प्रतिनिधिसभाको बैठकबाट संविधान संशोधन विधेयक स्वीकृत

प्रतिनिधिसभाको बैठकबाट संविधान संशोधन विधेयक स्वीकृत


प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गर्दा सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै स्वरले समर्थन गरे, ‘हुन्न’ भन्ने आवाज सुनिएन । सभामुखले स्वीकृत भएको घोषणा गर्दा सदनमा तालीको गडगडाहट चलेको थियो । स्वीकृतिसँगै विधेयकमा संशोधन भएमा पेश गर्न सांसदहरुलाई ७२ घण्टाको समय उपलब्ध गरिएको छ ।

सो विधेयकमा विचार गरियोस् भनी मंगलबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

मन्त्री तुम्बाहाङ्फेले सत्तापक्ष र प्रतिपक्षी दलले एकै स्वरले संशोधनप्रति समर्थन गरेकामा खुशी व्यक्त गर्दै संविधान संशोधनसँग जोडिएका अन्य विषयवस्तुमा आगामी दिनमा छलफल गरिने बताउनुभयो । उहाँले सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानले चिह्नका लागि संशोधन ल्याइएको र सबै दल र सांसद एक ठाउँमा उभिएको पाउँदा सबै नेपाली प्रसन्न भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी हाम्रो भूमि फिर्ता लिएर भोगचलन गरेरै छाड्छौँ ।’

प्रतिनिधिसभाको अर्को बैठक बुधबार (२८ जेठ) बिहान ११ बजे बस्नेछ ।