कोलोम्बियाले अपनाएको विधिबाट नेपालले पनि सिक्ने कि ?

कोलोम्बियाले अपनाएको विधिबाट नेपालले पनि सिक्ने कि ?


■ छत्रबहादुर मैनाली, बोगोटा डिसी (कोलोम्बिया)

यी पङ्क्ति लेखिरहँदा कोभिड–१९ को महामारीबाट कोलम्बियामा ४२,०७८ (बयालीस हजार अठहत्तर) जनामा संक्रमण देखिएको छ । जसमध्ये १६,५३४ (सोह्र हजार पाँचसय चौंतीस) जनाले स्वास्थ्यलाभ गरेका छन् भने १,३७२ (एक हजार तीनसय बहत्तर) जनाको मृत्यु भएको छ ।

मुलुकभर अस्पताल बेडहरूको संख्या ४२,२८७ (बयालीस हजार दुइ सय सतासी), इन्टरमेडिएट केयर बेड संख्या ३,५४२ (तीन हजार पाँचसय बयालीस), इन्टेन्सिभ केयर युनिट बेड संख्या ६,६०८ (छ हजार छ सय आठ) तयारी अवस्थामा छन् । बेडहरूको संख्या क्रमशः विस्तार हुँदैछ ।

कोलोम्बियामा संक्रमितहरूको संख्या उल्लेख्य मात्रामा देखिनुको कारण बढिभन्दा बढिको संख्यामा परीक्षण गर्न सक्ने क्षमता भएकोले भएको देखिन्छ । सरकारले कोरोना भाइरस फैलन नदिनको निम्ति विशेष सतर्कता अपनाउँदै त्यही किसिमका नियमहरू लागु गरेको छ । कोरोना महामारीबाट कसरी सुरक्षित रहने र नियमहरू पालन गर्ने भन्नेबारे जनचेतना जगाएको छ ।

कोरोना भाइरससम्बन्धी सूचनामुलक मोबाइल एप्लिकेसन निर्माण गरेर आम सर्वसाधारणलाई मासिक १ जीबी इन्टरनेट र १०० मिनेट टकटाइम निःशुल्क उपलब्ध गराएको छ । उक्त मोबाइल एप्लिकेशनमा कोरोना संक्रमणको लक्षणहरू बारे बुँदागत रुपमा उल्लेख गरिएको छ । जसको कारण सर्वसाधारणले संक्रमणको लक्षण महसुस भएमा एप्लिकेशनमार्फत तुरुन्तै जानकारी दिन सक्ने हुँदा यो माध्यम अत्यन्तै प्रभावकारी सिद्ध भएको छ । जसले गर्दा शंकास्पदहरूको स्वास्थ्य परीक्षण गर्न छिटो र सरल बन्दै गएको छ ।

गत मार्च महिनाको २३ तारिखदेखि हालसम्म नियमित लकडाउन रहिआएको छ । करिव ३ महिनाको अवधिमा दैनिक उपभोग्य बस्तुहरूको बजार ब्यवस्थापन नियमित रूपमा सञ्चालनमा छ । समय–समयमा लकडाउनको अवस्थामा फेरबदल हुँदै आएको छ । जस्तै, जोर–बिजोर दिनअनुसार एक दिन एक घरका एक महिला, अर्को दिन पुरुषलाई मात्र अति आवश्यक बस्तुहरू किनमेल गर्न अनुमति दिएको थियो । त्यसपछि महिला–पुरुष दुबैलाई संयुक्त अनुमति दिइएको थियो । बजार क्षेत्रमा सामाजिक दूरी कायम गरेर बायोसेक्युरिटीसम्बन्धी नियम पूर्ण पालना गरेपश्चात मात्र एक पटकमा निश्चित संख्यालाई प्रवेश दिएर सामानहरू किनमेल गर्ने सुविधा दिइएको छ ।

अति आवश्यक पर्नेहरूको निम्ति डिजिटल सिस्टममार्फत आफ्नो सेवा, काम, समस्याबारे उल्लेख गरेर सवारी पास लिन सक्ने व्यवस्था गरेको छ । जस्तै– चेकअपको निम्ति अस्पताल जानुपर्ने, अस्पतालमा कार्यरतहरू, सार्वजनिक सेवामा कार्यरतहरू आदि ।

सार्वजनिक यातायातमार्फत यात्रा गर्नेहरूको हकमा यात्रा गर्नुको कारणसहितको प्रमाण साथमा लिएर यात्रा गर्न सक्ने व्यवस्था नियमित रहेको छ ।

दैनिक उपभोग्य बस्तुहरू नियमित रुपमा आपूर्ति व्यवस्थाले बजारमा कुनै प्रकारको अभाव महसुस गर्नु परेको छैन । बजार भाउ स्थिर रहेकोले उपभोक्ता वर्ग ढुक्कले किनमेल गर्न सकेका छन् । सम्बन्धित निकायले समेत अनुगमनलाई तीव्रता दिएको छ । सरकारद्वारा जारी निर्देशनलाई पालन नगर्ने कुनै पनि उद्योगी, ब्यापारी, सर्वसाधारणलगायतलाई जरिवाना गरेर नियम पालनामा कडाई गरेको हुँदा छिटफुट घटना बाहेक नियम पालनामा एकरुपता देखिएको छ ।

६५ वर्ष काटेका वृद्धवृद्धा तथा बालबालिकाहरूको हकमा भित्र–बाहिर हिँडडुल गर्न निश्चित समय तोकिएको छ ।

