पिसिआर रिपोर्ट ढिलाइको विरोधमा सडक अवरुद्ध

पिसिआर रिपोर्ट ढिलाइको विरोधमा सडक अवरुद्ध


आरके श्रीवास्तव, रौतहट

रौतहटको राजपुर नगरपालिकास्थित क्वारेन्टिनमा बसिरहेका शंकास्पद बिरामीको पिसिआर रिपोर्ट आउन ढिलो भएको भन्दै आन्दोलन गरिएको छ ।

राजपुर नगरपालिका १ बहुअर्वा क्वारेन्टिनमा बसेका बिरामी तथा उनका आफन्तले पिसिआर रिपोर्ट आउन ढिलो भएको भन्दै आइतबार (३२ जेठ) मुख्य सडक अवरुद्ध गरेर प्रदर्शनमा उत्रेका थिए ।

बाटो खुलाउन गएका प्रहरीमाथि क्वारेन्टिनमा बसेकाहरु तथा तिनका आफन्तहरुले ढुुंगामुढा गरी आक्रमण गरेका थिए । आक्रमणबाट तीन प्रहरीलाई चोटपटक लागेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताएका छन् ।

घटना नियन्त्रणमा लिन नेपाल प्रहरी सशस्त्र प्रहरीका साथै नेपाली सेना समेत खटाइएको थियो । सो क्रममा प्रहरीले २ राउण्ड हवाइफायर र १२ सेल अश्रुग्यास प्रहार गर्नुपरेको प्रवक्ता श्रेष्ठले बताए ।

झडपमा परेर क्वारेन्टिन बस्ने र उनका आफन्तमध्ये तीन जनालाई चोटपटक लागेको छ । इलाका प्रहरी कार्यालय रापजुरका प्रमुख सई दीपक गुप्ताले पिसिआर रिपोर्ट नआएको भन्दै आन्दोलनमा उत्रेकाहरुलाई सम्झाउन गएका प्रहरीमाथि उनीहरुले एकाएक आक्रमण गरेका थिए ।

हाल उक्त क्षेत्रमा ब्यापक सुरक्षाकर्मी परिचालन गरीएको र अवस्था सामान्य भएको सई गुप्ताले जानकारी दिएका छन् । पछिल्ला केही दिनदेखि राजपुरकै जस्तो जिल्लाका कैयन क्वारेन्टिनको अवस्था तनावग्रस्त बनेको छ ।

लगातार १५ दिनसम्म बस्दा पनि पिसिआर रिपोर्ट नआएबाट चिढिएकाहरुबाट प्रहरी र स्वास्थ्यकर्मीहरुमाथि आक्रमण हुने खतरा निम्तिएको भन्दै चिन्ता प्रकट गरिएको छ ।