मानवतस्करी/ठगी गर्ने चार जना पक्राउ

मानवतस्करी/ठगी गर्ने चार जना पक्राउ


वैदेशिक रोजगारीका नाममा ४ जनालाई ठगी गर्दै १ करोड १८ लाख ५९ हजार रुपैयाँ असुल गर्ने एक जना पक्राउ परेका छन् । मानव तस्करीमा संलग्न रहेको अभियोगमा कैलाली गौरीगंगा नगरपालिका-२ घर भएका र हाल ललितपुर महानगरपालिका-७ झम्सिखेल बस्ने ४१ वर्षीय तेजराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई ललितपुर झम्सिखेलबाट पक्राउ गरेको हो । चौधरीले अमेरिका पठाइदिन्छु केही समय ब्राजिलमा गएर काम गर्नुपर्ने र फिलिपिन्स हुँदै जानु पर्छ भनि भन्दै ४ जना पीडितबाट पटक पटक गरी जम्मा १ करोड १८ लाख ५९ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै पीडितहरूलाई ब्राजिलको वर्किङ भिसामा लगाई श्रम स्वीकृतिसमेत निकाली फिलिपिन्स पुऱ्याएकोमा त्यहाँको अध्यागमनले नक्कली कागजात भनि फिर्ता पठाएको, पीडितहरू नेपाल फर्केपछि पुनः दिल्ली पुऱ्याई होटलमा बन्धक बनाएको र पीडितहरूले ३९ लाख रूपैयाँ बुझाएपछि होटलबाट मुक्त भएको समेत खुल्न आएको छ ।

चौधरीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

यस्तै युके पठाईदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा सर्लाही हरिपुर नगरपालिका-२ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका-७ बस्ने ३० वर्षीय विधान कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाईदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्क बिहीन भई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मिनभवनबाट पक्राउ गरेको हो ।