संविधान संशोधनमा एकताबद्ध हुन आह्वान, खर्च छिट्टै सार्वजनिक गरिने

संविधान संशोधनमा एकताबद्ध हुन आह्वान, खर्च छिट्टै सार्वजनिक गरिने


लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सालाई नेपालको निशाना छापमा प्रतिविम्बित गर्ने गरी प्रतिनिधिसभाले आज (३१ जेठ) संविधान संशोधनसम्बन्धी निर्णय लिँदैछ । नेपालको नयाँ नक्साअनुसार निशान छापलाई परिमार्जनका लागि नेपालको संविधानको अनुसूची–३ संशोधन गर्न संसद्मा संविधान संशोधनका लागि विधेयक प्रस्तुत गरिएको छ र शनिबार दिउँसो यस विधेयकमाथि संसदमा मतदान गरिने कार्यतालिका तय गरिएको छ ।

राजनीतिक परिवेशमा अत्यन्त चासोका साथ हेरिएको यस विषयमाथि अनेक व्याख्या–विश्लेषण तथा टीका–टिप्पणी भएका छन् । विधेयक पास हुन नदिन राजनीतिक चलखेल हुन सक्ने आशङ्का समेत कतिपय कोणबाट व्यक्त गरिएका छन् । हाल राजधानीलगायत देशका विभिन्न भागमा युवाहरूद्वारा स्वस्फुर्त रूपमा सरकारविरुद्ध गरिएका प्रदर्शनलाई कतिपयले संसदबाट गरिन लागिएको संविशान संशोधनको प्रक्रिया बिथोल्ने प्रयत्नका रूपमा अर्थ्याएका छन् । तर, सत्तापक्ष एवम् प्रतिपक्षबीच संविधान संशोधनको पक्षमा सहमति भएबाट त्यस्तो कुनै व्यवधान अब नआउने ठानिएको छ ।

यसैबीच उपप्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले संविधान संशोधनमा एकताबद्ध हुन आह्वान गरेका छन् । एक विज्ञप्ति जारी गर्दै उनले विभिन्न माग राखी आन्दोलन गरेकाहरूलाई अहिलेको अवस्थाप्रति गम्भीर र संवेदनशील हुन आग्रह गर्दै शनिबार संसद्बाट संविधान संशोधन हुन लागेकाले त्यसमा एकताबद्ध हुन आग्रह गरेका हुन् ।

यो नेपालको इतिहासको एउटा महत्वपूर्ण क्षण हो भन्दै उपप्रधानमन्त्री पोखरेलको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताले लामो समयदेखि प्रतीक्षा गरिरहेको यस विशेष दिनलाई हार्दिक रुपमा स्वागत गर्न र सिङ्गो राष्ट्र यस विषयमा एक रहेको यथार्थलाई पुनःपुष्टि गर्न हामी सबै दाजुभाइ दिदीबहिनीलाई हार्दिक अनुरोध गर्दछौँ ।’

उनले आफ्ना माग राखी शान्तिपूर्ण रुपमा उपस्थित हुन पाउनु लोकतान्त्रिक अधिकारको विषय भए पनि सम्बद्ध सबैलाई अहिलेको अवस्था सामान्य नरहेको र सबै कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको अवस्थाप्रति गम्भीर र संवेदनशील हुन आग्रह गरेका छन् ।

‘लकडाउनलाई क्रमशः खुकुलो बनाउँदै जनजीवनलाई सहज अवस्थामा फर्काउने निर्णय भइसकेको परिप्रेक्ष्यमा सामाजिक दूरीलाई कायम राख्नु र सङ्क्रमणको जोखिमलाई नियन्त्रण गर्न सहयोग गर्नु हामी सबैको दायित्व हा, थोरै पनि असावधानीले सङ्क्रमणले भयावह महामारीको रुप लिन सक्ने खतराप्रति सजग हुन सम्बद्ध सबैमा आह्वान गर्दछौँ’, उनले विज्ञप्तिमा भनेका छन् ।

खर्च छिट्टै सार्वजनिक गरिने

कोभिड–१९ सङ्क्रमण तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक पोखरेलले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका लागि भएको खर्च छिट्टै सार्वजनिक गरिने पनि बताएका छन् ।

नेपाल सरकारका तर्फबाट विभिन्न शीर्षकमा निकासा भएको र प्रदेश सरकार र स्थानीय तहले पनि आफ्ना कोषबाट कोरोनाविरुद्ध खर्च गरेको उल्लेख गर्दै उनले सरकारबाट यसको समग्र फाँटबारी छिट्टै सार्वजनिक हुने जानकारी दिएका हुन् ।

हाल नेपालले गरिरहेको पिसिआर टेष्ट दक्षिण एशियाका धेरै मुलुकको भन्दा अधिक भए पनि सरकारले पिसिआर टेष्टको दायरा थप बढाउने निर्णय गरिसकेको उल्लेख गर्दै उनले एक महिनायता विदेशबाट भित्रिने नेपालीको सङ्ख्या ह्वात्तै बढेर क्वारेन्टिनको व्यवस्थापनमा केही समस्या देखिए पनि तिनको निरन्तर सुधार गर्दै जान सरकार प्रतिबद्ध रहेको जनाएका छन् ।