खुले पसल तर छैनन् ग्राहक

खुले पसल तर छैनन् ग्राहक



■ विकास रौनियार

धादिङबेसी, मलेखु ,गजुरी, गल्छी नौबिसेलगायत धादिङ जिल्लाको अन्य ग्रामीण क्षेत्रमा लगभग सबै पसल सञ्चालनमा आएका छन् । यी स्थानमा पुग्दा लाग्छ– बन्दाबन्दीको धेरै असर छैन, पूर्ण रूपमा जनजीवन सहज भइसकेको छ ।

पसल पूर्ववत् खुलेका छन् तर सावधानीमा ध्यान दिइएको छैन । सामान खरिद गर्न आएका उपभोक्ताले नै सावधानी अपनाएको देखिन्छ । मानिसको आवतजावत देख्दा अत्यावश्यक कामका लागि मात्र होइन समान्य रुपमा घुमफिरका लागि पनि बाहिर निस्केका छन् । कतिपयले त सामान्य मास्क पनि नलगाएका देखिन्थ्यो ।

बन्दाबन्दी जारी हुनुपूर्व जस्तै गरी मानिसको आवतजावत छ । सरकारले कोभिड–१९ को सङ्क्रमण रोक्न झण्डै ८० दिनदेखि लागू गरेको बन्दाबन्दीको आदेशलाई केही खुकुलो बनाएसँगै भीडभाड बढेको हो ।

लामो समयदेखि कायम रहेको बन्दाबन्दीका कारण आर्थिक क्रियाकलापसँगै सर्वसाधारणको जनजीवनमा नै असर परेकाले त्यसलाई सामान्य बनाउन बन्दाबन्दीलाई केही खुकुलो बनाइएको छ तापनि जोखिमलाई मध्यनजर गरी कतिपय सेवामा लगाइएको प्रतिबन्धलाई अझै कायमै राखिएको छ । तर नागरिकले यस कुराको व्यवस्था गरी कुनै परवाहबिना नै सडकमा देखिन्छन् । यसले जोखिम बढाउने भन्दै पूर्ण रूपमा सावधानी अपनाएर मात्र सञ्चालन गर्नुपर्ने केही जिल्लाको केही युवाहरुको भनाइ छ ।

युवाहरुको अनुसार नागरिकको जनजीवन सहज बनाउनका लागि बन्दाबन्दीलाई केही सहज बनाउन प्रयास गरिए पनि भाइरसको जोखिम अझै कम भएको छैन, हरेक दिन बढ्ने क्रम जारी छ, त्यसैले उच्च सावधानीको साथ मात्र व्यवसाय सञ्चालन गर्न आवश्यक छ ।

भाइरस तत्काल नहट्ने र सिंगो देशलाई थप सुक्षित राख्ने हो भने बाहिरबाट आउने मानिसको आवागमनलाई पूर्ण रूपमा रोक लगाउनुपर्ने र नागरिक आफैँ सचेत भई सावधानीपूर्ण रूपमा बाहिर निस्कने अनावश्यक रूपमा नजाने जस्ता आधारभूत मापदण्डलाई पालना गर्नुपर्ने युवाको भनाइ छ ।

सरकारले सवारी साधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागू गरेपछि राजमार्गमा सवारी चाप पनि बढेको छ ।