ।

उनी हरतरहले युरोपका सबै जर्मन राज्यहरूको एकीकरण गर्न प्रतिबद्ध थिए ।

बिस्मार्क स्पेनको राजगद्दीको विवादलाई जर्मनीको एकीकरणमा रहेका चुनौतीहरूलाई समाधान गर्ने अचूक उपायको रूपमा प्रयोग गर्न चाहन्थे ।

१.४. जर्मनीको एकीकरणको मूल बाधक प्रान्स रहेकोले त्यस्तो एकीकरणको लागि फ्रान्ससँग युद्ध लड्नैपर्ने थियो ।

प्रशाको सेना हरतरहबाट फ्रान्सको भन्दा श्रेष्ठ पनि थियो तर बिस्मार्क आफूले पहिले युद्ध घोषणा गरेर अर्घेलो देखिन चाहँदैन थिए ।

त्यसो गर्दा अरू जर्मन राज्यहरू प्रशासँग बिच्कन्थे र फ्रान्सनिकट हुन सक्थे ।

यसबाट जर्मनीको एकीकरण सम्भव हुन सक्ने थिएन ।

त्यसैले फ्रान्सलाई जर्मनविरूद्ध युद्ध घोषणा गर्न लगाउने निहुँको रूपमा स्पेनको राजगद्दीको सवाल यथावत राख्न बिस्मार्क चाहन्थे ।

१.५. त्यसै क्रममा जुलाई २, १८७०मा बिस्मार्कले स्पेनको राजगद्दीमा राजकुमार लियोपोल्डको प्रस्तावलाई पुन उठाए ।

त्यसले फ्रान्समा हलचल मच्चायो ।

विदेशमन्त्री एगेनोर डे ग्रेमोन्टले युद्धोत्तेजक भाषण गरे ।

फ्रेन्च समाचारपत्रहरू प्रशाविरूद्ध खनिए ।

सरकारको पक्षमा एक स्वरले उभिए ।

जताततै युद्ध उन्माद फैलियो ।

फ्रेन्च विदेश मन्त्रालयले प्रशास्थित आफ्ना राजदुत भिन्सेन्ट बेनेडिटीलाई तत्काल प्रशाका सम्राटलाई भेटेर आफ्ना कुरा राख्न निर्देशन दियो ।

१.६. फ्रेन्च राजदुत सम्राट विलियमलाई भेट्न एम्स शहर गए र स्पेनको गद्दी लियोपोल्डलाई दिने स्पेनको प्रस्तावलाई सधैंको लागि अस्वीकार गर्ने आश्वासन मागे ।

विलियमले त्यस्तो आश्वासन दिन मानेनन् ।

सम्राटले राजदुतसँगको आफ्नो कुरो आफ्ना एक निकट विश्वासी सहयोगीमार्फत टेलिग्रामद्वारा बिस्मार्कलाई पठाए ।

बिस्मार्कले इतिहासमा ‘एम्स डिस्प्याच’ या एम्स टेलिग्राम भनेर चिनिने उक्त टेलिग्रामका परस्पर प्रयोग भएका केही शिष्टाचारका शव्द र वाक्य झिकेर प्रेसलाई उपलब्ध गराए ।

जर्मन र फ्रेन्च समाचार पत्रहरूमा ती छापिए ।

ती वाक्य र शब्द यसरी झिकिएका थिए कि फ्रेन्चहरूले त्यो पढ्दा फ्रान्सको ठूलो अपमान भएको बुझिन्थ्यो र जर्मनहरूले पढ्दा त्यसबाट प्रशाका सम्राटको अपमान बुझियो ।

त्यसबाट दुई मुलुकका प्रतिनिधि माझ कुनै वार्ता र भेटघाट हुनै नसक्ने अर्थ निस्कन्थ्यो ।

१.७. फ्रान्समा त्यस्तो युद्ध उन्माद मच्चियो कि कि अब कसैले आफ्ना राजदूतसँग वास्तवमा के भएको भनेर विस्तारमा बुझ्न पनि आवश्यक मानेनन् ।