न्युन आय हुनेहरूको हकमा सरकारी कोषबाट राहत वितरण निरन्तर हुँदै आएको छ । ठुला, मझ्यौला, साना उद्योगहरू वर्गीकरण गरेर राहत प्याकेज घोषणा गरेको छ । कोभिड–१९ को कारण वैधानिक तवरले काम गुमाएकाहरूको निम्ति उनीहरूले पाउँदै आएको पारिश्रमिकको ४० प्रतिशत सरकारले ब्यहोरेको छ । बत्ति, पानी, ग्यासमा ३० प्रतिशतसम्म छुट दिएको छ । टेलिफोन कम्पनीहरूले भ्याट मिनाहा गरेर सेवा–सुविधाबापतको महसुल असुलेका छन् । साथै नयाँ–नयाँ योजनाअन्तर्गत राहत हुने किसिमको सेवा–सुविधा प्रस्ताव गरेका छन् ।

यस्तै, बैंक, फाइनान्स कम्पनीहरूमा तिर्नुपर्ने कुनै पनि प्रकारका किस्ताहरू ६ महिनाको निम्ति स्थगित गरिएको छ । अन्य ट्याक्सहरूको सवालमा समेत तिर्ने अवधि बढाएर राहत प्रदान गरेको छ । यदि कोही किस्ता तिर्न सक्षम छ भने निरन्तर किस्ता तिर्ने सुविधा खुल्ला रहेको छ । घरभाडा, पसल भाडा आदि दुईपक्षको सहमतिमा लेनदेनमा मिलाउनु पर्ने, तर घरबेटीले जबर्जस्ती भाडा असुली गर्न नपाउने र निकाल्न समेत नपाउने नियम लागु छ । अपवादबाहेक घरभाडाहरू मिनाहाकै रुपमा रहेको छ । परिस्थितिलाई सबै पक्षबाट मनन गरेको हुँदा भाडासम्बन्धी जटिलता खासै देखिएको छैन । यदि भाडासम्बन्धी समस्या उत्पन्न भएमा सरकारले सुनुवाइको निम्ति व्यवस्था गरेको भए पनि धेरैजसो घरधनीहरूले ट्याक्स छल्नको निम्ति घरभाडाबापतको रकम पारदर्शी तरिकाले उल्लेख नगरेको हुँदा यो समस्यामा घरभाडा असुलउपर गर्न दबाब दिन नसक्ने देखिन्छ ।

हरेक दिन साँझ ६ बजेदेखि ७ बजेसम्म महामहिम राष्ट्रपति स्वयम् कोरोना अपडेट लिएर लाइभ कार्यक्रममा उपस्थित हुने गर्छन् । कार्यक्रम अवधिभर सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, सम्बन्धित विभागका विभागीय प्रमुख, विभिन्न नगरपालिका, महानगरपालिकाका प्रमुखहरूसँग दैनिक भए–गरेका प्रगति विवरण लाइभ अपडेट लिने, जनताका गुनासा, सुझाव, सल्लाहको सम्बोधन गर्ने हुँदा आम सर्वसाधारणले आफ्ना समस्या, गुनासा सिधै राख्न पाएका छन् । सामाजिक संजालमार्फत समेत त्यत्तिकै सक्रिय रहेका राष्ट्रपतिले सम्भव भएसम्म जनताका गुनासालाई जवाफ फर्काएका हुन्छन् ।

विश्वभर रहेका आफ्ना देशका नागरिकहरूलाई स्वदेश ल्याउने काम पनि प्रभावकारी ढंगले भइरहेको छ । विश्वका जुनसुकै मुलुकमा रहेका आफ्ना नागरिकहरूको निम्ति सम्बन्धित देशमा रहेका कुटनीतिक नियोगले आवश्यक प्रबन्ध गर्दै आएका छन् । मानवीय सहयोगको रुपमा स्वदेश फर्कन चाहनेहरूको निम्ति त्यस्तो उडानको प्रबन्ध मिलाएको छ । उडान खर्च यात्री स्वयमले ब्यहोर्नुपर्ने, स्वदेश पुगेपछि अनिवार्य १४ दिन होम आइसोलेसनमा बस्नुपर्ने, सरकारद्वारा जारी निर्देशनको पूर्ण पालना गर्ने सर्तमा आफ्ना नागरिकहरूलाई स्वदेश ल्याउने काम तीव्र रुपमा अगाडी बढेको छ ।

ब्यवसायिक रुपमा आन्तरिक तथा बाह्य उडानहरू अगष्ट महिनाको ३१ तारिखसम्मको लागि स्थगित छ । लामो दूरीका बससमेत चल्न सकेका छैनन् । छिमेकी मुलुकहरूसँग जोडिएका सीमा–नाकाहरू पूर्ण रुपले बन्द गरिएको छ । आन्तरिक रुपमा लकडाउन समय समयमा हेरफेर हुँदै आएको छ ।

बैंक, फाइनान्स कम्पनीहरूले दैनिक ४ घण्टा सेवा दिँदै आएकोमा त्यसलाई बढाएर ६ घण्टा पुऱ्याएका छन् । दैनिक उपभोग्य बस्तु उपलब्ध हुने पसलहरू दैनिक ६ देखि ९ घण्टा सम्म सञ्चालनमा छन् । सार्वजनिक यातायातका ट्याक्सी र एम्बुलेन्सहरू २४सै घण्टा उपलब्ध छन् ।

बोगोटा डिसी, कोलोम्बिया