स्वाभिमान छ भने जागिरमा केको डर !

स्वाभिमान छ भने जागिरमा केको डर !


कुनै बेला प्रहरी अधिकृत (एस्पी) को रूपमा सप्तरीमा रहँदा त्यस जिल्लामा रहेका एक सय चौध गाविसका लगभग सबैजसो जनप्रतिनिधि, सामाजिक कार्यकर्ता, स्कुल-कलेजका शिक्षक-विद्यार्थी, व्यवसायी तथा आमजनताले गाउँ-गाउँमा बोलाएर सम्मानस्वरूप पङ्क्तिकारलाई दोसल्ला ओढाउने गर्दथे । वास्तवमा मसँग यति धेरै दोसल्ला भइसकेको थियो कि भन्ने नै हो भने त्यसबखत एसपीलाई आ-आप्fm्नो गाउँमा अभिनन्दन गर्ने अभियान नै चलेको थियो । अनुरोध हुँदाहुँदै पनि कति गाविसमा म पुग्न सकिनँ । म आउने खबरले पूरा गाउँ नै उल्टन्थ्यो । जनताको त्यो अपार माया र विश्वास प्राप्त गर्न सप्तरीमा मैले केवल दुईवटा मात्र काम गरेको थिएँ । पहिलो- कसैसँग घुस नखाई प्रहरी सेवा छिटो-छरितो दिने, दोस्रो- कुनै पनि राजनीतिक स्वार्थको आधारमा कारबाही नगरी निष्पक्ष प्रहरी सेवा प्रदान गर्ने ।
यी दुवै सेवाहरू वास्तवमा हरेक प्रहरीले पूरा गर्नैपर्ने दायित्व थिए । मैले कुनै नयाँ काम गरेको थिइनँ । मैले त हरेक प्रहरीले अनिवार्य रूपमा गर्नैपर्ने काम मात्र गरेको थिएँ । कुनै ठूलो महान् काम पनि गरेको थिइनँ तर पनि जनताले मलाई अपार माया गर्दथे र अपार समर्थन जनाउँथे । मैले सप्तरी छोडेकै आज करिब तेह्र वर्ष भइसक्यो र म अहिले प्रहरी सेवाबाट अवकाश पनि भइसकेँ । तर पनि त्यहाँका जनताले मलाई उत्तिकै माया गर्दछन् । दुई वर्षअगाडि प्रहरीबाट अवकाश भइसकेपछि म त्यहाँको एक स्कुलका विद्यार्थीलाई ड्रग्सको खराबीबारे बुझाउन गएको थिएँ । जाँदाजाँदै रात पर्‍यो । कुनै चाडपर्व नजिक थियो । राजविराज पुग्नै लाग्दा साना-साना बच्चाहरूले बाँसको ढाट तेर्स्याई चन्दा माग्दै रहेछन् । मेरो गाडीलाई पनि तिनले रोके । मैले म पहिला यहाँ बसेकै एसपी वसन्त कुँवर हुँ भने । मैले यति भनेको मात्र के थिएँ सबै बच्चाहरू एक-अर्कामा मुखामुख गर्न थाले । त्यसमध्ये एउटाले नजिक आएर मेरो मुख हर्ेन खोज्यो । मैले गाडीभित्रको बत्ती बालेँ । त्यो अलि ठूलो केटोले मलाई चिन्यो र चिच्याउँदै साथीहरूलाई भन्यो, ‘ढाट हटाऊ एसपी वसन्त कुँवर नै हो ।’ सबैले ढाट हटाए । म एसएसपीबाट अवकाश भएको थिएँ तर पनि राजविराज र सप्तरीको लागि भने म सधैं एसपी नै भएँ । बच्चाहरू जसले मलाई देखेका थिएनन् ती पनि झ्यालबाट चिहाउन थाले । त्यहाँ बाटो नै जाम भयो । मैले मलाई जान दिन अनुरोध गरेँ । ठूलाठूलाले बाटो पन्छाए । जसै मैले गाडी त्यो हुल चिर्दै गएँ तालीका गडगडाहटले पूरै सन्नाटा गुन्जियो । त्यसबखत मेरो आँखाबाट आँसु र्झन थाल्यो । मलाई लाग्यो प्रहरीमा रहँदा मैले कमाएको अमूल्य सम्पत्ति त यही रहेछ ।