उनले जे भने पनि फ्रान्सका जनता नपत्याउने स्थितिमा पुगिसकेका थिए ।

त्यस अवस्थामा फ्रान्सले प्रशाविरूद्ध युद्धको घोषणा गऱ्यो ।

सबै जर्मन राज्यहरू प्रशाको पक्षमा लागे ।

फ्रान्स नराम्रोसँग पराजित भयो ।

क्षतिपूर्तिको रूपमा कोइला र फलामको लागि प्रशिद्ध एल्सेस र लोरेन नाउका फ्रान्सका दुई ठूला भूभाग जर्मनीले लियो ।

फ्रान्स त्यसरी पराजित भएपछि बिस्मार्कले सबैै जर्मन राज्यहरूको एकीकरण गरे र विशाल जर्मन साम्राज्य खडा भयो ।

०००

२. रूस जर्मनी युद्ध र ब्रान्डेन्बर्ग चमत्कार

२.१. डिसेम्बर १७६१ मा एउटा असामान्य घटना घटेको थियो ।

रूसी सेनाले बर्लिनको घेराबन्दी गरेको थियो ।

प्रशाको बाल्टिक सागर प्रवेश गर्ने द्वारको रूपमा रहेको प्रसिद्ध कोल्बर्ग किल्ला पनि रूसको नियन्त्रणमा थियो ।

रूसी सेना बर्लिनको प्रवेशद्वारको रूपमा रहेको ब्रान्डेनबर्ग गेट हुँदै बर्लिन प्रवेशको तयारीमा थियो ।

त्यस अवस्थामा आफ्नो सम्पूर्ण पराजयबाहेक अर्को कुनै विकल्प नरहेकाले प्रशाका सम्राट फ्रेडरिक महान् र उनको सेना आत्मसमर्पण नगर्ने बरू लड्दालड्दै आफ्नो प्राण त्याग गर्ने संकल्प गरेर बसेको थियो ।

२.२. त्यसबखत डिसेम्बर १७६१ मा रूसी साम्राज्ञी एलिजाबेथको निधन भयो र पिटर तृतीय रूसका सम्राट् भए ।

तर पिटर प्रशाका सम्राट फ्रेडरिकका ठूला प्रशंसक थिए र उनले तत्कालै प्रशाविरुद्धको युद्ध समाप्तिको घोषणा गरे ।

बर्लिनको घेराबन्दीमा रहेको रूसी सेना फिर्ता भयो ।

प्रशा अन्तिम पराजयबाट जोगियो ।

यसलाई इतिहासमा ब्रान्डेनवर्गको चमत्कार भनिन्छ ।

०००

३. अमेरिका कसरी पहिलो विश्व युद्धमा सहभागी हुन गयो र जर्मन पराजय निश्चित बन्यो

३.१. जनवरी ११, १९१७ मा जर्मन विदेशमन्त्री आर्थर जिम्मरम्यानले मेक्सिकोमा कार्यरत जर्मन राजदूत हेनरिक भान एक्हर्डलाई सांकेतिक भाषामा एउटा टेलिग्राम पठाएका थिए ।

टेलिग्राममा राजदूत एक्हर्डलाई तुरुन्त मेक्सिकोका राष्ट्रपतिलाई गोप्य तरिकाले भेटेर जर्मनी र अमेरिकाबीचको युद्धमा मेक्सिको जर्मनीको पक्षमा आएमा उसलाई पर्याप्त आर्थिक सहयोग गर्ने र युद्धमा अमेरिका पराजित भएपछि अमेरिकाका टेक्सास, न्युमेक्सिको र एरिजोनालगायतका भूभाग मेक्सिकोलाई फिर्ता गरिने उल्लेख भएको थियो ।

३.२. स्मरणीय छ, सन् १८४८ को युद्धमा मेक्सिकोलाई एक करोड ५० लाख डलर दिएर कोलोराडो, क्यालिफोर्नियालगायतका ती भूभाग अमेरिकामा मिलाइएको थियो ।

