जापानबाट स्वदेश फर्कन चाहने नेपालीको यति लामो सूची !

जापानबाट स्वदेश फर्कन चाहने नेपालीको यति लामो सूची !


विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानमा रहँदै आएका ९ सय १६ जना नेपालीले कोरोना भाइरस (कोभिड–१९) का कारण स्वदेश फर्कन आवेदन दिएका छन् ।

टोकियोस्थित नेपाली दूतावासले केही समयअघि नेपाल सरकारको निर्णयअनुसार स्वदेश फर्कन चाहनेलाई आवेदन दिन आग्रह गरेको थियो । मंगलबार आवेदनको सूची सार्वजनिक गर्दै दूतावासले ९ सय १६ जनाले देश फर्कन चाहेको जनाएको हो ।

सरकारले महामारीमा उद्धार गरिनुपर्ने नेपालीको नामावली संकलन गर्न दूतावासहरुलाई निर्देशन दिए पनि दूतावासले भने स्वदेश फर्कन चाहनेहरुको सूची सार्वजनिक गरेको छ ।

यसअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले संकलन गरेका आवेदनमा झण्डै तीन हजारले स्वदेश फर्कने इच्छा व्यक्त गरेका थिए ।

एकातर्फ महामारी नियन्त्रणतर्फ लागिरहेको र अर्कातर्फ स्वदेशी र विदेशी नागरिकलाई उपचार तथा राहतमा कुनै भेदभाव नगरेको परिवेशमा जापानबाट स्वदेश फर्कन चाहनेहरुको यो सूचीले केहीलाई भने आश्चर्यमा पारेको छ ।

कारण, महामारीकै बीचमा भिसाको म्याद सकिएको जानकारी दिए मात्र पनि भिसा नवीकरणको प्रबन्ध मिलाइएको छ । यस्तै, ६ महिना ‘पार्टटाइम’ काम गर्न सक्ने गरी भिसाको ‘स्टेटस’ पनि परिवर्तन गरिएको छ । यो अवसरको लाभ उठाउनेतिर नलागी यतिका संख्यामा स्वदेश फर्कन आवेदन पर्नुलाई चासोकै विषय ठानिएको छ ।

एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठको भनाइमा नेपाल फर्काउनै पर्ने स्थितिमा अस्पताल भर्ना भएका, भिजिट भिसामा आएर नियमित औषधि सेवन गरिरहेकाहरु छन् ।

यसबाहेक महामारीको मर्कामा सबैभन्दा बढी शरणार्थी भिसामा आवेदन दिएका र भिजिट भिसामा आएकाहरु छन् । उनीहरुको स्वास्थ्य बीमा नहुने र पार्टटाइम काम गर्न पनि नपाइने कानूनी व्यवस्थाले दैनिकी चलाउन कठिन भइरहेको श्रेष्ठको भनाइ छ ।

के त्यसो भए यी ९ सय १६ जना तिनैमध्येका नेपाली हुन् त ? श्रेष्ठ भने यसमा आशंका व्यक्त गर्छन् । उनी वास्तविक समस्यामा परेकाहरु दूतावासको सूचीमा नपरेको हुन सक्ने तर्क गर्छन् ।

‘यतिबेला स्वदेश फर्कने चाहना धेरैको हुनसक्छ तर फर्कन आवेदन दिनेहरु कस्ता खालका समस्यामा परेका हुन् भन्ने बारे दूतावासले प्रष्ट पार्नुपर्छ’, श्रेष्ठ भन्छन्, “हचुवाका भरमा सूची सार्वजनिक गर्दा वास्तविक पीडितको उद्धार नहुने सम्भावना छ ।’

टोकियोस्थित दूतावासले भने भिसा सकिएका विद्यार्थी, कामदार, भिजिट भिसामा आएर फर्किन नपाएका र शरणार्थी भिसामा रहेकाहरु सूचीमा परेको बताएको छ । ‘यही सूचीलाई अहिले काठमाडौंस्थित परराष्ट्र मन्त्रालय पठाएका छौं’, दूतावासका उपनियोग प्रमुख चन्द्रकृष्ण अर्याल भन्छन् ।

अर्याल पनि यो सूची उद्धार सूचीभन्दा देश फर्कन चाहनेकै सूची भएको बताउँछन् । ‘यसलाई उद्धार गर्नैपर्नेको सूची भन्दा पनि नेपाल फर्कन चाहेकाहरुको सूची भन्नुपर्छ’, उनी भन्छन् ।