राष्ट्रियताका आधार भत्काइँदा देश दलदलमा : संयोजक त्रिपाठी

राष्ट्रियताका आधार भत्काइँदा देश दलदलमा : संयोजक त्रिपाठी


‘मातृभूमिका लागि नेपाली’ले शुक्रबार (३० जेठ) एक भेला आयोजना गरी काठमाडौं महानगरपालिकाका विभिन्न वडामा आफ्नो संगठन विस्तार गरेको छ ।

संगठन विस्तारका लागि आयोजित भेलालाई सम्बोधन गर्दै संयोजक देवप्रकाश त्रिपाठीले व्यवस्था परिवर्तन गरे चौतर्फी विकास हुन्छ भन्ने सोचका साथ हामीले आन्दोलन ग¥यौँ तर नेतृत्वले यो गलत सावित गरिदिए भन्दै राजनैतिक र प्रसाशनिक नेतृत्वमा समस्या भएको कारण आज देशको अवस्था नाजुक बन्न पुगेको बताउनुभयो ।

प्रजातन्त्र र राष्ट्र दुबै महत्वपूर्ण भए तापनि सरकारको नेतृत्व गर्नेहरूले राष्ट्र र जनतालाई गौण राख्दा देश दिन–प्रतिदिन दलदलमा फस्दै गएको उल्लेख गर्दै संयोजक त्रिपाठीले राष्ट्रियतालाई मजबुत बनाउने धर्म, भाषा, नेपाली सेना र राजसंस्थालगायतका आधारहरू भत्काइदिँदा देश कमजोर अवस्थामा पुगेको जिकिर गर्नुभयो ।

कार्यक्रममा संगठनका केन्द्रीय सचिव एवम् प्रवक्ता सनत आचार्यले देशमा भएका ठुला–ठुला परिवर्तनपश्चात् पनि सर्वसाधारणको उन्नति–प्रगति नहुनु दुःखद भएको बताउँँदै अहिले देशको विकासभन्दा पनि देश बचाउनु नै महत्वपूर्ण विषय बन्न पुगेको उल्लेख गर्नुभयो । हालसम्म देशका सरकारहरू जनमुखी र राष्ट्रमुखी नहुँदाको परिणाम जनताले भोगिरहेको उहाँको तर्क थियो ।

यस्तै, काठमाडौं जिल्ला संयोजक जुलुमरत्न डंगोलले देशमा सिस्टम परिवर्तन आवश्यक भइसकेको बताउँदै युवालगायत अन्य वर्गले अब पनि नसोचे देश डुब्ने दाबी गर्नुभयो ।

संगठनका केन्द्रीय सदस्य दिपकसिंह महर्जनले असक्षम व्यक्तिहरुले देश संचालन गरेको परिणामले आज देश बर्बादीतर्फ धकेलिएको भन्दै अब देश बचाउने समय आइसकेको धाारणा राख्नुभयो ।

मातृभूमिका लागि नेपाली केन्द्रीय संयोजक देवप्रकाश त्रिपाठीको विशेष उपस्थितिमा सम्पन्न भेलाले काठमाडौं महानगरपालिकाको वडा नं.११ को संयोजकमा सरोज शाही, वडा नम्बर १२ को संयोजकमा बालमुकुन्द र २४ नम्बर वडाको संयोजकमा अनिल महाजुलाई चयन गरेको छ ।