ब्रिटिस गुप्तचरहरूले उक्त टेलिग्राम प्राप्त गरे र सन्देशमा प्रयुक्त सांकेतिक भाषाको अर्थ खुलाए ।

लन्डनस्थित अमेरिकी राजदूत वाल्टर पेजमार्फत फेब्रुवरी २६ मा उक्त सन्देश अमेरिकी राष्ट्रपति वुड्रो विल्सनसमक्ष पुग्यो ।

मार्च १ मा उक्त पत्र अमेरिकी समाचार पत्रहरूमा प्रकाशित भयो ।

३.३. त्यसले युरोपीय युद्धमा तटस्थ रहने विल्सनलाई जर्मनीविरुद्ध युद्ध घोषणा गर्ने अवस्थामा पुऱ्यायो ।

त्यसैले युद्धमा जर्मनीको निर्णायक पराजयलाई निश्चित गरायो ।

०००

४. रूसमा कम्युनिस्ट सत्ता स्थापनाको एउटा पृष्ठभूमि

४.१. जुलाई २८, १९१४ मा पहिलो विश्व युद्ध शुरू भयो ।

युद्धको प्रथम मैदान नै रूसको सीमानिकट र रूसद्वारा संरक्षित जस्तै मुलुक सर्विया थियो ।

रूसलाई निकै शक्तिशाली मुलुक मानिन्थ्यो तर युद्धको आरम्भमै जर्मनीसंरक्षित अस्ट्रो–हंगेरियन सेनासमक्ष रूसी सेनाले राम्रो प्रदर्शन गरेन ।

भोड्का पिएर नसाले मस्त भई युद्धमैदानमा गएकाले राम्ररी लड्न नसकेको समाचार आएपछि ३१ जुलाई १९१४ मा सम्राट जार निकोलस द्वितीयले भोड्काको उत्पादन र बिक्री वितरणमा प्रतिबन्ध लगाए ।

४. २. भोड्का हरेक वर्ग र समूहका मानिसमाझ अत्यन्त लोकप्रिय पेय थियो ।

तर भोड्का उत्पादनको लागि रूसले हरेक वर्ष हजारौँ हजार टन अन्न खर्च गर्थ्यो तर युद्धको समयमा खाद्यान्न अभाव हुन नदिनका लागि पनि त्यो आवश्यक मानियो ।

भोड्का उत्पादनमा संलग्न उद्योगहरूलाई युद्ध सामग्री उत्पादन गर्ने उद्योगमा रूपान्तरण गर्न पनि त्यो आवश्यक थियो ।

४.३. तर यसको परिणामस्वरूप भोड्का उत्पादक उद्योगहरूलाई ठूलो मुनाफामा अन्न बेचिरहेका किसानहरू क्रुद्ध भए ।

भोड्का उद्योगमा लागेका व्यक्तिहरू र श्रमिकहरू असन्तुष्ट भए ।

लडाइँको मैदानमा रहेका र राज्यको आन्तरिक सुरक्षामा खटिएका सैनिकहरू जार शासनविरूद्ध लागे ।

अझ महत्वपूर्ण कुरो भोड्का उत्पादक उद्योगहरूबाट सरकारलाई प्राप्त हुने ठूलो आयबाट सरकार वन्चित हुन गयो, सरकार आर्थिक सङ्कटमा फस्दै गयो ।

सैनिकहरूको मनोबल बढाउने उद्देश्यले सम्राट निकोलस मोगीलेभ (हाल बेलारूस) स्थित सैनिक मुख्यालयमा रहेर युद्धको संचालन र रेखदेख गरिरहेका थिए यता राजधानी सेन्ट पिट्सवर्गमा उनकाविरूद्ध सघन षड्यन्त्रको जालो बुनिदै थियो ।

४.४. रूसविरूद्ध लडिरहेको जर्मनीले उपलव्ध गराइदिएको विशेष रेलबाट १० वर्षदेखि रूसबाहिरै रहेर रूसमा आन्दोलनरत बोल्सेभिकहरूसँग पत्राचारबाट सम्पर्कमा रहेका लेनिन रूस आए र जार शासन विरूद्ध बोल्सेभिकहरूको नेतृत्व गरिरहेका थिए ।