आज पनि म समय-समयमा सप्तरी जान्छु । मलाई त्यो जिल्लामा प्रवेश गर्नेबित्तिकै रमाइलो लाग्छ । म जहाँ जान्छु सबैले मलाई माया गर्छन् तर मैले सप्तरीमा जतिसुकै इमानदार भएर काम गरे पनि आफूलाई ठूला भन्ने नेताहरूले मलाई मद्दत गर्दैनन् किनकि उनीहरू चाहन्थे मेरो एसपीको पद उनीहरूको राजनीतिक पद बढाउन र उनीहरूको सामाजिक प्रतिष्ठा बढाउन प्रयोग गरियोस् । उनीहरू ठान्दथे यो एसपी मेरै निर्देशनमा चल्नुपर्छ । जो पार्टी सत्तामा हुन्थे उनीहरूलाई लाग्ने गर्दथ्यो एसपी उनीहरूको आफ्नै कर्मचारी हो । जो सत्तामा हुन्थेनन् उनीहरू भन्ने गर्दथे- एसपी सत्ताधारी पार्टी र नेताहरूको निर्देशनमा काम गर्न आएको एक सरकारी नोकर मात्र हो । आफूलाई राजनीतिक नेता वा कार्यकर्ता बताउनेहरू एसपीले तिनका स्वार्थका लागि काम गर्दा ठीक र नगर्दा बेठीक मात्रै भन्दथे । म त्यस माहौलमा एसपी भएर रहँदा आफ्नो पनि अस्तित्व खोज्ने गर्दथेँ । त्यही अस्तित्व खोज्ने र बनाउने अभियानमा लाग्दा म त्यहाँ छ-सात महिनाभन्दा बढी बस्न पाइनँ तर पनि त्यो छ सात महिनाको मेरो बसाइले सप्तरी जिल्ला एक आधारशिला निर्माण गर्‍यो । आज पनि त्यहाँ खटिने कुनै पनि प्रहरी प्रमुख र प्रशासकहरूले चाहेर-नचाहेर पनि मेरो नाम सुन्नर्ैपर्दछ ।
जब-जब म त्यो अपार जनसमर्थनको कारण खोज्छु म आफैं पनि द्विविधामा पर्छर्ुुक आखिर मैले त्यहाँ के नै त्यस्तो काम गरेको थिएँ र मलाई मान्छेले त्यति माया गर्दथे । अन्तमा म त्यसको उत्तर यही पाउँछु कि त्यो मलाई माया गरेकै होइन मैले भिरेको एसपी पदमाथि विश्वास बढेको मात्र थियो । भाग्यवश त्यसबेलामा मैले त्यो बर्दी भिर्न पाएँ । ममाथिको जनताको विश्वास जनताको काँध चढेर नेता भएका तर नेता भएर आफ्नो जिम्मेवारी निभाउन नसकेका व्यक्तिहरूमाथि गरिएको विरोधको सङ्केत… पनि हुन सक्थ्यो वा लामो समय प्रहरीले निष्पक्ष र इमानदारिता देखाउन नसकेका कारण प्रहरी संरचनामाथि नै विश्वास गुमाइसकेकाहरूको पुन: विश्वास जागेको कारणले पनि हुन सक्थ्यो । यो पनि हुन सक्थ्यो कि प्रहरीहरू राजनीतिक स्वार्थमा लिप्त भएर कसैमाथि न्याय गर्न नसकेका वा उनीहरू आफैंले गरिब जनतालाई अन्यायमा पारेका कारण गुस्सा भएका जनताले मेरो कामबाट राहत पाएका कारण पनि त्यो विश्वासको आधार हुन सक्थ्यो । म राजनीतिक साथीहरू जब अपराधी वा अपराधमा आरोपित व्यक्तिहरूलाई छुटाउन आउनुहुन्थ्यो त्यतिबेला म नम्रतापूर्वक भन्ने गर्दथेँ, ‘तपाईंहरू बाटो बनाउन, बिजुलीको पोल तान्न, नहर बनाउन, उद्योग खुलाउनतिर लाग्नुहोस्, म चोर-डाँका समाउनतिर लाग्छु । हामी एक-अर्कालाई काममा दखल नदिऊँ ।’
आज वीरगञ्जका एसपी खरेलमाथि पर्साका जनताले देखाएको प्रेम र समर्थनले निक्कै चर्चा पाएको छ । उनको काम देख्दा मलाई पनि मेेरो एसपीको समय याद आउँछ । आज प्रधानमन्त्री र गृहमन्त्री पनि रमेश खरेललाई सरुवा गर्न भित्री रूपमा हच्किरहेका छन् जब कि म बुझ्न सक्छु उनीहरू भित्री रूपमा रमेशका समर्थक हुनै सक्दैनन् । एउटा राजनीतिक व्यक्तिको पनि समाजमा त्यो पद प्राप्त गर्न थुप्रै सम्झौता गर्नुपर्ने अवस्था छ जसरी कर्मचारीहरूको छ । कर्मचारीहरू सम्झौता नगर्दा बढुवा पाउँदैनन् राम्रो सरुवा पाउँदैनन् भने नेताहरूले सम्झौता नगर्दा चुनाव नै हार्न बेर लाग्दैन अथवा सरकार नै ढल्न बेर लाग्दैन । अत: हामी नेपालीलाई सम्झौता गरेर जागिर खाने वा राजनीति गर्ने बानी परिसकेको छ तर यस्ता सम्झौताले न्याय दिन सक्दो रहेनछ र विकास दिन पनि सक्दो रहेनछ ।
त्यतिबेला माथिल्ला नेताहरूले दबाबमा मलाई मेरो प्रहरी प्रमुखले त्यहाँबाट हटाए । प्रहरी प्रमुख स्वयम्ले नै मलाई जनताले हजारौँ गाउँका जनतासामु जनताले नै ओढाएको दोसल्लालाई मैले नै किनेर पठाएको भन्ने आरोप पनि लगाए तर पनि मलाई त्यसमा कुनै पर्वाह छैन किनकि मैले त्यहाँ बस्दा जे गरेँ त्यो ठीक गरेँ र त्यसको फल अझै पनि त्यो जिल्लावासीले मायाका रूपमा विश्वासको रूपमा मलाई दिइनै रहेका छन् ।
मलाई के लाग्छ भने ०४८ सालभन्दा अगाडि नेपाली नेता तथा कर्मचारी दरबार रिसाउला भनेर डराउँथे । ०४८ सालपछि पार्टी रिसाउला भनी डराउन थाले । ०५२ सालपछि मार्देला कि भनेर मावोवादीसँग डराउन थाले । राजा ज्ञानेन्द्रले शासन लिएपछि सेनाले मार्देला कि भनेर डराउन थाले । ठूला नेताहरू भारत र अमेरिका र चीनसँग डराउन थाले । साना नेताहरू पार्टीका शीरर््ष्ास्थ भनिएकाहरूसँग डराउन थाले । कर्मचारीका प्रमुखहरू विभागीय मन्त्रीहरूसँग डराउन थाले प्रधानमन्त्री गठबन्धनका अरू पार्टीहरूसँग डराउन थाले । हुँदाहुँदा त आफ्नै पार्टीका नेता आफ्नै पार्टीका अर्को नेतासँग र मैले देखेकोे प्रहरी सङ्गठनमा एउटा अफिसर अर्को अफिसरसँग डराउन थाले । डरैडरबीच सम्झौता गर्दागर्दै हरेकले आफ्नो मौलिकता हराउँदै गए । विकास-निर्माणमा व्यस्त हुनुपर्ने नेताहरू प्रहरी कार्यालयमा चोर छुटाउन जानुपर्ने भयो । के गर्ने ! चोरको पनि एक भोट नै हो । चोर समात्नुपर्ने प्रहरी गृहमन्त्रीकहाँ धाउनुपर्ने भयो । के गर्नु ! चोेरले प्रमोशन दिने होइन, त्यसका लागि गृहमन्त्री चाहियो ।