मेन्सेभिकहरू पनि आन्दोलनरत थिए ।

जार निकोलसका अत्यन्त विश्वासपात्र रूसी संसदका प्रमुख मिखाइल रोड्ज्याङ्को जार निकोलसलाई हतोत्साहित गरेर पदत्याग गराउने र प्रधानमन्त्रीको रूपमा आफ्नो नेतृत्वमा देश चलाउने तानाबाना बुनिरहेका थिए ।

ठूला अन्न व्यापारीहरूले बजारमा अन्न नपठाएर खाद्य बस्तुको अभाव खडा गरे ।

मजदुर र किसानहरू सडक प्रदर्शनमा आए ।

सैन्य विद्रोहको व्यापक सम्भावनाबारे समाचार आइरहँदा हिंसात्मक सडक प्रदर्शनलाई नियन्त्रण गर्न गएको सैन्य दलले आफ्नो राइफल प्रदर्शनकारीहरूलाई बुझाएर उनीहरूसँगै प्रदर्शनमा सामेल भएपछि सेनाको मनोवल सिनित्तै भयो ।

त्यस स्थितिमा जार निकोलस द्वितीयले पदत्याग गरे र रूसमा कम्युनिस्ट सत्ताको लागि मार्ग तयार भयो ।

000

५. अर्को ब्रान्डेनबर्ग चमत्कारको आशा गरेर बसेका हिटलर अन्त्यमा आत्महत्याको लागि बाध्य

५.१. दोस्रो विश्वयुद्धको समाप्तितिर बर्लिनमा हिटलर र उनका सहयोगीहरू रूस र मित्रराष्ट्रहरूको त्यस्तै घेराबन्दीमा थिए ।

जर्मनी पूर्ण पराजयको स्थितिमा थियो ।

५.२. त्यसैबेला गोएबल्सले हिटलरलाई ब्रान्डेनबर्ग चमत्कारबारे बताउँदै सन् १९४५ को जनवरीमै अमेरिकी राष्ट्रपति फ्रयांकलिन रुजबेल्टका निजी चिकित्सकले राष्ट्रपतिको रक्तचापमा अत्यन्त असन्तुलित उतारचढाव आउने गरेकाले कुनै पनि किसिमको तनाव दिने खालको समाचार राष्ट्रपतिको लागि प्राणघातक हुने राष्ट्रपतिका सहयोगीहरूलाई बताइसकेको गोप्य रहस्य पनि बताए ।

५.३. दोस्रो विश्वयुद्धमा एउटा ध्रुवको नेतृत्व गरिरहेको सर्वशक्तिमान राष्ट्रको सर्वोच्च कार्यकारी अधिकारीको लागि तनावरहित समयको सुविधा सम्भव थिएन ।

त्यसैले गोयबल्सले हिटलरलाई रुजबेल्टको मृत्यु कुनै पनि बेला हुन सक्ने भएकाले ब्रान्डेन बर्ग चमत्कारको पुनरावृत्ति हुने बताइरहेका थिए ।

५.४. चिकित्सकले चेतावनी दिएको तीन महिनापछि अप्रिल १९४५ मा राष्ट्रपति रुजबेल्टको मस्तिष्क रक्तस्रावबाट मृत्यु भयो ।

तर, उनका उत्तराधिकारी ह्यारी ट्र्युमेन पिटर तृतीय सावित भएनन् ।

राज्य सञ्चालनमा कुनै अनुभव नभएका ट्र्युमेनले आशातीत रूपमा विलक्षण क्षमता प्रदर्शन गर्दै युद्धको नेतृत्व गरे र अमेरिकाका महानतम् राष्ट्रपतिको रूपमा आफ्नो स्थान इतिहासमा सुरक्षित राखे ।

जर्मनी पूर्णतः पराजित भयो ।

५.५. सावित भयो इतिहास दोहोरिन्छ तर उही रूपमा घटना दोहोरिन्न, इतिहासको लय मात्रै दोहोरिन्छ ।