आज जनता कसैमाथि विश्वास गर्दैनन् । क्रमश: नेता, कार्यकर्ता, कर्मचारी, व्यवसायी, कलाकार, लेखक, पत्रकार सबै क्षेत्रले क्रमश: यस देशमा आफ्नो विश्वसनीयता गुमाउँदै गएका छन् । जब कुनै व्यापार गर्नुपर्ने व्यापारीहरू संसद्मा जानुपर्ने भयो नत्र के गर्ने कर्मचारी र पार्टी भएर गरी खान दिँदैनन् । काम गर्नुपर्ने मान्छेहरू जुलुसमा जान थाले के गर्नु कुनै सङ्गठनमा नलागी आफ्नै जागिर सुरक्षित छैन । लेखकहरू पनि कुनै नेताहरूको गुणगान लेख्न थाले के गर्नु भत्ता तिनले नै दिन सक्छन् । हुँदाहुँदा न्यायसेवाजस्तो स्वतन्त्र मानिएका ठाउँका व्यक्तिहरू पनि राजनीतिक व्यक्तिको नजिक पुगे नत्र के गर्नु संवैधानिक परिषद् नै बस्दैन ।
बिस्तारै-बिस्तारै हामी नेपाली आफ्ना व्यक्तिगत स्वार्थमा यति अल्झिसकेका छौँ र आफ्नो स्वार्थ पूरा नहोला भनेर यति डराउन थालिसकेका छौँ कि यही क्रममा हामी आफ्नो कर्तव्य नै बिर्संदै गइरहेका छौँ । हामी सम्झौता गरेर पदोन्नति लिन खोज्छौँ । सम्झौता गरेर चुनाव जित्न खोज्छौँ । सम्झौता गरेरै कुनै संवैधानिक पद प्राप्त गर्न खोज्छौँ । यसरी सम्झौता गर्दागर्दै हामीले आफ्नो पद वा जिम्मेवारीको दुरुपयोग मात्र होइन त्यो पदको मर्यादालाई नै जनमानसमा अविश्वसनीय बनाइदिएका हुन्छौँ । यही क्रम नेपालमा झन्झन् बढ्दै छ । त्यसैले कर्मचारीले जनताको हकमा काम गरी अपार जनसम्पर्क प्राप्त गर्छ त्यतिबेला त्यसबाट प्राप्त हुने खुसी धन, दैलत, पद, शक्तिको भन्दा कति हो कति बढी हुन्छ । मैले त्यो स्वाद प्रहरीको सानो पदमा रहँदा नै चाखेको छु । रमेश खरेल अहिले चाख्दै छन् । मलाई लाग्छ जुन दिन मौका पाउँछन् त्यो दिन राजनीतिज्ञले उनलाई त्यहाँबाट हटाउनेछन् तर पनि उनी एसपीमा नै अवकाश भए पनि उनको नाम त्यो जिल्लामा सधैं रहनेछ । रिसाएका गृहमन्त्री वा प्रधानमन्त्रीले कुनै कर्मचारीको जागिर खान सक्छन् तर लोकप्रियता खान सक्दैनन् । म सबै प्रहरी साथीहरूलाई यही निवेदन गर्दछु कि नडराई इमानदारीपूर्वक प्रहरीको नियममा अडेर काम गरेर त हर्ेर्नुहोस् त्यो क्षणमा प्राप्त हुने सुख सम्झौता गरेर बढाएको पद प्राप्तिभन्दा कहाँ-कहाँ धेरै हुन्छ । स्वाभिमानले जागिर खान डराउनुहुँदैन ।